मंगलबार, पुस ८, २०८२

जीवन बीमाको महत्व बुझ्दै मुसहर समुदाय

 |  शुक्रबार, साउन ४, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ४, २०८१

महोत्तरी- मधेशमा मुसहर समुदायलाई ‘न राख्ने अन्न, न सञ्चय गर्ने धन’ आर्जनका लागि उभ्याइन्छ। गुजाराको सहारा कृषि मजदुरी पेसाका मुसहर एक दिन बनी गर्न (मजदुरी गर्न) नजाने हो भने घरमा चुलो बल्दैन। ‘कमाइ ल्यायो, भुटी खायो’ मुसहरको जीवन पद्दति नै बनेको छ। 

National life

पराले झुप्रो र त्यसले ओगटेको जग्गाबाहेकको सम्पत्ति मुसहरसँग छैन। हातपाखुरा चलुञ्जेल बनिबुतो गर्ने, पाखुरा चल्न छाडेपछि जीवनयापन कठिन हुन्छ। यस्तो परिवेशका मुसहरका लागि एकमुष्ट रु एक लाख ठूलो रकम हो। यो रकम पाउँदा बर्दिबास–१२ विजलपुरा चल्कीटोलका परिक्षण सदाले केही ठम्याउन सकेनन्।

सदाले रु एक लाखको चेक बुझे। अति विपन्न तथा सीमान्तकृत समुदायमा पर्ने मुसहरको सामूहिक लघु जीवन बीमा गत चैतदेखि अभियानकै रुपमा गरिदिएपछि सदालाई पत्नी वियोगको दुःखको बेला उक्त सहारा मिलेको हो। उनकी पत्नी रामरतीको निधन भएपछि बीमा बापतको रकम उनले प्राप्त गरे। 

चैत पहिलो साता बर्दिबास–१४ को मुसहर बस्तीबाट थालिएको उक्त अभियान अन्तर्गत गत वैशाख २१ गते बर्दिबास–१२ चल्कीका १८ वर्षदेखि ५९ वर्षभित्रका दुई सय आठ जनाको तीन वर्षे सामूहिक जीवन बीमा गरिएको थियो। ‘लिवर्टी लाइफ इन्स्योरेन्स’ कम्पनी बर्दिबास शाखामा गरिएको मुसहर समुदायको बीमा रकम एकमुष्ट बर्दिबास नगरपालिकाले जम्मा गराएको हो।

बर्दिबास नगरपालिकाको यो अभियानबाट लाभान्वित हुने  सदा मुसहर समुदायको पहिलो व्यक्ति बनेका छन्। बीमा रकम भुक्तानी प्रक्रिया भण्झटिलो हुने आम प्रतिक्रियाबीच लिवर्टी लाइफ इन्स्योरेन्स कम्पनी बर्दिबास शाखाले बस्तीमै पुगेर सदालाई एक लाख रकमको चेक बर्दिवास नगरपालिकाका उपप्रमुख तारादेवी महतो र प्रवक्ता विजयकुमार महतोले संयुक्त रुपमा प्रदान गरे। गत असार २ गते निधन भएकी रामरतीका पति सदाले एक महिनाभित्रै सो रकम प्राप्त गरेका हुन्। 

Laxmi sunrise bank
kumari

'हामी मुसहर समुदायलाई जीवन बीमाको महत्व कामबाटै देखाउन चाहन्थ्यौँ, रामरतीको मृत्युपछि आवश्यक कागजात जुटाएर रकम दिन सदाको घरै पुग्यौँ', लिवर्टी लाइफ इन्स्योरेन्स कम्पनी बर्दिबास शाखाका प्रबन्धक रवीन्द्रकुमार मिश्र भन्छन्, 'रकम हात परेपछि मुसहर समुदायमा जीवन बीमाबारे सकारात्मक चासो बढेको पाएका छौँ।'

आफूले थालेको सानो कामले अहिले विपन्न मुसहर समुदायका लागि भरोसा बनेको देख्दा कामप्रति सन्तोष लागेको बर्दिबास नगरप्रमुख प्रह्लादकुमार क्षत्री बताउँछन्। बर्दिबास नगरक्षेत्रका तीन सयभन्दा बढी सङ्ख्यामा रहेका मुसहरको तीन वर्षे अवधिको लघु जीवन बीमा गरिएको छ।

अति सिमान्तकृत मानिने मुसहर समुदायका लागि बर्दिबास नगरपालिकाले जीवन बीमाका अतिरिक्त उमेर पुगेर (२० वर्ष पुगेर) बिहे गर्ने मुसहर जोडीलाई रु ५० हजार नगद प्रोत्साहनबापत दिने गरेको छ। यो गत चैत ५ गते नगरप्रमुखको घोषणासँगै कार्यान्वयनमा आएको बर्दिबास–१४ का वडाअध्यक्ष तथा नगर कार्यपालिकाका प्रवक्ता विजयकुमार महतोले बताए। 

मुसहर समूहले पछिल्लो समय यी क्षेत्रबारे चासो राख्न थालेको छ। 'विस्तारै बीमाको महत्व बुझ्दैछौँ', बर्दिबास–१४ मुसहर बस्तीकी ७० वर्षीया मानकी सदा भन्नुहुन्छ– 'अब हाम्रा सन्तानले धेरै कुरामा चासो बढाउने छन्।' 

जिल्लाका १५ वटै स्थानीय तहमा बसोबास रहेको मुसहर समुदायको जिल्लामा कूल जनसङ्ख्या (२०७८) राष्ट्रिय जनगणनाको तथ्याङ्क अभिलेखमा २७ हजार तीन सय ५२ उल्लेख छ। लेखपढ गर्न जान्ने उनीहरु कमै छन्। यस समुदायबाट माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गर्नेको सङ्ख्या न्यून छ। 

बर्दिबास जस्तै जिल्लाका अन्य स्थानीय तहमा पनि मुसहरलाई आर्थिक, सामाजिक र राजनीतिक अवसर प्रदान गर्न पहलकदमी गनुपर्ने भङ्गाहा–३ का सिमल सदा बताउँछिन्। मुख्य रुपले आफ्नो समुदायका लागि शिक्षामा जोड दिन आवश्यक रहेको उनको भनाइ छ। 'हाम्रो समुदाय धेरै कुरामा पछि छ, अवसर पनि हाम्रो समुदायले पाएन', उनले भनिन्, 'यो सबैको मुख्य जड अशिक्षा र सामाजिक चेतनाको कमी नै हो।'   -रासस

प्रकाशित: Jul 19, 2024| 07:41 शुक्रबार, साउन ४, २०८१
प्रतिक्रिया दिनुहोस्