फाइल तस्बिर
खोटाङ- ट्याक्टर दुर्घटना हुँदा खोटाङमा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । दिक्तेलबाट निर्मलीडाँडातर्फ जाँदै गरेको को२त ५६६० नंको ट्याक्टर आज बिहान करीब ३ बजेको समयमा दुर्घटना भएको हो ।
मृत्यु हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाका २१ वर्षीय माइकल राई, ३५ वर्षीय मीनप्रसाद लुइँटेल र सोही नगरपालिका–७ दोर्पाचिउरीडाँडाका १९ वर्षीय खेमराज भुजेल रहेका छन् ।
सोही ट्याक्टरमा सवार निर्मलीडाँडाकै २१ वर्षीय दुर्गाबहादुर लुइँटेल गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिए। अहिलेसम्म बेहोस अवस्थामा रहेका उनको जिल्ला अस्पताल दिक्तेलमा उपचार सम्भव नभएपछि काठमाडौँ पठाउने तयारी भइरहेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पास्थित कालीखोलामा ट्याक्टर दुर्घटना हुँदा चालक मीनप्रसाद र ट्याक्टरमा सवार माइकलको घटनास्थलमै मृत्यु भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
दुर्घटनामा गम्भीर घाइते सहचालक खेमराजको उपचारका क्रममा जिल्ला अस्पताल दिक्तेलमा मृत्यु भएको प्रहरीले जनाएको छ । दिक्तेलबाट खाली फर्किएको ट्याक्टर सडकबाट करीब २०० मिटर तल खसेको जनाइएको छ । ट्याक्टर दुर्घटना हुनुको कारण अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनाका बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४