जनकपुरधाम-राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल धनुषाले पार्टीका जिल्ला स्तरीय एक नेतालाई साधारणसदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अध्यक्षमण्डललाई सिफारिस गरेको छ ।
राजपा धनुषाको शनिबार बसेको बैठकले जिल्ला स्तरीय नेता संजय चौधरीलाई पार्टीबाट निष्कासन गर्न केन्द्रीय अध्यक्षमण्डललाई सिफारिस गर्ने निर्णय गरेको हो । चौधरी अध्यक्षमण्डलका संयोजक राजेन्द्र महतो निकट नेता मानिन्छन् ।
जिल्ला अध्यक्षमण्डलको बैठकले अनुशासनविपरित काम गरेको भन्दै चौधरीलाई कारबाही गर्न केन्द्रलाई सिफारिस गर्ने निर्णय भएको पत्रकार सम्मेलन गरेर जनाएको छ ।
राजपा प्रदेश २ का प्रमुख सचेतक परमेश्वर साहसँग हुँदै नभएको घटनालाई सञ्चारमाध्यममा आफूले कुटपिट र धक्कामुक्का गरेको भन्दै भ्रम सिर्जना गरेको भन्दै चौधरीलाई पार्टीबाट निष्कासन गर्ने निर्णय भएको बैठकका अध्यक्षता गरेका अध्यक्षमण्डल सदस्य देवकृष्ण मण्डलले बताए ।
आफूसँग हुँदै नभएको घटनाबारे सञ्चारमाध्यममा बोलेर चौधरीले चरित्र हत्या गरेको पत्रकार सम्मेलनमा साहले बताए । ‘चौधरीको पछिल्लो व्यवहारले मेरो चरित्र हत्या गरेको छ,’ उनले भने,‘केन्द्रले कारबाही नगरे भोलीको दिनमा पार्टीभित्र अराजकता बढ्ने निश्चित छ ।’ आफू चर्चामा बस्ने चौधरीले कपोकल्पित कुरा सञ्चारमाध्यममा बोलेको उनको भनाइ थियो ।
प्रदेश २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्र सोनलकै अगाडी राजपा सचेतक साहलाई कुटपिट गरेको भन्दै चौधरीको भनाइ उदृत गर्दै दुई दिनअघि स्थानीय सञ्चारमाध्यहरुमा समाचार प्रकाशित भएको थियो ।
चौधरीसँग पार्टीको आन्तरिक मुद्दामा चर्काचर्की भएपनि कुटपिट नभएको प्रमुख सचेतक साहले बताए । ‘सबै पार्टीमा सैद्धान्तिक वहस हुन्छ,’ साहले भने,‘चौधरी र मेरोबीच पनि चर्काचर्की भएको हो । तर, सञ्चारमाध्यममा कुटपिट नै गरेको उनले भनेका छन् । मेरो चरित्र हत्या भएको छ ।’
मण्डल शरतसिंह भण्डारीले नेतृत्व गरेको तत्कालीन राष्ट्रिय समाजवादी पार्टी धनुषाका अध्यक्ष हुन् । अध्यक्षमण्डलका ६ सदस्य मध्ये चारजना उपस्थित रहेको बैठकले चौधरीमाथि कारबाहीको सिफारिस गर्ने निर्णय गरेको हो ।
आमाको क्रियामा रहेकाले अध्यक्षमण्डलका सदस्य प्रमोद यादव अनुपस्थित रहेको र अध्यक्षमण्डलका अर्का सदस्य संजय सिंह उपस्थित हुन नसकेको पत्रकार सम्मेलनमा जानकारी दिइएको थियो । सिंह तत्कालीन सद्भावना पार्टीका जिल्ला अध्यक्ष हुन् ।
वैठकमा अध्यक्षमण्डलका सदस्य सिंहलाई बोलाइएपनि आउन नमानेको राजपा सचेतक साहको भनाइ थियो । ‘बैठकमा आउन हामीले उहाँलाई बोलाएका थियौं, आउँछु भन्नु पनि भएको थियो,’ साहले भने,‘तर उहाँ आउनु भएन । अध्यक्षमण्डलका चारजना सदस्यहरुको बैठकले चौधरीलाई कारबाही गर्ने निर्णय गरेको छ ।’
जिल्ला अध्यक्षमण्डलको बैठकमा अध्यक्षमण्डलका सदस्यसमेत रहेका सचेतक साह, सतीश लाल दास, देवकृष्ण मण्डल र वीरेन्द्र यादवको उपस्थिति रहेको थियो । तत्कालीन तमलोपाका जिल्ला अध्यक्ष रहेका साह राजपा अध्यक्षमण्डलका सदस्य महन्त ठाकुर निकट नेता मानिन्छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४