काठमाडौं-नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रदेशको मुख्यमन्त्री र पार्टीको ईन्चार्ज अलग अलग व्यक्ति हुुनुपर्ने नयाँ प्रस्ताव पेस गरेका छन् ।
पार्टीको शनिबार बसेको स्थायी समितिको बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन्। नेपालले एउटै व्यक्ति पार्टी इन्चार्ज र मुख्यमन्त्री हुँदा पार्टीको काम पनि अस्तव्यस्त भएको र प्रदेश सरकारको भूमिका पनि प्रभावकारी नभएको तर्क राखेका थिए।
माधव नेपालको यस्तो प्रस्तावले स्थायी समिति तरंगित भएको छ । यो प्रस्ताव कार्यान्वयन भयो भने दुईजना केन्द्रीय नेताहरुले एउटा पदमा चित्त बुझाउनुपर्नेछ।
नेकपा गठनपछि ४ नं प्रदेश र ५ नं प्रदेशमा पार्टी ईन्चार्ज र मुख्यमन्त्री क्रमश पृथ्वी सुब्बा गुरुङ र शंकर पोखरेल छन् । गुरुङ र पोखरेल दुवै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली निकट हुन्। केही दिन अघि प्रदेश पाँचको मुख्यमन्त्री रहेका पोखरेले पार्टीले भनेमा आफू मुख्यमन्त्री छोड्न तयार रहेको बताएका थिए ।
बैठकमा नेता नेपालले पार्टी संस्थागत ढंगले नचलेको भन्दै विधि पद्धति अनुसार सरकार संचालन गर्नुपर्ने बताए।
नेता नेपालले सरकारले काम भन्दा हल्ल्ला र प्रचार बढी गरेको आरोप लगाए। सरकारले केही काम त गरे जस्तो लाग्छ, तर सबैथोक गरे जस्तो हल्ला बढि भएको छ’ नेपालको भनाइ उदुत गर्दै बैठक स्रोतले भन्यो।
नेपालले सरकारले गर्ने राजनीति नियुक्तिमा पार्टीसँग कुनै पनि प्रकारको समन्वय र छलफल नहुने गरेको भन्दै आक्रोश पोखेका थिए । कुन पात्र कसको डिजाइनमा कसरी नियुक्त हुन्छ, पार्टीलाई थाह छैन, नेपालको भनाइ उधृत गर्दै एक सदस्यले नेपाल समयलाई भने।
उनले पार्टीका नेताहरुको अविलम्ब कार्य विभाजन हुनुपर्ने माग गरेका थिए। नेपालले पार्टीमा चुनाव हारेकालाई कमिटीमा राखेर निर्वाचितलाई बाहिर पारिएको भन्दै त्यसलाई बदर गर्न माग गरेका थिए।
बैठकमा नेता नेपालले अरुको भन्दा बढी समय बोल्नका लागि माग गरेका थिए। उनले एसिया प्यासिफिक समिटका बारेमा आफुले केही कुरा राख्नुपर्ने भन्दै समय माग गरेका थिए। तर यस बिषयमा पछि अलगै समय दिने अध्यक्ष प्रचण्डले आश्वासन दिएका थिए।
वरिष्ठ नेता झलनाथ खनालले भने बैठकमा बोल्दै सरकारको कार्यशैली र पार्टी संचालनको कार्यशैलीको तीब्र आलोचना गरेका थिए। पार्टी एकता हुँदा तयार भएको दस्ताबेज अनुसार पार्टी चल्न नसकेको गुनासो पोखेका थिए। नेता कार्यकर्ता जिम्मेवारीबिहीन हुँदा अहिले पार्टीनै नभएको जस्तो अवस्था सृजना भएको बताएका थिए। खनालले अध्यक्षद्धयले पेश गरेको राजनीतिक प्रतिवेदनलाई एउटा अलग्गै कार्यदल बनाएर पुनर्लेखन गर्नुपर्ने माग गरेका थिए।
अर्को स्थायी समिति गिरिराजमणि पोखरेलले अध्यक्षले पेस गरेको राजनीतिक प्रतिवेदन अहिलेको समयसँग मेल नखाएको बताए।उनले भने ‘अहिले समय र बिज्ञान प्रविधिको युगा कहाँबाट कहाँ पुगिसक्यो हामी भने त्यहि कम्युनिष्ट उत्पति भएको बेला पस्केर बसेका छौ ’पोखरेलेको भनाइ उधृत गर्दै बैठक स्रोतले भन्यो।
शनिबार सम्ममा स्थायी समितिका सबै सदस्यले बोलिसकेका छन् । अमेरिका भ्रमणमा रहेका पराराष्ट्र मन्त्री प्रदिप ज्ञावलीले आइतबार बीस मिनेट समय पाउने भएका छन् । त्यसपछि अध्यक्ष केपी शर्मा ओली प्रचण्डले बैठकमा उठेको प्रश्नहरुको उत्तर दिनेछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४