दाङ- दाङको तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या २३ पुगेको छ । जुम्ला कन्कासुन्दरी गाउँपालिका–५ का २० वर्षीय वीरेन्द्र कण्डराको शनिबार बिहान उपचारको क्रममा नेपालगञ्ज नर्सिङ होममा मृत्यु भएसँगै मृतकको संख्या २३ पुगेको हो ।
यसैबीच सो दुर्घटनामा परी मृत्यु भएका थप छ जनाको सनाखत भएको छ । चन्दनाथ–६ जुम्लाकी १६ वर्षीया कुशुम रावल, भेरी नगरपालिका–४ जाजरकोटाका १७ वर्षीय अतिस नेपाली, कञ्चनपुर जिल्ला कृष्णपुर–५ का १७ वर्षीय खेमराज भट्ट, जुम्ला चन्दननाथ–३ बुढतावाडाका १९ वषीय हिक्मत बोहरा, बबई गाउँपालिका–५ बस्ने २१ वर्षीया कविता खत्री र जुम्ला हिमा गाउँपालिका–५ की १७ वर्षीया शैलजा शाही रहेका छन् ।
यस्तै दाङको दंगीशरण गाउँपालिका– १ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका– १४ का २७ वर्षीय बिजय जीएमको ज्यान गएको छ । अन्यको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । बसमा शिक्षालयका ३२ जना विद्यार्थी, २ जना शिक्षक र ३ जना बसका कर्मचारीसहित ३७ जना यात्रु रहेको प्रहरीले जनाएको छ ।
यसै मृत्यु हुनेमा बस चालक घोराही उपमहानगरपालिका वडा नं ३ का मदन केसी, शहिद कृष्णसेन इच्छुक बहप्राविधिक शिक्षालयका शिक्षकहरू घोराही उपमहानगरपालिका– १७ का २८ वर्षीय प्रदीप घिमिरे र पूर्वी रुकुमको भुमे गाउँपालिकाका २८ वर्षीय नरेश वली, दाङको दंगीशरण गाउँपालिका– १ का सञ्जित रत्गैया, घोराही उपमहानगरपालिका– १४ का २७ वर्षीय विजय जीएम रहेका छ्न ।
सनाखत भएका शव आफन्तलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ । अन्यको सनाखत हुने क्रम जारी छ ।
यसै वर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युटका वनविज्ञान विषयका विद्यार्थी र शिक्षक सल्यानको छायाछेत्रमा वनस्पतिसम्बन्धी प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए । फर्कने क्रममा बस सडकबाट ७ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४