ललितपुर- ललितपुरको लाकुरीभञ्ज्याङस्थित प्रहरी प्रभागमा गोली चल्दा एक प्रहरी जवान घाइते भएका छन् । प्रहरी प्रभागका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) रमेश तामाङले बोकेको पेस्तोल पड्किदा प्रहरी जवान घाइते भएका छन्।
शुक्रबार राति अकस्मात पेस्तोल पड्किएर प्रहरी जवान श्रेष्ठलाई लागेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ। श्रेष्ठको बायाँ गालामा लागेको गोली दायाँ गालाबाट निस्केको थियो। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि घाइते श्रेष्ठलाई नेपाल प्रहरी अस्पतालमा लगिएको छ। उनको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय ललितपुरले जनाएको छ ।
घटना शुक्रबार राति भएको हो । महानगरीय विपत् व्यवस्थापन शाखामा कार्यरत् प्रहरी जवान श्रेष्ठ असई तामाङ सुत्ने कोठामा शुक्रबार राति पुगेका थिए। असई तामाङ पेस्तोलमा गोली अनलोड गरिरहेका बेला पुगेका श्रेष्ठलाई गोली लागेको प्रारम्भिक अनुसन्धानबाट देखिएको एसपी शेखर खनालले जानकारी दिए। उनीहरू एकै गाउँ दोलखा गैरीमुदीका हुन्। घटनापछि असई तामाङलाई ललितपुर प्रहरी परिसरको नियन्त्रणमा लिएको छ ।
घटना भूलवश भएको हो वा नियोजित रुपमा गरिएको हो भन्ने विषयमा छानविन गर्न समिति गठन गरिएको छ । ललितपुर प्रहरी वृत्तका डिएसपी गौतम मिश्रको नेतृत्वमा छानबिन समिति गठन गरिएको एपी खनालले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४