सोमबार, साउन ११, २०८३

ड्रग्सको 'डेन्जर जोन'मा केटीहरू 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जयन्तीलाई नपुग्दो केही थिएन। बाबु ब्रुनाईका लाहुरे, उनलाई न पैसाको कमी थियो न मायाको । आमाबाबुले भनेजति पुर्‍याएकै थिए। काठमाडौंको राम्रै बोर्डिङमा आठ कक्षामा पढ्दै गरेकी उनलाई छोरी नबिग्रियोस् भनेर बाबुआमाले होस्टेलमा राखिदिए। तर उनको मनले त्यो सोचेन । 

स्वतन्त्र जीवनलाई खुम्चाउन खोजेजस्तो लाग्यो उनलाई अनि दिमागमा एकाएक परिवारप्रति बदलाको भावना जाग्यो । होस्टेल बसाइले उनको मन बिथोलियो । बिस्तारै उनको खराब लतका केटाहरूसँग संगत बढ्यो, जानीनजानी उनका पाइला दुर्व्यसनीतिर मोडिए। जयन्तीको जीवनमा नसोचेको आँधीबेहरी आयो । त्यसबाट उम्किन उनलाई झन्डै १७ वर्ष लाग्यो । 

जयन्तीको यो एउटा सानो कथा हो। यस्ता धेरै कथा छन्, जसमा कैयन् युवती दुर्व्यसनीको सिकार भएका छन्।  जीवनको उर्वर समय बर्बाद गर्न उनीहरू विवश भएका छन् । 

१७ वर्ष लागूऔषध दुव्र्यसनीमा फसेकी जयन्तीको जीवन एउटा सिनेमाजस्तै छ । जीवनमा उनले एकपटक होइन, कैयन्पटक आँधीबेहरी सामना गर्नुपर्‍यो। दुर्व्यसनीमा फस्दै जाँदा समय यस्तो आयो, परिवारले पनि मतलब गर्न छोड्यो । न खानेको ठेगान थियो न बस्नेको । समाजसँग सम्बन्ध भएन। एउटै साइनो थियो, त्यो नशासँग । जसले पलपलमा दुनियाँलाई बिर्साएर आनन्द दिन्थ्यो। 

जयन्तीले यसरी १७ वर्षसम्म एउटा बेवारिस जीवन गुजारिन् । शरीर नै उनलाई भारी र बेकार लाग्थ्यो । उनी भन्छिन्, 'जसरी नै खानुपथ्र्यो। बेच्न केही बाँकी राखिएन । रिस उठ्दा, डान्स गर्दा, खुसी हुँदा र पानी पर्दा पनि डोज लिनैपर्ने ।' 

१७ वर्षसम्म लागूऔषधको दुव्र्यसनीमा फेसकी जयन्ती (कुन्ची) सुनुवारले यतिबेला बल्ल जीवनको मूल्य बुझेकी छन् । भन्छिन्, 'बट इट्स नेभर टु लेट' जयन्तीलाई अब लागेको छ, जीवन अनमोल रहेछ । जीवनको हरेक पल मूल्यवान् छ। उनी भन्छिन्, 'हरेक पललाई एउटा अवसरका रूपमा उपयोग गनुपर्छ अनि जीवनलाई एउटा उत्सव बनाउनुपर्छ ।' 

दुर्व्यसनीबाट उम्किने क्रममा उनमा एउटा सकारात्मक सोच पलायो । उनले यसमा फसेका महिलाको पुर्नस्थापनाका लागि छुट्टै सुधार केन्द्र बनाउने अठोट गरिन् । २०६९ जेठमा जयन्तीले चाबहिल कुमारीगालमा 'लाइभ भर्सेस एडिक्सन' नामक पुर्नस्थापना गृह स्थापना गरिन् । त्यहाँ लागूऔषधको दुर्व्यसनमा फसेका महिलालाई राखिएको छ।

हग्स नट ड्रग्स

'आई एम नट टेलिङ यू, इट्स गोइङ टु बी इजी
आइ एम टेलिङ यू, इट्स गोइङ टु बी वर्थ'

कुमारीगालको एउटा सानो घरमा खोलिएको 'लाइभ भर्सेस एडिक्सन'को ढोकैमाथि लेखिएकोे यी वाक्यमा आँखा ठोक्किन्छन् । जयन्ती भन्छिन्, 'मैले त ढिलो बुझें, अरूले बेलेमै बुझ्नुपर्छ ।' 

आफ्नो मान्छे आफ्नै हुन्छ 

सुरक्षालाई सानैदेखि बाहिरी दुनियाँसँग प्रेम थियो । आमनेपाली युवाको जस्तै उनको पनि चाहना अस्ट्रेलिया र अमेरिका बन्यो । त्यसैले उनी उच्च शिक्षा अध्ययन गर्न अमेरिका लागिन् । तर सुरक्षा सपनाको देशमा रमाउन सकिनन् । ११ वर्षपछि नेपाल फर्किइन् । स्वदेश फर्किनुको कारण थियो लागूऔषध । 

सुरुमा ६ महिना पुर्नस्थापना गृहमा बस्दा उनी दुर्व्यसनीमा फसेको मान्न तयार थिइनन् । 'नेपालमा ६ महिना बसाइपछि फेरि अमेरिका गएँ । तर उता पुगेपछि फेरि कुलतमा फसे', उनी भन्छिन् ।  नौ महिनापछि फेरि नेपाल फर्किइन् । साथीसंगतमा फेरि गाँजा लिन थालिन् । त्यतिखेर विदेश प्रेमी र जवानीको जोशसँग गाँजाको पनि मज्जा लिने गरेको उनी बताउँछिन् । 

मायाले जतिसुकै बिग्रेको व्यक्तिलाई पनि सुधार्छ भन्ने सुनेकी उनले आफूलाई मायाले झनै बिगारेको बताइन् । उनी भन्छिन्, 'सुधार केन्द्रमा बस्दा सुरुका दिनमा लुकेर चुरोट खाने बानी लाग्यो । मन सधैं दुविधामा हुन्थ्यो कि खाऊँ कि नखाऊँ ?' नौ महिनापछि आफूलाई माया गर्न सिकेकी छन् र कुलतको बाटो त्यागेर बाँच्न सिकेकी छन् । 

हो, जीवन अनमोल रहेछ !

रिहाना थेबे लिम्बु बाह्र वर्षअगाडि लागूऔषध कुलतमा फसेकी थिइन् । उनी अहिले त्यतिखेरको पल सम्झन पनि चाहन्नन् । 'त्यो पल जीवनको कुनै नर्कभन्दा कम थिएन', उनी भन्छिन् । उनको अनुभवमा दुर्व्यसनीमा फस्न त्यति गाह्रो छैन, तर त्यो नर्कबाट निस्किन समय लाग्दो रहेछ । धेरैवटा सुधार केन्द्रमा बसे पनि ठिक हुन् भने निकै समय लागेको उनले बताइन् । 

तेस्रो लिंगी भएकै कारण हुने भेदभावका कारण कुलतमा फसिन् रिहाना। घरपरिवारबाट तनाव, साथीहरूबाट हुने भेदभाव र हेप्ने प्रवृत्ति उनले सहन सकिनन् । एक्लो महसुस गर्न थालेपछि उनको बाटो बन्यो लागूऔषध दुर्व्यसन । छक्का, हिजडा, नंपुसकजस्ता शब्दले सम्बोधन गर्दा उनी झन् पीडित बनेकी थिइन् । 

उनलाई ६ महिनाका लागि पुनस्र्थापना गृहमा राखियो । त्यहाँ रहँदा कहिले निस्केर लागूऔषध प्रयोग गर्न पाइएला भन्ने कुरा मनमा खेलिरहने उनी बताउँछिन् । उपचारको समयलाई 'सिक पिरेड वा डिडक्सिफाई' भनिन्छ । उपचारका क्रममा हरेक कुरामा तालमेल मिलाउन गाह्रो भएको उनले बताइन् । दुर्व्यसनबाट छुट्न खोज्दा जिउ तात्ने र पोल्ने समस्याले सताएको उनको सम्झना छ ।


एक्लोपनको खराब औषधि लागूऔषध

सानै उमेरदेखि परिवार र साथीभाइको सम्बन्धबाट टाढा बस्न बाध्य भएका अधिकांश व्यक्तिहरू लागूऔषधको कुलतमा फस्ने गरेका छन्  ।मनोविद् गोपाल ढकालका अनुसार बिनाकारण कुनै पनि व्यक्तिले लागूऔषध प्रयोग गर्दैन । महिलाले भने समाजलाई बिर्सन लागि लागूऔषधको प्रयोग गर्छन् । 

उनी भन्छन्, 'एक्लो जीवनमा मानिसले अभाव महसुस गर्छ । आफ्नो मनमा उब्जिने अनेक भावना कोही मन मिल्नेसँग साट्न सकिएन भने मानिस उदास र एक्लो हुन्छ । यसकारण एकछिन रमाइलो र मन शान्त पार्न लागूऔषधको कुलत रोज्छन् । 

विपन्नभन्दा आर्थिक रूपमा सम्पन्न परिवारका छोराछोरी कुलतमा फस्ने सम्भावना बढी हुन्छ । छोराछोरीलाई समय नदिने, आफ्नो व्यवसायमा व्यस्त रहने र धनसम्पत्ति कमाउन मात्र ध्यान दिने अभिभावकका सन्तान कुलतमा लागेको पाइन्छ । जब आफ्नो इच्छा र चाहना पूरा हुन सक्दैन तब पीडा भुलाउन लागूऔषधको सहारा लिने गर्छन् । 

प्रेममा बिछोड भएपछिको सहारा

सम्झना श्रेष्ठ (नाम परिवर्तन) साथीहरू प्रायः कलेज बंक गरेर गुह्येश्वरी र दक्षिणकाली पुगेर चुरोट पिउँथे । त्यसै संगतमा लागेर उनले पनि चुरोट पिउने बानी बिस्तारै बनाउन थालिन् । आफू कुलतमा फसिसकेपछि एकजना केटासँग प्रेम आकर्षण बढ्यो । 

दुवैजना सँगै चुरोटको धुवाँमा रमाउने ती दिन सम्झिँदा अहिले हाँसो लाग्ने उनी बताउँछिन् । तर केही समयपछि केटा अरू केटीसँग प्रेममा परे जुन सम्झनालाई असह्य भयो । त्यही पीडा भुलाउन उनले लागूऔषधको सहायता लिएकी थिइन् । 

किशोर अवस्था मायाप्रेममा आकर्षित हुने उमेर हो । मायामा मन टुटेकाहरू पनि लागूऔषध दुव्र्यसनमा फस्नेको संख्या धेरै रहेको मनोविद् ढकालले बताए ।  नयाँ ठाउँ, नयाँ साथी, नयाँ जोश र उमंगको विकास हुने समय हो किशोरवस्था । आफूबाहेक अरू सबैको धारणा गलत भन्ने समय हो । 

भयानक सामाजिक समस्या

लागूऔषध दुर्व्यसनीको आपराधिक सञ्जाल र सामाजिक प्रभावबारे सूक्ष्म अध्ययन गरिरहेका नेपाल प्रहरीका पूर्वडिआइजी हेमन्त मल्ल यसलाई एउटा भयानक सामाजिक समस्या भन्छन् । मल्ल भन्छन्, 'युवा वर्गको ठूलो समस्या भनेको साथीसंगत र देखासिखी हो । दक्षिण एसिया क्षेत्रमा हेर्ने हो भने दुर्व्यसनमा फसिसकेका व्यक्ति उपचारपछि ठिक हुने कम मात्र हुन्छन् । दुव्र्यसनमा फसेका ९५ प्रतिशत व्यक्ति फेरि लागूऔषधमा फर्किन्छन् ।' 

बढ्दैछन्  दुव्र्यवसनी महिला

नेपालमा दुर्व्यसनी महिला कति छन् भन्नेबारेमा एकिन र आधिकारिक तथ्यांक छैन। यसबारेमा विस्तृत अध्ययन पनि भएको छैन। गैरसरकारी क्षेत्रबाट गरिएको सामान्य सर्वेक्षणअनुसार पचास हजारभन्दा बढी महिलाहरु दुर्व्यसनी रहेको अनुमान गरिएको छ। अध्ययअनुसार दुर्व्यसनी फसेका महिलाको उमेर १५ देखि ४५ वर्षको छ। दुर्व्यसनी फस्ने महिलाको संख्या बर्से्नि बढ्दो छ।

चुरोट, पानपराग, सुर्तीखैनी, गुट्का, हुक्का तथा जाँडरक्सीमात्र होइन गाँजा, चरेस ब्राउन सुगर, ह्वाइट सुगर, हेरोइन, मर्फिन, प्रोक्सिबोन, नाइट्रोसन, फेन्सिडिलजस्ता लागूपदार्थ सेवन गर्ने युवतीको संख्या सहरी क्षेत्रमा नपत्याउँदो ढंगले बढिरहेको सरोकारवाला बताउँछन्।

नेपाल प्रहरीका पूर्व डिआइजी हेमन्त मल्लका अनुसार लागूऔषध ओसारपसारमा पुरुषभन्दा महिला बढी संलग्न छन् । समाजमा पुरुषको तुलनामा महिलालाई अझै बढी विश्वास र सम्मान दिनुपर्छ भन्ने धारणाका कारण केही महिलाले यसलाई दुरुपयोग गरेको उनको भनाइ छ। महिला लागूऔषधमा फस्दै व्यापारमा समेत सक्रिय हुन्छन् भन्ने समाजलाई थाहा छैन । 

लागूऔषध नियन्त्रण ब्युरोको रिपोर्टअनुसार २०७४-७५ मा उपत्यकाभित्र १६५ ग्राम गाजा, ६८० ग्राम चरेश र २२७ ग्राम हेरोइन भित्रिएको छ । तीमध्ये ट्याब्लेट संख्या ५४२०८, एम्पुल ४७३१८, कोरेक्स २०९६, सिरिन्ज ५२ र पोल्यान्ड ३८३ ग्राम छ । गत वर्ष लागूऔषध कारोबारमा पक्राउ परेका ७६९ मध्ये ४१ महिला छन् । 

कसरी जोगाउने ?

छोराछोरीलाई दुर्व्यसनबाट जोगाउन आमाबुबा र परिवारको भूमिका ठूलो हुन्छ । आफ्नो सन्तानको सम्पूर्ण विषयमा चासो राख्ने, समय दिने र कस्तो साथी संगतमा छ भन्ने विषयमा चनाखो रहनुपर्छ । 

पैसा नै जीवन बिताउने आधार र सामाजिक सञ्जालको गलत प्रयोगका कारण पनि युवकयुवती दुर्व्यसनीमा फस्छन् । लागूऔषधमा जात, वर्ग, वर्ष, धर्म, धनी र गरिब भन्ने हुँदैन । फेसनका रूपमा लागूऔषध प्रयोग गर्नेहरू पनि छन् । उनीहरूबाट आफ्ना सन्तानलाई जोगाउनुपर्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।