काठमाडाैं- नेवारी समुदायले आज योमरी पूर्णिमा भव्यसँग मनाउँदै छन् । हरेक वर्ष मार्ग शुक्ल पुर्णिमाको दिन नेवार समुदायले योमरी पुर्णिमा मनाउने गर्छन् । योमरी पूर्णिमालाई धान्य पूर्णिमा र योमरी पुन्ही पनि भनिन्छ ।
नेवार भाषामा यो को अर्थ मन पर्ने र मरीको अर्थ रोटी रहेको छ । यसको अर्थ हो मन पर्ने रोटी रहेको छ । पहिले पहिलेको जमानामा मिठो परिकार अहिलेको जस्तो नहुने र योमरी नै मीठो खाने दिन मानिन्छ । यस बाहेक, जन्मदिनमा पनि योमरी बनाइन्छ ।
धान्य पूर्णिमा वा योमरी पुन्हीलाई हेमन्त ऋतुको सुरुवात पनि मानिन्छ । आजको दिनबाटै दिन लामो र रात छोटो हुन थाल्ने संस्कृतिविद् बिनोदराज शर्मा बताउँछन् ।
यस्तो छ किम्वदन्ती
पौराणिक मान्यता अनुसार, पापञ्चय गाँउका एक दम्पतिले नयाँ धानको रोटी योमरी बाँडेका थिए । यो कुराको चाल पाएका धनका राजा कुवेरले पनि आफु दरिद्र भएर भिक्षा माग्न गए ।
उनीहरुले निकै दया र मायाका साथ कुवेरलाई सम्मानका साथ आदर सत्कार गरे । यो देखी निकै खुशी भएका कुवेरले आफ्नो स्वरुपमा दर्शन दिई, धनधान्यले सम्पन्न हुने वरदान दिएको जनविश्वास छ । त्यसताका, देखि योमरीको प्रचलन सुरु भएको मानिन्छ ।
योमरीको महत्व
योमरी खाने दिन जाडो महिनामा पर्छ । विज्ञहरुका अनुसार रोटी र चाकुले जीउमा तापक्रम बढाउँछ । जाडोमा शरीरलाई न्यानो गर्ने काम गर्छ । त्यस्तै, सामाजिक पक्षबाट हेर्ने हो भने, योमरीको चुच्चो जति लामो भयो त्यति छोटो जाडो महिना हुने जनविश्वास रहेको छ ।
योमरीको आकार प्रकार पनि ठाँउ अनुसार भिन्न हुने हुन्छ । भक्तपुरमा लाम्चो आकारको बनाउने गरिन्छ भने ठिमीमा त्रिकोणात्मक बनाउने प्रचलन रहेको छ ।
योमरीबाट विभिन्न देवीदेवताको पनि आकारको प्रतिक पनि बनाइछ । चाकु र तिल हालेर बनाइने योमरीलाई महामायाको प्रतिक मानिन्छ । कालो दालबाट बनाउने योमरीलाई कुवेरको प्रतिक मानिन्छ भने मासु हालेको योमरी भगवान् गणेशको प्रतिक मानिन्छ ।
साँझको समयमा, धानको भकारी, बोरा वा धानको पाथीमा मात्र भए पनि राखेर पुजिन्छ । सो चढाएको योमरी चार दिनसम्म राखिन्छ र प्रसाद स्वरुप खाइन्छ ।
आजको दिन बनेपाको धनेश्वरमा ठुलो भीड लाग्ने गर्छ भने हरिसिद्धी तथा अन्य स्थानमा पनि जात्रा लाग्छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४