मंगलबार, पुस ८, २०८२

कुमाल टोलको आम्दानीको स्रोत माटोका सामग्री

 |  सोमबार, असार १७, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, असार १७, २०८१

भक्तपुर- भक्तपुर नगरपालिका-४, कुमाल टोलका स्थानीय बासिन्दाको मुख्य पेसा माटोको भाँडा बनाउने हो। माटोका भाँडा बनाउने परम्परागत पेसाबाटै यहाँका स्थानीयले घर व्यवहार चलाउनेदेखि छोराछोरी पढाउँदै आएका छन्।

National life

पछिल्ला समय बजारमा स्टिल, सिलाबर र प्लाष्टिकका सस्तो र सजिला सामाग्री उपलब्ध छ। तरपनि परम्परागत माटोका सामग्री खोज्न आउने अझै यहाँ आउने गरेको स्थानीयको भनाइ छ।

माटोका घैँटो, दियो, खुत्रुके, विभिन्न किसिमका मूर्तिहरुको माग बढ्दै गएको उनीहरु बताउँछन्। कुमाल टोलका स्थानीयहरु पहिले अन्य जिल्ला पुगेर महिनौँसम्म भाँडा बनाउँथे र ज्यालाको रुपमा धान, गहुँ, मकै ल्याउथेँ। अहिले अन्य जिल्लाका मानिस आफै यहाँ आउँछन् र मन परेको सामान खरिद गरेर लैजान्छन्।

कुमाले टोलका तुलसीराम प्रजापतिको पुर्ख्यौली पेसा माटोको भाँडा बनाउने हो। पुस्तौँ पुस्तादेखि गर्दै आएको माटोको भाँडा बनाउने पेसाबाट  राम्रो आम्दानी हुने उनले बताए। यही पेसाबाट भएको आम्दानीले उनले स्नातकोत्तर तहसम्म चार जना छोराछोरी पढाए। 'यही पेसाले घरखर्च चलाउनेदेखि छोराछोरी पढाउने सबै गरेको छु, मेरा लागि यो पेसा एकदमै प्यारो छ,' उनले भने।

माटोका सामग्रीमध्ये खुत्रुके, गमला, पाला, सानो लोटा धेरै मात्रामा बिक्री हुने सामग्री हुन्। विभिन्न देवीदेवताका मूर्ति, पशुपक्षीका मूर्ति सजावटमा प्रयोग हुने माटोको फूलदानी, मन्दिर, प्लेट, कचौरा जस्ता सामग्रीको पनि माग उत्तिकै छ। पहिले  सूर्यविनायक, सिपाडोल, चाँगुनारायणमा माटो उपलब्ध हुने भएपनि अहिले उपयुक्त माटो लिन काठमाडौंको साँखु र काभ्रेपलाञ्चोकको धुलिखेल वा दाङसम्म पुग्नुपर्छ। प्रतिकिलो ५० रूपैयाँ तिरेर गाडीमा माटो ल्याउनुपर्ने उनले जानकारी दिए।

Laxmi sunrise bank
kumari

माटाका सामग्री बनाउन चाम्रो र चिल्लो माटो चाहिन्छ। माटोलाई एक ठाउँमा ल्याएर मुछ्ने काम हुन्छ, माटोमा रहेका अनावश्यक तत्व (माटोको डल्लो, ढुंगाको टुक्रो) छुट्टाइन्छ। पहिले-पहिले माटो खुट्टाले मुछ्ने गरिन्थ्यो। अहिले मेसिनले गर्दा छिटो तयार हुने र सजिलो हुने गर्छ। पहिले जस्तो चाखा अथवा चर्खा पनि हातले चलाउन नपर्ने मोटरले चल्ने भएकाले भाँडा बनाउन सजिलो भएको छ।

सोही वडाका वडाध्यक्ष उपेन्द्र सुवाल माटोका भाँडा बनाउने कुमाले टोलको व्यवसाय वातावरणमैत्री र आम्दानीका हिसाबले पनि  सन्तोषजनक भएको बताउँछन्। उनले यस किसिमको उद्योगले पर्यटनमा पनि टेवा पुर्‍याएको बताए।

उनका अनुसार कुमाले टोलको व्यवसाय आर्थिकरुपमा मात्र नभइ धार्मिक, सांस्कृतिक हिसाबले पनि महत्वपूर्ण छ। नेवार समुदायमा व्रतबन्ध, बेलविवाह, सूर्य दर्शन, विवाह, न्वारान र मरणमा माटोको भाँडा चाहिने भएकाले  माटोका भाँडाको व्यवसाय सांस्कृतिक रुपमा महत्वपूर्ण मानिन्छ। पर्यटकहरु माटोका भाँडा बनाउने तरिका हेर्न र अध्ययन गर्न आउने गरेको उनले बताए।

कुमाले टोलका अर्का स्थानीय विनोदकुमार प्रजापति पेसागतरुपमा खेलाडी र राष्ट्रिय कोच हुन्। २०-२५ वर्ष खेल क्षेत्रमा लागेपछि अहिले खेल छाडेर पुर्ख्यौली पेसामा संलग्न छन्। उनले विसं २०६८ देखि पसल सुरु गरेका हुन्। माटोको भाँडा बनाउनुका साथै भाँडा बनाउने तालिम पनि उनले दिने गरेका छन्।

देशी तथा विदेशी पर्यटक माटोको भाँडा बनाउने अनुभव लिन र मनोरञ्जनका लागि कुमाले टोलमा आउने गर्छन्। पर्यटकले समयअनुसार पैसा तिरेर अनुभव लिने गरेका छन्। प्रजापतिले भने, 'बीसदेखि तीस हजार माटोमा लगानी गर्दा दुई तीन लाखसम्म आम्दानी हुन्छ।' रासस

प्रकाशित: Jul 01, 2024| 17:31 सोमबार, असार १७, २०८१
प्रतिक्रिया दिनुहोस्