काठमाडौं- आगामी पुस १५ गतेदेखि इन्टरनेटको मूल्य बढ्ने भएको छ। इन्टरनेट सेवा प्रदायक कम्पनीको शुक्रबार बसेको बैठकले इन्टरनेटको मूल्य बढाउने निर्णय गरेको हो।
सरकारसँग गरिएको सम्झौता कार्यान्वन नहुँदा मूल्य बढाउने निर्णय गर्न बाध्य भएको भोजराज भट्टले जानकारी दिए।
भट्टले सेवा प्रदायक कम्पनीको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा समक्ष निवेदन दिँदै सरकारसँग भएका सम्झौता कार्यान्वयनमा नआएको भन्दै आपत्ति जनाएका थिए ।
भट्टले लेखेको निवेदनमा ‘मन्त्रीज्यू सम्झौताको मूल मर्म भनेको १३ प्रतिशत अतिरिक्त शुल्क पुरानै दररेटमा समायोजन गर्ने, इन्टरनेटको सेवा प्रदायकको माग सम्बोधन गरी शुल्क समायोजन गर्नको लागि नीतिगत सहयोग गर्ने, इन्टरनेट सेवा प्रदायकले पनि समायोजनामा योगदान गर्ने इन्टरनेट सेवामा मूल्य वृद्धि हुने गरी कुनै पनि सरकारी निकायले कामकारबाही नगर्न अनुरोध गर्ने नै थियो,' भनिएको छ ।
सरकारलाई इन्टरनेटको मूल्य बढाउनुको कारण पनि निवेदनमा लेखिएको छ । निवेदनमा भनिएको छ । 'सरकारसँगको सम्झौता भएको पाँच महिना व्यतित भैसक्दा पनि नेपाल दूरसञ्चार प्राधिकरणलाई उक्त सम्झौता कार्यान्वयनका लागि पटकपटक अनुरोध गर्दासमेत कुनै निकास नआएको हुँदा यस सेवा प्रदायक संस्थाको आकस्मिक बैठकले पुस १५ गतेबाट लागु हुने गरी १३ प्रतिशत अतिरिक्त दूरसञ्चार सेवा शुल्क लिने निर्णय गरेको हुँदा सोको जानकारी गर्दछौँ।’
'सरकारले चासो दिएन्'
इन्टरनेट सर्भिस प्रोभाइडर एशोसिएशन अफ नेपाल(आईएसप्यान)को अध्यक्ष भोजराज भट्टले सरकारले आफ्ना माग सम्बोधन गर्न चासो नदिएको र नियमावली नै परिवर्तन गरेको बताउँछन्।
सरकारले चालु आर्थिक वर्षको शुरुदेखि नै इन्टरनेटमा राजस्व बढाएको र इन्टनेट प्रदायक कम्पनीहरुले त्यसको विरोध गर्यो। त्यसपछि अर्थ, सन्चार तथा सूचना प्रविधि मन्त्रालयको पदाधिकारीहरु रहेका उच्च स्तरीय समिति बनि उक्त समस्या हल गर्ने भनियो। तर पाँच महिना वितिसक्दा पनि त्यसप्रति सरकारले चासो दिएको देखिएन। न नियमावली नै परिवर्तन भयो। कुनै सुनुवाई भएन। त्यसैले पुष १५ गतेदेखि इन्टरनेट सेवामा १३ प्रतिशत मूल्य बढ्ने भएको छ।
साथै विद्युत प्राधिकरणले इन्टरनेट जडानका लागि पोलमा राखिने सामाग्रीको लागि भाडा पाँच सय प्रतिशत मूल्य बढाएको छ। सोहीअनुसार इन्टरनेट सेवा कम्पनीहरुले कुनै इन्टरनेटको एक प्याकेजको हजार रुपैयाँसम्म मूल्य बढ्नेछ। अब बढ्ने आधारभूत आवश्यकताको रुपमा रहेको इन्टरनेटको मूल्यवृद्धिमा निजी क्षेत्रको कुनै हात छैन। सरकारकै कारणले मूल्य बढ्न जाने देखिन्छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४