झापाको भद्रपुरमा मेलमिलाप समितिको दबाब सहन नसकेर एक व्यक्तिले आत्महत्या गरेका छन्।
भद्रपुर नगरपालिका ८ नम्बर वडा कार्यालयमा गठित मेलमिलाप समितिका पदाधिकारीहरूले अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएको एक गर्भवतीलाई जबरजस्ती जिम्मा लगाउन खोज्दा भद्रपुर–८ स्थित भद्रशिव मन्दिर नजिकै बसोबास गर्ने ६८ वर्षीय गेल राजवंशीले सोमबार दिउँसो झुन्डिएर आत्महत्या गरेका हुन्।
मेलमिलाप समितिका पदाधिकारीहरूले सिधासाधा तथा निर्दोष व्यक्तिलाई जबरजस्ती करणी (बलात्कार) आरोपमा फसाउन खोज्दा सहन नसकेर बुबाले आत्महत्या गर्नुपरेको छोरा पर्वलाल राजवंशीले बताएका छन्। बुबालाई आत्महत्या गर्न बाध्य बनाउने मेलमिलाप समितिका पदाधिकारीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालय झापा आत्महत्या दुरुत्साहनमा जाहेरी दिने उनले बताए।
मृतक राजवंशी अरूको जमिनमा खेतीपाती र जनमजदुरी गरी परिवार पाल्दै आएका थिए। गत असार ४ गते वडा कार्यालयको मेलमिलाप समितिमा उनको नाममा उजुरी परेको थियो। विष्ट थरको घरमा बसोबास गर्दै आइरहेकी अविवाहित तथा मानसिक सन्तुलन ठीक नभएकी ३२ वर्षीया महिलालाई बलात्कार गरी गर्भवती बनाएको आरोप लगाएर उनको नाममा उजुरी परेको थियो।
‘उजुरी परेपछि मेलमिलाप समितिका सुरज रेग्मी लगायतले बुबालाई चर्को दबाब दिएर घटना घटाएको भनी स्वीकार गर्न लगाएको थियो,’ छोरा पर्वलालले भने, ‘बुबाले आफूले यस्तो काम नगरेको पटक पटक भन्दा पनि उनीहरूले त्यसलाई मान्न तयार भएनन्, उनीहरूले छुट्टै कोठामा राखेर मानसिक दबाब दिइराखे। परिवार तथा छरछिमेकले समेत उहाँले यस्तो हर्कत गर्न सक्नु हुन्न भन्दा पनि मेलमिलाप समितिले त्यसलाई मान्न चाहेनन्। त्यो दिनको दबाबपूर्ण छलफल पश्चात् समितिले आइतबार फेरि छलफल बोलायो।'
आइतबारको छलफलमा पनि उनीहरूले एकलौटी ढङ्गबाट राजवंशीलाई दबाब दिइराखेको परिवारको आरोप छ। घरको आँगनमा सुतिरहेका उनी मौका छोपी घर नजिकै खेतको ग्वालीमा गएर झुन्डिएका थिए। ३ बजे महिलालाई जिम्मा लगाउने समय तोकिएको थियो, राजवंशीले साढे १२ बजेतिर आत्महत्या गरेका हुन्।
घटनापछि वडा प्रहरी कार्यालय भद्रपुर र जिल्ला प्रहरी कार्यालय झापाको प्रहरी टोली पुग्दा मृतकका परिवारजनले शवलाई उठाउन दिएनन्। उनीहरूले मेलमिलाप समितिका पदाधिकारीहरूलाई पक्राउ गर्नुपर्छ माग राख्दै अवरोध पुर्याएका थिए। जिल्लाका एसपीको आश्वासनपछि उनीहरूले शवलाई कानुनी प्रक्रियामा लैजान दिएका थिए। शव पोस्टमार्टमका लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको प्रहरीले जनाएको छ।