सुर्खेत- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्डले दुई तिहाइको सरकार रमिते बनेको बताएका छन्।
‘दुई तिहाइको सरकारले देश र जनताका पक्षमा काम गर्न सकेन’, प्रकाण्डले भने ‘हत्या हिंसा र बलात्कारका घटना भैरहदा पनि सरकार रमिता हेरेर बसेको छ।’ सरकार रमिते बन्दा वडादेखि केन्द्रसम्म भ्रष्टाचार मौलाएको प्रकाण्डको भनाइ छ।
‘अहिले वडामा लाखौं र केन्द्रमा अर्बांैका दरले भ्रष्टाचारको संस्थागत भइरहेको छ। पहिले लाखौं कमिसन खानेहरु अहिले अर्बौंमा खाने भएका छन्’, उनले भने।
आफ्नो पार्टीले छिट्टै भ्रष्टाचारीलाई कारबाही अभियान चाल्ने समेत उनको भनाइ छ। अहिले देशमा विदेशी चलखेल बढेको भन्दै प्रकाण्डले प्रधानमन्त्री शर्मा ओली पनि कम्युनिस्ट सिद्धान्तबाट स्खलित भएको दाबी गरे। ‘पहिले राष्ट्रियताको सन्दर्भमा ओलीको कडा अडान थियो’, उनले भने, ‘अहिले उहाँ पनि स्खलित भइसक्नुभयो।’
त्यस्तै सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको प्रकाण्डले दाबी छ। ‘जनताले जुन विश्वास गरेर सरकारलाई बहुमत दिए, त्योअनुसार सरकारले काम गर्न सकेन।’ बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रकाण्डले भने, ‘सरकारले जनतालाई पीडा र नैरश्यमात्रै दिएको छ।’
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४