सोमबार, चैत ३०, २०८२

इन्द्रावतीमा भेटियो लिच्छविकालीन अभिलेख

 |  शनिबार, असार ८, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–१० महादेवटारमा लिच्छवि लिपियुक्त संवत् ४४२ (विसं ५७७) को अभिलेखसहितको शिवलिङ्ग भेटिएको छ।

National life

आँपको रुख र काँडाघारीभित्र रहेको खण्डित जलहरिपीठमा छ पङ्क्तिको प्राचीन लिच्छवि लिपियुक्त अक्षर भेटिएको जनाइएको छ।

गाउँपालिकाले पालिकामा रहेका प्राचीन पुरातात्विक एवं ऐतिहासिक सम्पदाको खोज एवं अभलेखीकरण गर्न हिमवत्खण्ड मिडिया प्रालिमार्फत विज्ञ अनुसन्धानकर्तासहितको टोली खटाएकामा उक्त लिच्छविकालीन अभिलेख भेटिएको हो। 

अक्सफोर्ड विश्वविद्यालयका प्राध्यापक एवं लिपिविज्ञ तथा इतिहासकार प्रा डा दिवाकर आचार्यका अनुसार इन्द्रावतीको महादेवटारमा भेटिएको शिवलिङ्गको फुटेको जलहरीमा उत्कीर्ण संवत् ४४२ (शकसंवत् मान्दा विसं ५७७) पुस ५ मिति अङ्कित शिलालेखमा राजाको नाम भने छैन।

“काठमाडौँ उपत्यका बाहिर फेला परेको यस अभिलेखको विशेष महत्व छ”, आचार्यले भने। उक्त अभिलेखबाट लिच्छविकालमा राजपरिवारपछिको सबैभन्दा शक्तिशाली र शिक्षित परिवारका एक नयाँ सदस्य र उनको समस्याग्रस्त चरित्र एवं सन्देहास्पस्द अवसानको सूचना प्राप्त भएको उनको भनाइ छ।

kumari

इन्द्रावती गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले महादेवटारमा लिच्छविकालीन अभिलेख भेटिँदा अत्यन्तै खुसी लागेको बताए। उनले सो स्थानको सुरक्षा र उत्खननका लागि पुरातत्व विभागमार्फत पहल थालिसकेको र उत्खननका लागि गाउँपालिकाले बजेटसमेत व्यवस्थापन गरेको बताए। 

इन्द्रावतीका  प्रवक्ता एवं वडा नं ५ का वडाध्यक्ष शशिनाथ आचार्यले भने, “सम्पदा र संस्कृति, जात्रा परम्परामा हामी अब्बल थियौँ, लिच्छविकालीन प्रमाण नै भेटिएपछि सबै प्रफुल्ल भएका छौँ।”

हिमवत्खण्ड मिडिया प्रालिका प्रमुख श्रीकृष्ण धिमालले अनुसन्धानका क्रममा लिच्छविकालीन अभिलेखसँगै मल्लकालीन, शाहकाल र राणाकालसम्मका अभिलेख फेला पारेको बताए। उनले लिच्छविकालीन सरस्वतीको मूर्ति पनि भेटिएको जानकारी दिए।

प्रकाशित: Jun 22, 2024| 20:44 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्