सोमबार, असार २, २०८२

६६.३ मेगावाटको मध्य कालीगण्डकीमा लगानी जुट्यो

 |  शनिबार, असार ८, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, असार ८, २०८१

vianetvianet

काठमाडौँ- आईएमई समूहको कम्पनी हाइड्रो सपोर्ट प्रालिमार्फत म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित कालीगण्डकी नदीमा निर्माणाधीन ६६.३ मेगावाट क्षमताको मध्य कालीगण्डकी जलविद्युत् आयोजनामा लगानी जुटेको छ। 

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन गर्न सहवित्तीयकरणका बैंकहरू र प्रवर्द्धक कम्पनीले ऋण सम्झौतामा हस्ताक्षर गरे।

सम्झौतापत्रमा हाइड्रो सपोर्टका तर्फबाट आईएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल र बैंकका तर्फबाट सहवित्तीयकरणको लिड बैंक नबिल बैंकका प्रमुख कार्यकारी ज्ञानेन्द्र ढुगांनाले हस्ताक्षर गरे।

सहवित्तीयकरणमा नबिल बैंकको अगुवाइमा एभरेस्ट बैंक, नेपाल इन्भेस्टमेन्ट मेगा बैंक, नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंक छन्। निर्माण अवधिको ब्याजबाहेक १२ अर्ब ९३ करोड रुपैयाँ अनुमानित लागत रहेको आयोजनामा ७५ प्रतिशत ऋणबाट र २५ प्रतिशत स्वपुँजी (इक्विटी) बाट जुटाइनेछ। इक्विटीमा आईएमई समूह र सर्वसाधारणको लगानी रहने कम्पनीले जनाएको छ।

सहवित्तीयकरणका बैंकहरूले आयोजनामा निर्माण अवधिको ब्याजसहित ११ अर्ब १२ करोड रुपैयाँ ऋण लगानी गर्नेछन्। कुल ऋणमध्ये नबिल बैंकको ३ अर्ब १२ करोड, एभरेस्ट बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रतिबैंक २ अर्ब र नेपाल बैंक, राष्ट्रिय वाणिज्य बैंक र प्रभु बैंकको प्रतिबैंक १ अर्ब रुपैयाँ रहनेछ।

मध्य कालीगण्डकी जलविद्युत् आयोजनाको निर्माण सन् २०२४ बाट सुरु भई ४ वर्ष भित्रमा सम्पन्न गर्ने लक्ष्य राखिएको छ। नेपाल विद्युत् प्रधिकरणसँग विद्युत् खरिदबिक्री (पीपीए) सम्झौता हुँदा हिउँद यामको विद्युत् खरिद दर ८.४० रुपैयाँ र वर्षायामको दर ४.८० रुपैयाँ कायम गरिएको छ। सोही आधारमा आयोजनाबाट हिउँदमा १३० गिगावाट विद्युत् उत्पादनबाट १ अर्ब ९ करोड रुपैयाँ आम्दानी हुनेछ। 

वर्षायाममा २७७ गिगावाट विद्युत् उत्पादनबाट १ अर्ब ३३ करोड रुपैयाँ आम्दानी हुने आयोजनाले जनाएको छ। वार्षिक कुल ४०७ गिगावाट विद्युत् उत्पादनबाट २ अर्ब ४२ करोड रुपैयाँ आम्दानी हुने बताइएको छ।

प्रकाशित: Jun 22, 2024| 08:01 शनिबार, असार ८, २०८१
प्रतिक्रिया दिनुहोस्