जनकपुरधाम- मैथिली साहित्य तथा कला क्षेत्रमा योगदान पुर्याउँदै आएका दुईजना श्रष्टा जनकपुरमा सम्मानित भएका छन्।
विगत तीन दशकदेखि मैथली साहित्य, कला तथा सांस्कृतिक क्षेत्रमा काम गर्दै आइरहेको जनकपुरस्थित रामानन्द युवा क्लबले आफ्नो ३३ औं वार्षिकोत्सवको अवसरमा दुईजना श्रष्टालाई सम्मान गरेको हो।
सम्मानित हुनेमा हिमांशु चौधरी र मिथिला देवी यादव रहेका छन्। पत्रकार समेत रहेका चौधरी मैथिली साहित्यमा कलम चलाउँदै आएका छन् भने मिथिलाले मैथिली चित्रकलाको क्षेत्रमा योगदान पुर्याइएकी छिन्।
क्लबले साहित्यकार चौधरीलाई विद्यापति स्मृति पदक र मिथिलालाई सरस्वती राजनारायण पुरस्कारले सम्मानित गरेको हो। विद्यापति स्मृति सम्मानको राशी १५ र सरस्वती राजनारायण पुरस्कारको राशी २५ हजार नगद रहेको छ।
बिहिबार क्लबले आयोजना गरेको एक समारोहका बीच प्रदेश २ का वन, वातावरण तथा पर्यटनमन्त्री रामनरेश रायले दुबैजनालाई पुरस्कृत गरेका छन्।
रामानन्द युवा क्लबले आफ्नो वार्षिकोत्सवको अवसरमा हरेक वर्ष मैथिली साहित्य तथा कलासंस्कृतिको क्षेत्रमा योगदान पुर्याउने श्रष्ठाहरुलाई सम्मानित गर्दै आएको छ।
क्लबका अध्यक्ष मनमोहन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साह, कौशलकिशोर यादव, पूर्व मेयर बजरंगप्रसाद साह, क्लबका संस्थापक अध्यक्ष अमरचन्द्र अनिल, जिल्ला समन्वय समिति धनुषाका उपाध्यक्ष दिपक झालगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४