मंगलबार, असार ३, २०८२

असारमा बजेट सक्ने चटारो

 |  बिहीबार, असार ६, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, असार ६, २०८१

vianetvianet

काठमाडौं- आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र समय घर्किएपछि बजेट खर्च गर्ने सरकारी प्रवृत्ति यो वर्ष दोहोरिएको छ। चालू आर्थिक वर्ष सकिन एक महिनामात्रै बाँकी रहँदा अहिले सरकारी निकाय धमाधम बजेट सक्ने ध्याउन्नमा छन्।

खासगरी विकासे अड्डाहरुमा बजेट सक्ने चटारो छ। त्यसैकारण अहिले झरीकै बीच धमाधम सडक निर्माण र मर्मत लगायतका विकासका काम सुरु भएका छन्। यो क्रम असार महिनाभरि नै जारी रहन्छ। ग्रामीण क्षेत्रमा डोजर र स्काभेटरले सडक खनिरहेका छन् भने काठमाडौं लगायतका शहरहरूमा भत्किएका र कच्ची सडकहरूको धमाधम पिच हुँदैछ।

ट्रयाक खुलेको १८ वर्षपछि ग्रामीण सडक कालोपत्र गरिँदै
ढोरपाटन (बागलुङ)- बागलुङको जैमिनी नगरपालिकाको केन्द्र कुश्मिसेरा– जैदीछिस्ती ग्रामीण सडक कालोपत्र गर्न थालिएको छ। 

चालु आर्थिक वर्षमा सङ्घीय सरकार र जैमिनी नगरपालिकाले विनियोजन गरेको रु ५० लाख गरी रु एक करोडमा सडक कालोपत्र गर्न थालिएको हो। कुश्मिसेरा बजारदेखि सर्कुवा, ब्यार्थला, बिनामारी, जैदीछिस्ती पुग्ने सडकको कालोपत्रसँगै स्तरोन्नतिको कामसमेत भइरहेको छ।

आर्थिक वर्ष २०६२-०६३ सालमा ट्रयाक खुलेको सडक १८ वर्षपछि कालोपत्र हुन थालेपछि स्थानीय हर्षित भएका छन्। जैमनी नगरपालिका–५ का वीरबहादुर खत्रीले लामो समयसम्म सडक कालोपत्र नहुँदा यस क्षेत्रका हजारौँ नागरिकले सास्ती खेपेको सुनाए। उनले भने, “यो बाटो खुलेको धेरै वर्ष भयो, जहिले सडक खुल्यो त्यस बेलादेखि नै गाडी चल्न थालेका हुन्, बाटो साँघुरो र अप्ठ्यारो हुँदा यात्रा गर्न निकै समस्या थियो, ढिलै भए पनि सरकारले सडक पिच गर्न थालेकामा हामी खुशी छौँ।”

यस वर्ष कुश्मिसेरादेखि चार सय ५० मिटरमाथि सम्म सडक फराकिलो बनाउने, नाली निर्माण गर्ने र कालोपत्र गरिनेछ। सडक कालोपत्रको जिम्मा पाएको कोन्डा कन्स्ट्रक्सनले हालसम्म करिब ९० प्रतिशत काम पूरा गरेको छ। 

मध्यपहाडी लोकमार्गः धारापानी–झिनडाँडा खण्डमा स्तरोन्नति सुरु
म्याग्दी- धौलागिरि गाउँपालिका–७ धारापानीदेखि धारापानी–ताकम–शिवाङ–झिनडाँडासम्मको सडक स्तरोन्नति थालिएको छ। 

मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धौलागिरि गाउँपालिकाको धारापानीदेखि झिनडाँडा खण्डमा ढलान, कालोपत्र र ग्राभेलको काम सुरु भएको हो। 

गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु पाँच करोड विनियोजन गरेको यस सडकका लागि रु २५ करोड बराबरको वहुबर्षीय ठेक्का लगाउन बजेटको स्रोत सुनिश्चिता गरेको थियो। 

प्रतिस्पर्धामार्फत आयोजना निर्माणका लागि छनोट भएको निर्माण कम्पनी रामसागर–बिएस धौलागिरि जेभीले संयुक्त सर्वेक्षणको काम सकेर सडक फराकिलो बनाउन कार्यक्षेत्रमा परिचालन भएको पूर्वाधार विकास कार्यालय म्याग्दीका प्रमुख विष्णु पौडेलले जानकारी दिए। 

चार किलोमिटर लामो यो सडक स्तरोन्नति गर्न उक्त कम्पनीले रु १४ करोड ६१ लाख ६१ हजारमा गत जेठ २० गते सडक विभागसँग सम्झौता गरेको छ। 

म्याग्दीबाट ढोरपाटन हुँदै पूर्वी रुकुम जोड्ने सडक मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको तुलनामा ७० किलोमिटर छोटो हुने भएकाले यसलाई प्राथमिकता दिइएको गण्डकी प्रदेशका पूर्वभौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए।

यो सडक आयोजनाअन्तर्गत झिनडाँडादेखि मुनातर्फ हालै ग्राभेल भएको छभने दरवाङ–धारापानी खण्डमा कालोपत्रसहित स्तरोन्नति गर्न प्रदेश र सङ्घीय सरकारको लागत साझेदारीमा रु एक अर्ब बजेट विनियोजन भएको उनले जानकारी दिए। हाल मरेनीसम्म बनेको कच्ची सडकलाई विस्तार गरेर ढोरपाटन जोड्न सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयन हुने गरी थप रु छ करोड ५० लाख विनियोजन भएको जुग्जालीले बताए।

विसं २०६६ मा धारापानीमा पुगेको सडक स्तरोन्नति गर्न स्थानीयले जग्गा उपलब्ध गराउने सहमति गरेका टोल सुधार समितिका संयोजक रिमबहादुर थापाले बताए। धारापानीका अगुवा किरण थापाले सडक आठ मिटर फराकिलो बनाउन सबै जग्गाधनी सहमत भएका तथा त्यसनिम्ति जग्गा प्रदान गर्न  तयार रहेका बताए।

सहीद लालध्वजमार्ग स्तरोन्नति गरिँदै
दमौली-  शुक्लागण्डकी नगरपालिकादेखि व्यास नगरपालिकासम्म जोडिने शहीद लालध्वजमार्ग स्तरोन्नतिको काम सुरु भएको छ। 

शुक्लागण्डकी नगरपालिका–१ थप्रेकदेखि व्यास नगरपालिका–६  सिन्धुसम्म जोडिने उक्त मार्ग स्तरोन्नतिका लागि जिल्ला पूर्वाधार विकास कार्यालय बोलपत्र आह्वान गरेको छ। पूर्वाधार विकास कार्यालय रु १५ करोडको लागतमा उक्त मोटरमार्गको स्तरोन्नतिका लागि बुधबार सूचना प्रकाशित गरेको हो। 

चालु आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारबाट रु चार करोड बजेट विनियोजन गरी विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको हो। सडकका लागि प्रदेश भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र आर्थिक मामिला मन्त्रालयले रु १५ करोडको स्रोत सुनिश्चित गरेको छ। विसं २०५२ पुस २८ गते यो सडकको ‘ट्रयाक’ खुलेको थियो।

बेनी-बाबियाचौर सडक कालोपत्र
गलेश्वर (म्याग्दी)- बाटो पुगेको (ट्र्याक खुलेको) दुई दशकपछि म्याग्दीको मङ्गला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारसम्म सडक  कालोपत्र भएपछि बाबियाचौरदेखि म्याग्दीको सदरमुकाम बेनीबजार २० मिनेटमा पुग्न सकिने भएको छ।

२४ किलोमिटर दुरीको बेनी –दरबाङ सडकको बेनीदेखि बाबियाचौरसम्मको १७ किलोमिटर सडक कालोपत्र भएपछि डेढ घण्टाको बाटो २० मिनेटमा छोटिएको छ। सडक कालोपत्र नहुँदा बाबियाचौरदेखि बेनी पुग्न डेढघण्टा लाग्ने गर्दथ्यो। सडक कालोपत्र भएपछि पश्चिम म्याग्दीका बासिन्दा लाभान्वित भएका छन्। दरबाङसम्म कालोपत्रको काम छिटो सम्पन्न गराउन निर्माण कम्पनीलाई दबाब दिन स्थानीयले माग गरेका छन्।

विसं २०६३ मा ट्र्याक खुलेको बेनी –दरबाङ सडक अन्तरगतको बेनी–बाबियाचौर खण्ड कालोपत्र भएको हो।दुई वर्षअघि बेनी बजारदेखि १२.५ किलोमिटर मङ्गला गाउँपालिका–२ सिममा पुगेको कालोपत्र सडक यसवर्ष पूर्वाधार विकास कार्यालयले विस्तार गरेर तोराखेत– बाबियाचौर– लाम्पाटा– पानाबगर हुँदै रणवाङको सिमानामा पुर्याएको हो।

पूर्वाधार विकास कार्यालय म्याग्दीका अनुसार सिमदेखि पानाबगर खण्डको तीन किलोमिटर आठसय मिटर सडक कालोपत्र गर्न विसं २०७८ पुस १८ गते अमर–ओमबुद्ध जेभीसँग रु दश करोड ७० लाख २१ हजारमा ठेक्का सम्झौता भएको थियो। बेनी–दरबाङ सडकको आठ किलोमिटर खण्ड कालोपत्र गर्न बाँकी रहेको छ।बेनी–दरबाङ सडक आयोजना अन्तरगत तेस्रो खण्ड रणबाङ–दरबाङ (करिब ७ किमि) को कालोपत्र योजनाको काम अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएका छन्। सडकको बाँकी अन्य खण्डको कालोपत्र भइसकेको अवस्थामा पूर्वाधार कार्यालयबाट केही रकम निकासा भएपछि बेपत्ता भएका हुन्।

ठेकेदारले विभिन्न बाहना र शक्ति केन्द्रको पहुँच देखाउँदै आएका स्थानीयले बताएका छन्। यो सडक कालोपत्र आयोजनाको ठेक्का बिरुवा–क्याराभान जेभीले विसं २०७६ जेठ ३१ लिएको थियो। ठेकेदारको अटेरीले पाँच वर्षमा पनि आयोजनाले पूर्णता पाउन नसक्दा यात्रु, यातायात व्यवसायी र स्थानीयवासीले सास्ती पाउने गरेका छन्। मङ्गला गाउँपालिका–२, रणबाङदेखि मालिकाको केन्द्र दरबाङसम्म ६.८ किलोमिटर सडक कालोपत्र गर्न ठेकेदार कम्पनी र पूर्वाधार विकास कार्यालय म्याग्दीबीच रु २२ करोड ५७ लाख नौ सय ३२ मा ठेक्का सम्झौता भएको थियो।

कार्यालयका अनुसार,आयोजनाको अहिलेसम्म भौतिक प्रगति करिब ७२ प्रतिशत सम्पन्न भएको छ। गत चैत–वैशाखदेखियता निर्माण व्यवसायी निर्माण आयोजनास्थलमा देखिएका छैनन्। बेनी–बाबियाचौर खण्डा कालोपत्र भएपछि यात्रा सहज, सुरक्षित र अवधि छोटिएको मङ्गला गाउँपालिका–५ छिस्वाङका विकल सेनले बताए। “कच्ची सडक हुँदा बाबियाचौरदेखि बेनी पुग्न १ घण्टा ३० मिनेट लाग्ने गरेको थियो,कालोपत्र भएपछि बाबियाचौरदेखि २० मिनेटमै बेनी पुग्न सकिने भएको छ” उनले भने।

सडकलाई आठ मिटर फराकिलो बनाएर र सात मिटर चौडाइका दरले डिबिएसडी प्रविधिको कालोपत्र गरिएको ओमबुद्ध निर्माण कम्पनीका प्रतिनिधि डम्मर सापकोटाले बताए। तोराखेत खण्डमा सडकको क्षेत्राधिकारमा पर्ने जग्गाका धनीहरुको बिबादले करिब एकसय मिटरमा कालोपत्र गर्न र संरचना निर्माणलाई अन्तिम रुप दिन नपाएको उनको भनाइ छ।

बिरुवा–क्याराभान जेभीले विसं २०७६ असार ३१ गते रु बाइस करोड ५७ लाख नौ सय ३२ मा ठेक्का लिएको बेनी–दरवाङ सडकको तेस्रो प्याकेजमा पर्ने मङ्गला गाउँपालिका–२ लाम्पाटादेखि मालिकाको केन्द्र दरबाङ सम्मको ६.८ किलोमिटर सडक निर्माणको काम भने अधुरो रहेको छ। 

भोजपुरको जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गरिँदै
भोजपुर– भोजपुरको अरुण गाउँपालिकामा पर्ने जरायोटार–सिक्रेटार सडक स्तरोन्नति गर्न थालिएको छ। यसअघि कच्ची सडकका कारण स्थानीयवासीले सास्ती पाउने गरेका थिए।

आठ किलोमिटर सडकमध्ये पाँच किलोमिटर स्तरोन्नति गर्न थालिएको हो। गाउँपालिकाबाट विनियोजन गरिएको रु एक करोड बजेटबाट उक्त सडक स्तरोन्नति गर्ने काम भइरहेको अरुण–५ का वडाध्यक्ष कुमार थापाले जानकारी दिए। वडाको गौरवको योजनाको रुपमा रहेको उक्त सडक विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ।

“सडकलाई बाह्रैमास सञ्चालन गर्ने लक्ष्यसाथ काम भइरहेको छ”, वडाध्यक्ष थापाले भने। वर्षात्मा आवतजावत गर्न समस्या भएपछि यसअघि वडाले रु १५ लाख बजेट विनियोजन गरेर भोजपुर–लेगुवा सडकको शून्य विन्दुबाट करिब तीन किलोमिटर सडक स्तरोन्नति गरिएको उनले बताए।

“सडक स्तरोन्नति गरिएपछि बाह्रैमास यातायातका साधन सञ्चालन गर्न सकिने छ”, उनले भने। चट्टान हटाउने, सडक चौडा बनाउने, सतह मिलाउने, मोड मिलाउने, ग्याबिन जाली भर्ने, नाली कटाउने, पर्खाल लगाउने, ढलान गर्नेलगायतको काम भइरहेको छ।

सडक स्तरोन्नति गरिएपछि कृषि उपजको बजारीकरणसँगै आवतजावत गर्न सहज हुने स्थानीय केदारप्रसाद अधिकारीले बताउनुभयो। स्तरोन्नति गरिएपछि भोजपुरको सदरमुकाम तथा छिमेकी जिल्ला धनकुटा हुँदै तराईका जिल्ला प्रवेश गर्न सहज हुनेछ।

प्रकाशित: Jun 20, 2024| 08:10 बिहीबार, असार ६, २०८१
प्रतिक्रिया दिनुहोस्