मंगलबार, पुस ८, २०८२

सडक सञ्जालमा जोडियो छेम्दी गाउँ

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

म्याग्दी- म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको छेम्दी गाउँ सडक सञ्जालमा जोडिएको छ। अन्नपूर्ण गाउँपालिकाले नारच्याङको बेँसी गाउँबाट छेम्दी जोड्ने सडक निर्माण गरेपछि सडक सञ्जाल विस्तार भएको हो।

National life

अन्नपूर्ण-४ नारच्याङका कार्यवाहक वडाध्यक्ष भीमबहादुर शेरपुञ्जाले बेँसी गाउँबाट छेम्दी जोड्ने तीन किलोमिटर सडक निर्माण भएपछि करिब ५० घरधुरी लाभान्वित भएका बताए।

'प्रशस्त मात्रामा सुन्तला, सिमी र आलुखेती हुने छेम्दी गाउँमा सडक पुगेपछि स्थानीयलाई आवतजावतका साथै कृषि उपज निकासी, निर्माण सामग्री र दैनिक उपभोग्य सामग्री ढुवानीमा सहज भएको छ', उनले भने, 'गाउँमा यातायात सुविधा पुगेसँगै स्थानीयको दैनिकी र जीवनशैलीमा परिवर्तन आएको छ।'

सडक निर्माणसँगै किसानले फलफूल, तरकारीलगायत कृषि उत्पादन बिक्रीका लागि बोकेर नारच्याङ बेँसी गाउँसम्म लैजानुपर्ने बाध्यता हटेको छ। सो सडक निर्माण गर्न गत माघ २८ गते रुप्से बिल्डर्स प्रालीसँग ५३ लाख ३४ हजार तीन सय ४१ रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। 

गत जेठ ३२ गतेसम्म ठेक्काको म्याद भए पनि निर्माण कम्पनीले निर्धारित मिति पहिला नै काम सम्पन्न गरेको गाउँपालिकाका सबइञ्जिनियर बालकृष्ण पौडेलले बताए।

Laxmi sunrise bank
kumari

सबै बस्तीमा सडक पुर्‍याउने लक्ष्यअनुसार छेम्दीमा सञ्जाल विस्तार गरिएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले बताए। सो सडकको ग्रेड तथा घुम्ती सुधार, नाली र पर्खाल निर्माण गरी थप स्तरोन्नतिमा प्राथमिकता दिइने उनको भनाइ छ।

आठवटा वडा रहेको अन्नपूर्ण गाउँपालिकाको सबैजसो बस्तीमा सडक पुगेको छ। सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिँदै आएको अध्यक्ष पुनले बताए। रासस

प्रकाशित: Jun 19, 2024| 21:31 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्