काठमाडौं- नेपाल प्रहरीले अपराध अनुसन्धानमा महत्वपूर्ण मानिने फरेन्सिक टेस्ट अब मोवाइल भ्यानबाटै सञ्चालन गर्ने भएको छ। प्रहरीले भारतको हेलिक कम्पनी पुनेबाट भ्यान खरिद गरेको हो।
९६ लाखमा खरिद गरिएको भ्यानमा चालकसहित ११ जना अनुसन्धान विषेशज्ञ घटना स्थलमै पुगेर अनुसन्धान सुरु गर्न सक्ने छन्। फायर प्रतिरोधक ३२ सय ४५ सिसिको भ्यानमा फुल एयर कन्डिसन, जनरल क्राइम सेन्स इन्भेस्टिकेसन किट्स, डीएनए स्याम्पल, प्रमाण संकलन, रगत परिक्षण किट्, लागूऔषध पहिचान गर्ने किट्, सिमेन डिटेक्सन किड्स, बिस्फोटक पदार्थको पहिचान गर्ने किट सेवा छन्।
यस्तै घटनामा प्रयोग भएको बन्दुकको होल टेस्टिङ किट्, गन सुट रिसाइड कलेक्सन किट, क्राइम सिन इलुमिनेसन किट, फोरेन्सिक लाइट, सोर्स मल्टि टरेवल लाइट, कन्भेन्सिभ फिंगर प्रिन्टको पहिचान गर्ने किट्, दुर्घटनाबाट बचाउने जुत्ता ४ थान, सेट अफ मिडि फायर्स २ सेट, ग्यास मार्क एक सेट, कोट एक थानलगायतका सुविधा छन्।

महानरीय अपराध अनुसन्धान महाशाखाका एसएसपी धिरज प्रताप सिंहका अनुसार उक्त मोवाइल फोरेन्सीक भ्यानबाट अनुसन्धानमा खटिने टोलीले घटना स्थलका सम्पूर्ण प्रमाणहरुलाई तत्काल सुरक्षीत गर्न मदत गर्ने छ। एसएसपी सिंहले प्रारम्भिक अनुसन्धामा भ्यानले महत्वपूर्ण हुने बताएका छन्।
भ्यानको सहायताले तत्काल घटना स्थलमा परिचालित भई घटनाको सुक्ष्म अनुसन्धान गर्न सहयोग गर्नेछ। जघन्य प्रकृतिको कसुरको अनुसन्धानमा उक्त भ्यान महत्वपूर्ण मानिन्छ। घटना स्थलमा फेला परेका ससाना सवुत प्रमाणको सुरक्षा गर्छ।
वैज्ञानिक ढंगबाट घटनाको अनुसन्धान गर्न सहयोग गर्छ। महाशाखाका अनुसार घटना स्थलमा तत्काल परिचालित भई प्रभावकारी रुपमा सबुत प्रमाण संकलन गरी घटनाको पहिचान घटना स्थलबाटै गर्न सकिने छ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४