मंगलबार, पुस ८, २०८२

हरवाचरवालाई नागरिकताको पिरलो

 |  बुधबार, असार ५, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, असार ५, २०८१

रुपनी- सप्तरीको रुपनी गाउँपालिका-१ रायपुरका ६२ वर्षीया चुनरदेवी सदा हालसम्म नागरिकताबाट वञ्चित छिन्। उनले नागरिकताका लागि स्थानीय जनप्रतिनिधि र कर्मचारीलाई गुहार्दै आएकी छिन्।

National life

सदाका श्रीमान् रामप्रसादको १० वर्षअघि नै मृत्यु भइसकेको छ। नागरिकता नहुँदा उनी सामाजिक सुरक्षा भत्ताबाट पनि वञ्चित छिन्। 'सरकारले एकल महिलालाई मासिक सामाजिक सुरक्षा भत्ता दिने गरेको छ', चुनरदेवी भन्छिन्, 'मसँग नागरिकता नहुँदा त्यो सुविधाबाट वञ्चित छ।'

नागरिकता बनाउन वडा कार्यालयबाट सिफारिस बनाए पनि जिल्ला प्रशासन कार्यालयले श्रीमान् र बुबा-आमाको नागरिकता मागेको उनी बताउँछिन्। चुनरदेवी भन्छिन्, 'श्रीमानको नागरिकता त छ, तर मसँग बुबा-आमाको नागरिकता छैन।'

बुबा-आमाका बितेको करिब २० वर्ष भइसकेकाले नागरिकता आफूसँग उपलब्ध नभएको उनी बताउँछिन्। नागरिकता नपाउँदा चुनरदेवीका २५ वर्षीय छोरा सञ्जीवलाई समस्या भएको छ। 'नेपालमै जन्मिएँ, यही हुर्किएँ। तर हालसम्म नागरिकता पाउन सकेको छैन', सञ्जीव भन्छन्, 'घरको मूल व्यक्ति आमासँग नै नागरिकता नहुँदा समस्या भएको हो।' नागरिकता नबन्दा सञ्जीवले सात वर्षीय छोराको जन्मदर्ता प्रमाणपत्र बनाउन सकेका छैनन्।

रुपनी-२ लौवापारका बिलट सदा पनि नागरिकताबाट वञ्चित छन्। सानै उमेरमा बुबा-आमा गुमाएकाले आफू नागरिकताबाट वञ्चित हुनुपरेको उनको भनाइ छ। नागरिकताका लागि सबै निकायलाई गुहारे पनि अझै पाउन नसकेको बिलट गुनासो गर्छन्। 'आर्थिक अवस्था असाध्यै कमजोर छ, परिवार पाल्न धौधौ छ', बिलट भन्छन्, 'तर ऋण माग्न साहुमहाजनदेखि बैंकसम्म पुग्दा सबैले पहिला नागरिकता माग्छन्, नागरिकता नहुँदा ऋणसम्म पाउन सकिरहेको छैन।'

Laxmi sunrise bank
kumari

उनको पनि नागरिकताका लागि वडाबाट सिफारिस भइसकेको छ। तर जिल्ला प्रशासन कार्यालयले बुबा-आमाको नागरिकता माग्दा बिलटले दिन सकेका छैनन्। 'दाजुको मृत्यु भइसकेकाले सनाखत गर्न भाउजु फुलबतीदेवी र भतिज रामलगन तयार हुनुहुन्छ, तर यसले पनि समस्या समाधान हुन सकेको छैन।'

उनको नागरिकताको पहल गरिदिन वडाध्यक्षसहितको टोली जिल्ला प्रशासन कार्यालय पुगेपनि नागरिकता बन्न सकेन।  'नागरिकता नबन्दा १२ वर्षीय छोरा दिले र १० वर्षीय पवनको जन्मदर्ता बनाउन सकिएको छैन', बिलटले भने।

स्थानीय २८ वर्षीया संगीतादेवी सदाले पनि अझै नागरिकता पाउन सकेकी छैनन्। सिरहा माइत भएकी उनको स्थानीय उमेश सदासँग विवाह भएको हो। 'श्रीमानको नागरिकता बनेको छ', उनी भन्छिन्, 'तर जिल्ला प्रशासन कार्यालयले श्रीमानको नागरिकतासँगै बुबाको पनि माग्छ, बुबा गणेश सदाको नागरिकता आगलागीमा परेर जलेर नष्ट भयो, बुबाको मृत्यु भइसकेकाले झन समस्या भएको छ, बुबाको मृत्युदर्ता बनाउन फोटो चाहिने भयो, तर उहाँको फोटो छैन, कहाँबाट ल्याएर दिनु?'

बुबाको नागरिकता वा मृत्युदर्ता नहुँदा नागरिकता बनाउन नसकेको उनको भनाइ छ। नागरिकता नभएपछि गाउँमा गठन हुने महिला समूहमा आबद्ध हुन नपाएको संगीतादेवी बताउँछिन्। 'अन्य सेवा सुविधाबाट पनि वञ्चित छु', उनले भनिन्। जन्मेपछि कानूनीरुपमा राज्यको नागरिकको फेहरिस्तमा नाम जोडिनुपर्छ तर बुबाआमाको नागरिकता नहुँदा सन्तानको पहिचान संकटमा छ।

नागरिकताको सिफारिसका लागि जन्मदर्ता खोजे तर आफ्नो जन्मदर्ता नभएको रुपनी-६ का दीपेन्द्र सदा बताउँछन्। नागरिकता नहुँदा समाज र समुदायबाट अलग हुनुपरेको उनको भनाइ छ। 'नागरिकताकै अभावमा गाउँस्तरमा बन्ने कुनै पनि समूहमा सदस्यता पाउन सकिरहेको छैन। राज्यले उपलब्ध गराउने हरेक सेवासुविधाबाट वञ्चित हुनुपरेको छ', उनले भने।

रुपनी गाउँपालिकाका चुनरदेवी, बिलट, संगीता र दीपेन्द्र मात्र होइन, सो गाउँपालिकाका विभिन्न वडाका दलित बस्तीमा नागरिकताको समस्या यथावत छ। वडामा जन्मदर्ता, विवाहदर्ता र नागरिकताको समस्या पाइएपछि ‘द फ्रिडम फण्ड’को सहयोगमा श्रीपुर्राज सामुदायिक विकास केन्द्र सप्तरीले व्यक्तिगत घटना दर्तासँगै नागरिकता र जन्मदर्ता बनाउने अभियान थाल्ने तयारी गरेको छ।

श्रीपुर्राज सामुदायिक विकास केन्द्रका सहजकर्ता पुनम चौधरीका अनुसार अधिकांश दलित बालबालिका जन्मदर्ताकै अभावले पढाइबाट वञ्चित छन्। प्रमाण जुटाउन नसक्दा जन्मदर्ता र नागरिकताको सिफारिस गर्न कठिनाइ भइरहेको रुपनी गाउँपालिकाका अध्यक्ष दिनेशकुमार यादवले बताए।    -रासस

प्रकाशित: Jun 19, 2024| 14:42 बुधबार, असार ५, २०८१
प्रतिक्रिया दिनुहोस्