काठमाडौं- नेपाली कांग्रेसको एक सातादेखि जारी महासमिति बैठकलाई अलपत्र छाडेर पार्टी पदाधिकारी र केन्द्रीय सदस्यहरू गुटबन्दी र गोप्य भेलामा व्यस्त हुन थालेका छन्।
आज बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठक दिनभर नचलेपछि कतिपय महासमिति सदस्य घर फर्किन थालेका छन्। बिहानै बस्ने पदाधिकारी र केन्द्रीय समितिको बैठक पनि बस्न सकेको छैन। अब महासमिति र केन्द्रीय समिति बैठक कतिबेला बस्ने भन्ने टुंगो छैन।
महासमिति बैठकका लागि बुक गरिएको सिंहदरबास्थित योगम्बर पार्टी प्यालेसको समयावधि बुधबार बेलुका सकिएपछि बिहीबारदेखि महासमिति सदस्यहरू पार्टी मुख्यालय सानेपामा भेला भएका छन्। नेतृत्वबाट स्पष्ट निर्णय र निर्देशन नहुँदा महासमिति सदस्यहरू निराश भएका छन्। खासगरी विधान संशोधनका क्रममा पदाधिकारी संख्या र चयन प्रक्रियाबारे मंगलबार भएको सहमतिमा किचलो भएपछि महासमिति बैठक अन्योलमा परेको छ।
बैठक अनावश्यक रूपमा लम्बिँदा ७७ जिल्लाबाट आएका महासमिति सदस्यहरू अन्योलमा छन्। पार्टी सभापति शेरबहादुर देउवासहित केन्द्रीय समितिका सदस्यहरू बैठक गर्ने भन्दै महासमिति स्थलमा उपस्थित नभएपछि बैठकका सहभागीले चिया र बदाम खाएर दिन कटाउने गरेका छन्।
विधान संशोधन मस्यौदा समितिले तयार गरेको प्रतिवेदन केन्द्रीय कार्य समिति बैठकमा पेस गरे पनि सहमति हुन नसकेपछि एक सातादेखि सहमति जुटाउन केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरुको प्रयास निरर्थक भएको छ।
पार्टी महामन्त्री पूर्णबहादुर खड्का संयोजकत्वमा गठित विधान संशोधन मस्यौदा समितिको प्रतिवेदनमाथि पार्टी केन्द्रीय कार्य समितिमा सहमति जुट्न नसकेको भन्दै महासमिति बैठकमा विधान प्रतिवेदन पेस नहुँदा महासमिति बैठक सोमबारदेखि प्रभावित हुँदै आएको छ।
थप पढ्नुहोस्,
बैठकस्थल छोडेर केन्द्रीय सदस्यहरु गुटगत भेलामा क्रियाशील हुने गरेका छन्। गत शुक्रबार सुरु हुने भनिएको महासमिति बैठक एक दिन ढिला मात्र सुरु भएको थियो। त्यस दिन पार्टी कार्यालयमा महासमिति सदस्यको नाम दर्ता गरिएको थियो भने शनिबार सिंहदरबारस्थित एक पार्टी प्यालेसमा महासमिति बैठक उद्घाटन गरिएको थियो।
आइतबार बन्दसत्र निर्बाध रूपमा चले पनि सोमबार विधान संशोधन मस्यौदा समितिको प्रतिवेदन नआएको भन्दै बैठक तीन घन्टा स्थगित भएको थियो। महासमिति सदस्यले विधान माग गरेपछि बैठक स्थगित गर्दै सिंहदरबारस्थित पार्टी संसदीय दलको कार्यालयमा केन्द्रीय कार्य समिति बैठक बसेको चार दिन भएको छ।
खासगरी विधान संशोधनका क्रममा पदाधिकारी संख्या र चयन प्रक्रियाबारे मंगलबार भएको सहमतिमा किचलो भएपछि महासमिति बैठक अन्योलमा परेको छ।
दिउँसो १ देखि ३ र बेलुकी ६ देखि ८ बजेसम्म पार्टीका शीर्ष नेता र केन्द्रीय सदस्यहरुबीच भएको बैठक निरर्थक बनेका छन्। केन्द्रीय समितिको बैठक बस्ने भन्दै महाधिवेशस्थलबाट बाहिरिएका केन्द्रीय सदस्य गुटको भेलामा व्यस्त हुने गरेका छन्। हरेक दिन केन्द्रीय कार्य समिति बैठक बढीमा १० मिनेटभन्दा बढी बस्न सकेको छैन।
पार्टी सभापति देउवाको नेतृत्वमा बस्ने गुटगत बैठकमा रामचन्द्र पौडेलको उपस्थिति पाइँदैन। पौडेल गुटको बैठकमा सभापति देउवा जाने गरेका छैनन्। बुधबार साँझ ६ बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक साढे आठ बजे १० मिनेटसम्म मात्र चल्यो।
औपचारिकता दिनमात्र पार्टी केन्द्रीय कार्य समिति बैठक बसे पनि गुटगत भेला र बैठक भने करिब २ घन्टासम्म चलेको थियो। बिहान महासमिति बैठकस्थल पुगेका सदस्यहरु यतिबेला चियापसल र रेस्टुरेन्टमा चियाखाजा खान व्यस्त छन्।
स्थानीय जनप्रतिनिधिहरु एक साताभन्दा बढी काठमाडौंमा बसेपछि आजबाट घर फर्कन थालेका छन्। पार्टी नेतृत्वले पार्टीको असन्तुष्ट समूहसँग मंगलबार साँझ वार्ता गरेर पदाधिकारीको संख्यामा देखिएको विवाद समाधान गरेको थियो। तर, सभापति देउवाले बुधबार दिउँसो राखेको बैठकमा उनी निकट केन्द्रीय सदस्यहरुले असहमति जनाएपछि विधानमा सहमति जुट्ने सम्भावनासमेत टर्दै गएको छ।
आज साँझसम्म सहमति जुटेपछि महासमिति बैठकमा भाग लिन आएका महासमिति सदस्यहरुले त्यस्तो प्रतिवेदन पाउने सम्भावना टर्दै गएकोे छ। आफैंले खाना र बस्नको व्यवस्था गरेर आएका महासमिति सदस्य चिसो काठमाडौंमा सकस बेहोरिरहेका छन्। महासमिति सदस्य भुवन श्रेष्ठले भने, ‘नेताहरूको गुटबन्दीका कारण महासमिति अन्योलमा परेको छ।’ अर्का महासमिति सदस्य सीता सापकोटाले महासमिति सोचेजस्तो हुन नसकेको टिप्पणी गरिन्। नेपाली जनसम्पर्क समिति बेल्जियमकी सभापतिसमेत रहेकी उनले भनिन्, ‘अब हामीले महासमितिको के सन्देश लिएर जाने ?’
आज साँझसम्म सहमति जुटे पनि विधान छापेर आउन कम्तीमा २४ घन्टा लाग्ने प्रवक्ता विश्वप्रकाश शर्मा बताउँछन्।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरूबीच मंगलबार साँझ भएको सहमतिअनुसार पदाधिकारी संख्या ८ राख्ने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्ने प्रावधान राखिएको थियो। सहमतिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुवै सहमहामन्त्री र एक कोषाध्यक्ष गरि ८ सदस्यीय पदाधिकारी हुने छन्।
तर, बुधबार दिउँसोको केन्द्रीय समिति बैठकमा मंगलबारको सहमति समावेशी र समानुपातिक नभएको भन्दै चर्को विरोध गरेका थिए। यसरी विरोध गर्नेमा देउवापक्षका केन्द्रीय सदस्य थिए। विधान संशोधनमा फेरि किचलो सुरु भएपछि दिनभर सहमतिको प्रयास भएको थियो। यही क्रममा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गुटगत छलफलसमेत भएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४