सोमबार, चैत ३०, २०८२

पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

पर्वत- पर्वतमा थप दुई सय हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार भएको छ। जिल्लाका सात पालिकामा सुरु भएका एक सय १७ सिँचाइ आयोजनामध्ये हालसम्म सम्पन्न ९० वटा आयोजनाबाट सिँचाइ सुविधा विस्तार भएको जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पर्वतका प्रमुख विष्णुहरि अधिकारीले जानकारी दिए।

National life

प्रमुख अधिकारीका अनुसार थप २० वटा आयोजना यही असार मसान्तसम्म पूरा हुने क्रममा छन्। जिल्लाका अधिकांश योजना बहुवर्षे भएको र छोटो अवधिका योजनामध्ये झन्डै एक दर्जन योजना सम्पन्न भइसकेको उनले बताए।

जलजला गाउँपालिका-७ मा रहेको पुर्जाखोला र लुङ्दीखोला-भेडावारी सिँचाइ योजना, फलेवास नगरपालिका-६ देवीस्थानको लिफ्ट बोरिङ सिँचाइ योजना तथा मोदी-३ को टुहुरेखोल्सी-पूर्णगाउँ सिँचाइ ठूला प्रकृतिका योजना हुन्। 

जिल्लामा रहेका सिँचाइ योजनामध्ये स्तरोन्नति गर्नुपर्ने योजनाको काम पनि सकिएको छ। यस वर्ष स्तरोन्नति, मर्मत र नयाँ सम्पन्न भएका योजनाबाट थप दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको हो।

कार्यालयका अनुसार अहिले सञ्चालित योजना सम्पन्न गर्नका लागि झन्डै एक अर्ब रूपैयाँ बजेट आवश्यक छ। योजनाको लागतअनुमानअनुसार पर्याप्त बजेट विनियोजन नहुँदा समयमै सम्पन्न गर्न कठिनाइ भइरहेको उनले बताए। अधिकांश योजनाहरु एक करोडदेखि तीन करोड रूपैयाँसम्मका रहेका छन्।

kumari

कार्यालयमा चालु आर्थिक वर्षका लागि विनियोजित भएको कुल १८ करोड ९३ लाख रूपैयाँमध्ये जेठ मसान्तसम्म १३ करोड २८ लाख ७० हजार रूपैयाँ खर्च भइसकेको छ। चालु आवको जेठ अन्तिम सातासम्म भौतिक प्रगति ८५ प्रतिशत र वित्तीय प्रगति ७० प्रतिशत पुगेको जनाएको छ। 

सिँचाइ योजनाहरुको सङ्ख्या उल्लेख्य भए पनि कतिपय पुराना र क्रमागत योजनाहरु नियमित बजेट विनियोजन नहुँदा भग्नावशेषमा परिणत भइसकेका छन्। नयाँ योजना थपिने तर पूराना योजना सम्पन्न गर्न बजेट विनियोजन नभएका कारण जिल्लाभर झन्डै ४० वटा पुराना योजना अधुरै रहेको कार्यालयले जनाएको छ।

पर्वतको कुल खेतीयोग्य जमिनमध्ये ११ हजार नौ सय ३४ हेक्टर क्षेत्रफलमा सिँचाइको पहुँच छ तर बाह्रैमास सिँचाइ सुविधा पुग्ने जमिनको क्षेत्रफल भने जम्मा तीन हजार पाँच सय हेक्टर मात्र रहेको कार्यालयले जनाएको छ। रासस

प्रकाशित: Jun 18, 2024| 21:31 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्