मंगलबार, पुस ८, २०८२

लुक्लामा १० दिनदेखि उडान ठप्प, छैन यातायातको अर्को साधन

 |  मंगलबार, असार ४, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, असार ४, २०८१

प्रतिकूल मौसमका कारण लुक्लास्थित तेन्जिङ हिलारी विमानस्थलमा उडान ठप्प हुँदा पर्यटक समस्यामा परेका छन्।

National life

गत जेठ २६ गतेदेखि विमानस्थलमा कुनै पनि जहाजले उडान भर्न सकेका छैनन्। अत्यधिक हुस्सु र ‘भिजिबिलिटी’ कम हुँदा लुक्लामा जहाज र हेलिकोप्टरले उडान भर्न नसकेको नेपाल नागरिक उड्डयन प्राधिकरण लुक्लाका एअर ट्राफिक कन्ट्रोलर दिवस दाहालले बताए।

“अहिले सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी तथा स्वदेशी पर्यटक फर्कने सिजन हो। यतिखेर आउनेभन्दा फर्किने पर्यटक ज्यादा हुन्छन्, तर मौसम अनुकूल छैन,” दाहालले भने, “त्यसैले सबै उडान तालिका १० दिनदेखि रद्द भइरहेको छ, हुस्सुले वरको वस्तु परबाट देखिन्न, झन् जहाज उडान हुने त कुरै छैन।”

लुक्ला विमानस्थलमा अवतरण हुन नसक्दा लुक्लाभन्दा तल रहेको सुर्के हेलिप्याडबाट हेलिकोप्टरले उडान गरिरहेका छन्। सुर्के केही होचो स्थान भएकाले हेलिकोप्टरले पर्यटक काठमाडौँ लैजाने गरेको उनले बताए। भौगोलिक बनावटका कारण पनि लुक्लामा बढी हुस्सु लाग्ने भएकाले उडानमा समस्या हुने गरेको उनको भनाइ छ।

मौसम सामान्य बदलि हुनेबित्तिकै लुक्लामा उडान ठप्प हुने भएकाले पर्यटक मर्कामा पर्ने गरेको तारा एअरका लुक्ला स्टेशन प्रमुख अमृत मगरले बताए। यतिवेला लुक्ला भित्रिनेको तुलनामा बाहिरिने बढी छन्। यद्यपि मौसमका कारण सबै उडान तालिका रद्द गर्नुपरेको मगरको भनाइ छ।

Laxmi sunrise bank
kumari

लुक्लाभन्दा तल करीब चार घण्टाको पैदल दूरीमा पर्ने थामडाँडासम्म गाडी पुग्छ। यसका कारण कतिपय पर्यटक तीनदेखि चार घण्टाको पैदल हिँडेर थामडाँडाबाट गाडीमार्फत सदरमुकाम सल्लेरी हुँदै काठमाडौँ फर्किरहेका छन्। थामडाँडाबाट सल्लेरीको दूरी करीब ७० किलोमिटर छ। कच्ची सडक भएकाले बोलेरो मात्रै चल्ने गरेको छ।

थामडाँडाबाट सल्लेरीको गाडी भाडा प्रतिव्यक्ति दुई हजार २०० रुपैयाँ लिने गरेको यातयात व्यवसायी रामबहादुर विश्वकर्माले बताए। थामडाँडाबाट आएको दिन सल्लेरी बास बस्ने पर्यटक भोलिपल्ट विमान, बसमार्फत काठमाडौं फर्कने गरेका छन्। सल्लेरीबाट २७५ किलोमिटरको दूरीमा पर्ने काठमाडौंको दुई हजार रुपैयाँ गाडी भाडा लाग्ने गरेको छ।

प्रकाशित: Jun 18, 2024| 07:40 मंगलबार, असार ४, २०८१
प्रतिक्रिया दिनुहोस्