मंगलबार, पुस ८, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • श्रीकेश तेलमा काठमाडौं महानगरको छापा, कारखाना र कार्यालयमा ताला

श्रीकेश तेलमा काठमाडौं महानगरको छापा, कारखाना र कार्यालयमा ताला

 |  आइतबार, असार २, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, असार २, २०८१

काठमाडौं- श्रीकेश तेलको उत्पादक सप्तऋषि आयुर्वेद कम्पनीमा काठमाडौं महानगरपालिकाले छापा हानेको छ। आइतबार महानगरको टोलीले मध्य बानेश्वरस्थित कम्पनीको कार्यालय र कारखानामा छापा मारेको हो।

National life

श्रीकेश तेलबारे सञ्चारमाध्यम, सामाजिक सञ्जाल र व्यक्तिगत रुपमा समेत गुनासो आएपछि अनुगमन गरिएको महानगरले जनाएको छ।

अनुगमनपछि कार्यालय र कारखाना बन्द गरिएको छ र महानगरले कम्पनीलाई तीन दिनभित्र स्पष्टीकरणसहित महानगरमा उपस्थित हुन समय दिएको छ। वडाध्यक्षको रोहबरमा कम्पनी आफैंले कारखानामा ताला लगाएको हो। मापदण्ड अनुसार नचलेको हुनाले ताला लगाउनु परेको हो।

महानगरको निरीक्षण टोलीले ल्याब परीक्षणका लागि तेलको नमुना पनि लगेको छ। नमुना परीक्षणबाट प्राप्त रिपोर्टका आधारमा अनुसन्धान गरी कारबाही प्रक्रिया अगाडि बढाइने महानगरको भनाइ छ। रिपोर्ट नआउन्जेल तेल बिक्रीवितरण र प्रचारप्रसारमा रोक लगाइएको छ।  

कपाल झर्न रोक्ने र नयाँ पलाउने भन्दै प्रचार गरिएको श्रीकेश तेलको प्रचार सामग्री पनि काठमाडौं महानगरपालिकाले हटाएको छ। विज्ञापन मापदण्डविपरीत र वडा कार्यालयबाट लिएको स्वीकृतिभन्दा ठूलो बनाएर प्रचार गरेको भन्दै हटाइएको हो।

Laxmi sunrise bank
kumari


श्रीकेश तेल केही समयअघि आक्रामक मार्केटिङ गर्दै बजारमा प्रवेश गरेको थियो। कलाकारदेखि लिएर सामाजिक क्षेत्रमा राम्रो पहिचान बनाएका व्यक्तिहरुले पनि यो तेल इन्डोर्स गरेका छन्। आकर्षक प्याकेजिङका साथ बजारमा आएको यो तेलले छोटो समयमै बजारमा हल्लाखल्ला मच्चाएको थियो।

तर यो चमकधमक धेरै समय टिकेन। कपाल नझर्ने, झरेको भए उम्रिने, फुलेको भए कालो हुने, चाया हटाउने आदि अनेक दाबी गरिएको यो तेल महँगोमा किनेका प्रयोगकर्ता अहिले पछुताइरहेका छन्। किनकी दाबी गरिएअनुसार यसले काम गरेन। 

उत्पादक कम्पनीले श्रीकेश तेल ल्याब परीक्षणबाट प्रमाणित भएको दाबी गर्दै आएको छ। अझ चाखलाग्दो कुरा त कपाल उम्रिने लगायत ५ वटा दाबी गरेर चर्को मूल्यमा बिक्री भइरहेको तेलको गुणस्तर पानी जाँच गर्ने ल्याबमा हुँदो रहेछ। रातोपुलमा रहेको वाटर इन्जिनियरिङ एन्ड ट्रेनिङ सेन्टर नामको निजी ल्याबमा यो तेलको परीक्षण गरिएको कम्पनीले नै जानकारी दिएको छ। कपालमा लगाउने तेलको परीक्षण पानीको प्यारामिटरमा गरिएको छ।

यसैगरी तीन वटा सरकारी निकायबाट प्राप्त व्यापार अनुमतिपत्रमा कतै खुद्रा सामान बेच्ने भनिएको छ त कतै प्याकेजिङ गर्ने भनिएको छ त कतै अर्कै कुरा लेखिएको छ।

कम्पनीले आफ्नो विज्ञापनमा भनेजस्तो विभिन्न जिल्लाबाट जडिबुटी संकलन गरी काठमाडौंमा ल्याएर प्रशोधन गरी तेल उत्पादन गर्ने कुरा कतै लेखिएको छैन। आक्रामक विज्ञापनका कारण तेल खरिद गरेका उपभोक्ता भन्न थालेका छन् - यो त नक्कली परेछ। कपाल उम्रिएको, कालो भएको कसैले बताएका छैनन्। यही तेलको विज्ञापन गरेका एक कमेडियनले त झन् कपाल प्रत्यारोपण नै गरेको भिडियो सार्वजनिक गरेका छन्। श्रीकेशले कपाल उमार्ने भए उनले लाखौं खर्च गरेर प्रत्यारोपण गर्ने थिएनन् होला।  

तेल उत्पादक कम्पनी सप्तऋषि आयुर्वेदले श्रीकेश तेल ३२ वटा जडीबुटी प्रयोग गरेर बनाइएको दाबी गरेको छ र ४१० एमएल तेलको मूल्य ३ हजार रुपैयाँ राखेको छ। पूर्व युवराज्ञी हिमानी शाह, सिनियर कलाकारदेखि पूर्व राष्ट्रपति हुँदै प्रधानमन्त्रीसम्मको हातमा देखिएको यो तेल सम्बन्धित निकायबाट उत्पादन अनुमति समेत नलिई विक्री भइरहेको पाइएको छ। स्रोतका अनुसार तुल उत्पादक सप्तऋषि आयुर्वेद औषधी व्यवस्था विभाग र आयुर्वेद विभागमा दर्ता नै छैन।

आयुर्वेद चिकित्सा परिषद् ऐन २०४५ (तेस्रो संशोधन २०७४) अनुसार आयुर्वेद चिकित्सा व्यवसाय दर्ता नभएका चिकित्सकले मात्र गर्न पाउँछन्। सप्तऋषि आयुर्वेदका सञ्चालक टीका बुढाथोकी चिकित्सक होइनन्। तर, उनले आयुर्वेद चिकित्साको उत्पादन भन्दै श्रीकेश तेल बिक्री गर्दै आइरहेका छन्। यो तेल खरिद गर्दा ग्राहकले भ्याट बिल समेत पाउँदैनन्। विभिन्न कम्पनीको नाममा प्यान बिल दिइन्छ। यस्ता थुप्रै कैफियतबारे बल्ल काठमाडौं महानगरपालिका र अन्य नियामक निकायले पनि सक्रियता देखाएका छन्। 

प्रकाशित: Jun 16, 2024| 20:44 आइतबार, असार २, २०८१
प्रतिक्रिया दिनुहोस्