सोमबार, चैत २, २०८२

‘हनिमुन’मै हिरो बने इमरान

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
Laxmi sunrise bank
kumari
राजधानी इस्लामाबादस्थित ‘ऐवन ए सद्र’ मा राजकीय धुन ‘कोमी तराना’ सँगै कुरान साक्षी राखेर प्रधानमन्त्रीको शपथ खाँदै गर्दा पूर्व क्रिकेटर इमरान खानको अगाडि मुलुकलाई नयाँँ सञ्जीवनी प्रदान गर्नुपर्ने अनेकौं चुनौती थिए। उनले ती चुनौती सामना गर्न समस्याहरूलाई मुख्य ६ भागमा छुट्याएका थिए। उनका प्रमुख सुधारका क्षेत्र शासकीय ढाँचा, राष्ट्रिय एकता, आर्थिक वृद्धि, कृषि, जलसम्पदा संरक्षण तथा सामाजिक सेवा थिए। पाकिस्तानको प्रतिरक्षा क्षमतालाई थप बलियो बनाउने उनको अर्को महत्त्वपूर्ण सुधारको विषय थियो। 

यसका अतिरिक्त केही गरिब लक्षित कार्यक्रम, सरकारी सेवामा उल्लेख्य परिवर्तन, संघीय क्षमताको अभिवृद्धि, अन्तर्राष्ट्रिय जगत्मा पाकिस्तानको छवि सुधारलगायत पाकिस्तानको प्रगतिका लागि केही राजनीतिक तथा आर्थिक दिशानिर्देश पनि समावेश गरिएको थियो। उल्लिखित रणनीतिक अवधारणा कार्यान्वयन गर्न ३५ वटा संकल्पसमेत लिइएको थियो।     
 
इमरानले निर्धारित लक्ष्य हासिल गर्न आवश्यक कानुनी प्रावधानको समेत व्यवस्था गर्दै गए। उदाहरणका लागि उनले निजामती सेवा प्रक्रिया संशोधन विधेयक, कानुनी सहायता तथा न्यायिक प्राधिकार विधेयक, आपसी कानुनी सहायता विधेयक, सम्पत्तिमा महिलाको अधिकार कार्यान्वयन विधेयक, सेवासम्बन्धी कानुनी अप्ठ्याराहरूलाई नियमन गर्न सेवा नियमकारी निकाय संशोधन विधेयक, प्रशासनसम्बन्धी विधेयक तथा सूचनाको हकसम्बन्धी विधेयक संघीय सदनबाट पारित गराए। साथै, कानुनी सुधार कार्यक्रम विधेयक छिट्टै सदनमा पेस हुँदैछ ।
 
इमरान खानले गत सय दिनमा गरेको कार्यको पाकिस्तानमा मात्र होइन, संसारभरि चर्चा भइरहेको छ। इमरान खानले प्रतिबद्धता गरेका ३४ ओटा परियोजनामध्ये १८ वटा पूरा भइसकेका छन्। बाँकी १६ ओटा परियोजना पनि द्रुत गतिमा अघि बढिरहेका छन्। उनको कार्य गर्ने तरिका र तत्परताले पाकिस्तानमा आशाको सञ्चार गरिरहेको छ।

दक्षिण एसियाली भूखण्ड जातिवाद, धार्मिक अतिवाद र सामाजिक अराजकताले गाँजेको क्षेत्र हो। यहाँको राजनीतिमा खानदान र परिवारवादको वर्चस्व रहिआएको छ। पाकिस्तानमा भुट्टो, भारतमा नेहरू-गान्धी, श्रीलंकामा बन्दरानायके, नेपालमा कोइराला परिवारको राजनीतिमा हाबी छ। यहाँको राजनीतिमा वैकल्पिक बाटो देखापरेमा त्यसको तरङ्गले समाजलाई बिस्तारै आशाको किरण देखाउनेछ। पकिस्तानबाट यसको सानो अभ्यास सुरु हुन थालेको भान हुँदैछ।  यसले नागरिक राष्ट्रवाद र कानुनी राज्यको स्थापनामा आशाको सञ्चार गर्दैछ।  

नागरिक राजनीतिमा सैन्य हस्तक्षेप, सामाजिक जीवनमा स्थानीय जनजीवनको विस्थापन एवं सांस्कृतिक क्षेत्रमा धार्मिक अतिवाद जस्ता विकृतिले पाकिस्तानलाई थिलोथिलो बनाएको छ।

पाकिस्तानलगायत दक्षिण एसियाली क्षेत्रमा गरिबी जीवित रहनुमा असक्षम, भ्रष्ट र असामाजिक राजनीतिक नेतृत्वको चरित्र जिम्मेवार रहँदै आएको छ। नेतृत्वमा नवीन कल्पनाशीलता, इमानदारी तथा क्षमता अभावले गर्दा उनीहरूले कुनै परिणाममुखी काम गर्न सक्तैनन्। जसले गर्दा उनीहरूले आफ्ना कार्यकर्तालाई पनि राजनीतिक अपराधमा संलग्न गराउने आफ्नो शक्तिको साधन मात्र बनाउँदै आएका छन्।     

सर्वसाधारणमा राजनीतिक चेतना फैलाउन आम सघाउनुपर्ने राजनीतिक कार्यकर्ता अपराधमा संलग्न हुन थालेपछि राजनीतिक दल समाजसेवी संस्था बन्दैन। बरु आपराधिक र अराजनीतिक झुण्डमात्र बन्छ। त्यसले राजनीतिक दल तथा राजनीतिज्ञप्रति नै समाजमा नकारात्मक भावनाको विकास गरिदिन्छ। पाकिस्तानमा धेरै लामो समयदेखि राजनीतिमा धर्मान्धता र अपराधको प्रभाव रहँदै आएको छ। जसले समाजमा भय र त्रासको वातावरण सिर्जना गरिरहेको हुन्छ। 
                                                                                                 
लोकतन्त्रमा जनताप्रति दलहरू जबाफदेही भएनन् भने जनता आफैं जबाफदेही बन्छन् र दलहरूलाई राजकाजको जिम्मेवारीबाट अपदस्त गरिदिन्छन। पाकिस्तानको राजनीतिमा इमरान खान उदयको सन्दर्भमा पनि यही कुरा लागू हुन पुग्यो। पाकिस्तानमा सम्पन्न गत निर्वाचनमा इमरानको पार्टी तारिक-ए-इन्साफले बहुमत प्राप्त गर्‍यो। खासगरी लोकतन्त्रप्रति वलियो इच्छाशक्ति भएका इमरान खान पाकिस्तानको राजनीतिमा एउटा विश्वास र विकल्प दिन सक्ने नेतृत्वका रुपमा उदाएको मानिएको छ। 

हुन त इमरान खान पनि सन् १९९७ देखि निरन्तर पाकिस्तानी समाज र राजनीतिमा संघर्ष गरेका व्यक्ति हुन्। तर राजनीतिमा धेरै उतारचढाव र अपजस भोग्दै आएका खानलाई क्रिकेटमा जस्तो सफलता मिलेको थिएन। खानको राजनीतिक जीवनमा त्यस्तो समय पनि थियो, जतिबेला उनको पार्टीले सदनमा एउटा सिटमा पनि विजय प्राप्त गर्न सकेन। उनी पाकिस्तानको राजनीतिमा उपहासको पात्र समेत बन्नु पर्‍यो। तर उनले हार मानेनन्। निरन्तर लागिरहे। पाकिस्तानको राजनीतिमा नयाँपन र जिम्मेवार नेतृत्व स्थापित गर्न पाकिस्तानका प्रधानमन्त्रीको रुपमा उनी निरन्तर लागिरहेका छन्। उनको कार्यकालमा पाकिस्तानमा एउटा उत्साह जागिरहेको देखिन्छ। 

दलभित्रको राजनीतिक वातावरणलाई लोकतान्त्रिक बनाउन र कमीकमजोरी हटाउन उनी निरन्तर प्रयत्न गरिरहन्थे। सक्षम र इमानदार व्यक्तिहरूलाई छानेर दलभित्रका विभिन्न जिम्मेवारी दिन्थे। कामको आवधिक मूल्याङ्कन गरिरहन्थे र नतिजा निकाल्ने उद्देश्यअनुरुप काम गर्थे। जसले गर्दा जिम्मेवारीमा रहेका हरेक पात्रले पनि अब्बल नतिजा प्राप्त गर्दै गए। सन् २०१३ को आमनिर्वाचनमा उनको दलले तेस्रो स्थान प्राप्त गर्न सफल भएको थियो। तर हालै भएको आमनिर्वाचनमा सबै दललाई पराजित गरेर खानको दल पहिलो बन्न पुग्यो। 

नवाज सरिफ र उनको परिवार भ्रष्टाचार मुद्दामा जेल चलान भएपछि सरिफको पार्टीलाई जनताले पराजित गरेका हुन्। पाकिस्तानको राजनीतिमा भ्रष्टाचार एउटा महामारी रोगकै रुपमा रहेको छ। यसले कैयौं राजनीतिक विकृति मात्र होइन, पाकिस्तानको राजनीतिक इतिहासमा ठूल्ठूला राजनीतिक हत्यासमेत निम्त्याएको छ। 

सन् १९९२ को विश्व कप क्रिकेट पाकिस्तानले जित्यो। त्यसबेला इमरान खान पाकिस्तानी टिमका कप्तान थिए। व्यक्तिगत रुपमा पनि खान एक सफल व्यक्ति मानिन्छन्। पाकिस्तान, पाकिस्तानी समाज र बाँकी विश्वसँग आफ्नो स्थितिबारेमा उनको सुझबुझ उच्च स्तरको मानिन्छ। आफ्नो उद्देश्यप्रति दृढ र निरन्तर प्रयत्न गर्ने व्यक्तिका रुपमा उनको राजनीतिक परिचय स्थापित छ। 

पाकिस्तानी समाजका अप्ठ्यारा पन्छाउन उनले केही महत्त्वपूर्ण सामाजिक कार्यहरू गरे। क्यान्सर उपचार केन्द्र  स्थापनाका लागि पाकिस्तानका केही सहयोगी व्यक्ति एवं संस्थाका माध्यमबाट आर्थिक संकलनको पहल गरे। उनको पहल र नेतृत्वमा पाकिस्तानमा एउटा प्रतिष्ठित क्यान्सर उपचार केन्द्र निर्माण गरे। यस प्रकारका अन्य सामाजिक कार्यहरूले इमरान खानको आत्मबल र उनीप्रतिको जनविश्वास पनि बढ्दै गयो। 

दिगो सामाजिक रुपान्तरण वैकल्पिक राजनीतिक अभियानले तयार पार्ने हो। सामाजिक परिवर्तन वा क्रान्ति भन्नासाथ सधैं रक्तपातपूण हुन्छ भन्ने बुझाइ गलत हो। उच्च मानवीय चेतनाले नै दिगो सामाजिक रुपान्तरणको आधार तयार पार्छ। लेकतन्त्रको संस्थागत विकासमा निकै चुनौती र अवरोध बेहोर्दै आएको पाकिस्तानले इमरान खानको नेतृत्वमा लोकतन्त्रको जग बलियो बनाउने अपेक्षा राखिएको छ। इमरानले यस्तो अपेक्षा छोटो अन्तरालमा नै आशावादी बनाएका छन्।  
पाकिस्तानी समाजका अप्ठ्यारा पन्छाउन उनले केही महत्त्वपूर्ण सामाजिक कार्यहरू गरे। क्यान्सर उपचार केन्द्र  स्थापनाका लागि पाकिस्तानका केही सहयोगी व्यक्ति एवं संस्थाका माध्यमबाट आर्थिक संकलनको पहल गरे। उनको पहल र नेतृत्वमा पाकिस्तानमा एउटा प्रतिष्ठित क्यान्सर उपचार केन्द्र निर्माण गरे।

हाम्रो लोकतन्त्रको अभ्यास र भ्रष्टाचारको स्थिति पनि पाकिस्तानको भन्दा धेरै भिन्न छैन। विकास र समृद्धिको नाममा बनाइएका परीयोजनामा लाख होइन, अर्बौको भ्रष्टाचार भएका छन्। बेरोजगारीले निम्त्याएको युवा पलायन, पछौटे र गरिबी तथा नीतिगत भ्रष्टाचारले गाँजेको हाम्रोजस्तो मुलुकमा पनि सक्षम र इमानदारको राजनीतिक नेतृत्वको खडेरी देखिन्छ। इमरान खानबाट नेताहरूले धेरै कुराहरू सिक्न सक्छन्। यसर्थ पाकिस्तानको राजनीतिमा इमरान खानको उदयले नेपाललाई पनि सकारात्मक परिवर्तनप्रति केही आशावादी बनाएको छ।

राजनीतिमा युग अनुकूल विकल्प दिन नसक्ने दलहरू असान्दर्भिक बनेर जान्छन्। एउटा कालमा राणा शासनको अन्त्य गर्ने सोच वैकल्पिक राजनीतिक सोच थियो। त्यस्तै निरंकुश पञ्चायती व्यवस्था हटाउने सोच पनि तत्कालीन अवस्थामा वैकल्पिक सोच थियो। संवैधानिक राजतन्त्रअन्तर्गतको बहुदलीय व्यवस्थाले पनि नागरिकको अपेक्षा पूरा गर्न नसकेपछि अर्को वैकल्पिक सोच जन्मियो र मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो। 

राजनीतिमा विकल्पको सम्भावना सधैं रहन्छ। राम्रो विकल्प वा नराम्रो भन्ने मात्र हो। सर्त यत्ति हो, विकल्प सधैं अग्रगामी हुनुपर्छ। आज यसै पनि कवि पूर्ण विरामले भनेजस्तै ‘हिजोको यथावत् र आजको यथावत्मा कुनै भिन्नता’ भेटिन छोडेको छ।

यो पनि पढ्नुहोस्
'नट-आउट' इमरानको सय दिनको विस्फोटक ब्याटिङ
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।