काठमाडौं- सेयर बजार सुधार प्रयासलाई अर्थमन्त्री डा. युवराज खतिवडाका ज्वाइँ रामशरण खरेलले भाँडेको पाइएको छ।
पुँजी बजारको नीतिगत सुधार माग गर्दै आन्दोलनरत पक्ष र अर्थ मन्त्रालयबीच गत शुक्रबारको वार्ता खरेलकै कारण भाँडिएपछि आन्दोलनरत पक्षले गत सोमबारदेखि आमरण अनशन थालेको थियो । नेपाल राष्ट्र बैंकका निर्देशक खरेल अर्थ मन्त्रालयका सल्लाहकारसमेत हुन् ।
मन्त्रालयमा दुई पक्षबीच वार्ता भइरहेका बेला मन्त्रीका ज्वाइँ खरेलले आन्दोनरत पक्षलाई उनीहरूले उठाएका माग पूरा गर्न नसकिने भन्दै हप्काएका थिए । वार्ता निष्कर्षमा पुर्याउन तयार रहेका अर्थ सचिव डा. राजन खनाल, अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलगातका उच्च अधिकारी खरेलको गतिविधि देखेपछि केही नबोली त्यहाँबाट बाहिरिएका थिए । खरेलले आन्दोलनकारी पक्षलाई वार्ता गर्न राष्ट्र बैंकमा पठाएका थिए ।
आन्दोलकारी पक्ष त्यहाँ पुगे पनि वार्ता हुन सकेन । अर्थमन्त्रीका ज्वाइँ वार्ता भाँड्न अग्रसर रहेको भन्दे लगानीकर्ता आक्रोशित बनेका छन् । लगानीकर्ता आमरण अनशनमा बसेको बुधबार चार दिन बितेको छ । यसबीचमा आन्दोलनकारी र मन्त्रालयबीच संवाद हुन सकेको छैन ।
अर्थ मन्त्रालयको आर्थिक सल्लाहकार बनेपछि खरेल मन्त्री खतिवडाको भूमिका खम्च्याउने गरी हाबी भएका छन् । ‘खरेलको दबदबापछि मन्त्रालयका कतिपय नीतिगत सुधार र नयाँ काम अगाडि बढाउन सेकेका छैनौं’, मन्त्रालयका एक उच्च अधिकारीले नेपाल समयसँग भने ।
पुँजी बजारको नीतिगत सुधार माग गर्दै लामो समयदेखि आन्दोलनरत लगानीकर्ताले मंसिर २४ देखि रिले अनशन सुरु गरेका थिए । अर्थतन्त्रको ऐना मानिने सेयर बजार मजबुत बनाउनुपर्ने, अनलाइनबाट पूर्ण रूपमा कारोबार सुरु गर्नुपर्ने, बैंक खाता र डिम्याट समायोजन गरी सीधै बैंकमा रहेको रकमबाट ब्रोकर विना सेयर किन्न र बेच्न पाउनुपर्नेलगायतका १४ बुँदे माग राखी पुस २ गतेदेखि सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकाल र तिलक कोइराला आमरण अनशनमा छन् ।
नेपालको सेयर बजारमा १५ लाख बढी लगानीकर्ता छन् । कम्युनिस्ट सरकारले पुँजी बजारमा लगानी गर्न भनेको अनुत्पादक क्षेत्रमा पैसा लगानी गर्नु हो भन्दै बैंक तथा वित्तीय सस्थालाई कर्जा प्रवाहमा रोक लगाएको छ । एक अर्ब रुपैयाँभन्दा बढी पुँजी भएका कम्पनीले साधारण सेयर निष्कासन गर्नुपर्ने सरकारी प्रवाधानले पुँजी बजार बढे पनि स्थायित्व पाउन सकेको छैन ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४