बुधबार, पुस ९, २०८२

जथाभावी पार्किङले पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त

 |  बुधबार, जेठ ३०, २०८१

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३०, २०८१

गण्डकी- जथाभावी सवारीसाधन पार्किङ र यात्रु चढाउने/ओराल्ने गर्दा पोखराको पृथ्वीचोक क्षेत्र पुनः अस्तव्यस्त बनेको छ। गत साउनदेखि पृथ्वीचोक-सेतीपुल सडकको दुवैतर्फ पार्किङ निषेध गरिएकामा वर्षदिन नपुग्दै उक्त नियम उल्लंघन भएको हो।

National life

पर्यटकीय राजधानीसमेत रहेको पोखराको अतिव्यवस्त पृथ्वीचोकलाई व्यवस्थित बनाउन जिल्ला सुरक्षा समितिको बैठकले पार्किङ निषेधको घोषणा गरेको थियो। पार्किङ हटेपछि केही समय सो क्षेत्र शान्त र खुला देखिएको थियो।

लामो दुरीका सवारीसाधन पृथ्वीचोकको भित्रपट्टि रहेको बसपार्कबाट छु्ट्न थालेका थिए। नगर बसलगायत छोटो दुरीका सवारीसाधनले पनि धेरैबेर नरोकी तोकेको स्थानमा यात्रु चढाउने र ओराल्ने गर्थे। पैदल यात्रुलाई पनि आउजाउ गर्न सहज बनेको थियो। तर अहिले हिजोकै अवस्थामा पृथ्वीचोक पुगेको छ।

काठमाडौंलगायत लामो दुरीमा चल्ने बसले पनि सडक किनाराबाटै यात्रु चढाउन थालेका छन्। बसपार्क हुँदाहुँदै सडकबाटै यात्रु चढाउने र ओराल्ने गर्दा सवारी जामको समस्या देखिन थालेको छ।

माइक्रो, ट्याक्सीलगायत सवारीसाधन लामो समय रोकिराख्दा पृथ्वीचोक दुवैतर्फको सडक अस्तव्यस्त बनेको छ। ट्राफिक प्रहरीले पनि सवारीसाधन व्यवस्थानमा कडाइ गर्न छाडेको छ।

Laxmi sunrise bank
kumari

पोखराबाट देशका विभिन्न ठाउँमा पुग्ने सवारीसाधन पृथ्वीचोकबाटै छुटने र मृख्य राजमार्ग पनि भएकाले त्यहाँ सवारीसाधनको अत्यधिक चाप हुने गर्छ। बसपार्क, होटल, वित्तिय संस्था, अस्पताल तरकारी बजार, मासु पसललगायत व्यवसाय तथा सरकारी सेवा दिने यातायात व्यवस्था कार्यालयलगायत अड्डा पनि सोही क्षेत्रमा रहेकाले पृथ्वीचोकमा मानिसको भीडभाड भइरहन्छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका वरिष्ठ प्रहरी हवल्दार आशिष क्षेत्रीले सवारीसाधनको बढ्दो चापका कारण पोखरामा पार्किङको समस्या देखिएको बताए। 'पृथ्वीचोक क्षेत्रमा अहिले पनि पार्किङ त निषेध नै छ, यात्रु चढाउने र ओराल्न मात्र दिने गरेका छौँ', उनले भने, 'सबैतिरका गाडी पृथ्वीचोक भएर गुड्ने भएकाले ट्राफिक व्यवस्थापन चुनौती भने छ, यसमा यातायात व्यवसायी र स्थानीयवासीको साथ चाहिन्छ।'

सडक फराकिलो र व्यवस्थित बनाउन पोखरा महानगरपालिकाले सो क्षेत्रमा रहेका अस्थायी संरचनासमेत हटाएको थियो। जीर्ण अवस्थामा रहेको बसपार्कको मर्मतसुधारको काम महानगर र प्रदेश सरकारले मिलेर गरेका थिए। यातायात व्यवसायीहरुले बसपार्क व्यवस्थित नहुँदा पार्किङको समस्या भइरहेको बताउँदै आएका छन्।

पोखरा ४८ वर्षदेखि आधुनिक र व्यवस्थित बसपार्कको पखाईमा छ। बसपार्क बनाउन विसं २०३२ मा अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा परेर खुम्चदै गएको छ। गण्डकी प्रदेशको राजधानीसमेत रहेको पोखरामा स्तरीय बसपार्क बन्नुपर्ने माग पहिलेदेखि नै हुँदै आएको छ। 

पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका अनुसार पोखरासँग ६३ जिल्लाको यातायात सञ्जाल जोडिएको छ। बसपार्कमा ढलान, पार्किङ ट्रयाक, यात्रु विश्राम कक्ष, शौचालय, खानेपानीलगायत पूर्वाधारको खाँचो रहेको छ। बसपार्क व्यवस्थित नहुँदा गाडीले राजमार्ग छेउछाउबाटै यात्रु चढाउने र ओराल्ने गर्छन्। टिकट काउण्टर पनि सडक किनारमा छन्। रासस

प्रकाशित: Jun 12, 2024| 19:01 बुधबार, जेठ ३०, २०८१
प्रतिक्रिया दिनुहोस्