बुधबार, पुस ९, २०८२
  • गृहपृष्ठ
  • समाचार
  • हात्तीलेटका बासिन्दाले मध्यरातमा गाग्री बोकेर हिँड्नुपर्दैन अब

हात्तीलेटका बासिन्दाले मध्यरातमा गाग्री बोकेर हिँड्नुपर्दैन अब

 |  मंगलबार, जेठ २९, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २९, २०८१

महोत्तरी- महोत्तरीको बर्दिवास-८ हात्तीलेटका बासिन्दाले खानेपानीको संकट झेल्नु नपर्ने भएको छ। त्यहाँ खानेपानी संकलन गर्न ट्यांकी निर्माण भइसकेको छ।

National life

साथै पानी वितरणका लागि पाइप ओछ्याइन थालिएपछि यहाँका बासिन्दामा खानेपानीको संकट समाधान हुन लागेको हो। बस्तीमा सरकारको तराई मधेस खानेपानी योजनाअन्तर्गत एक करोड ५० लाख रूपैयाँको अनुदान सहयोगमा ‘ओभरहेड ट्यांकी’ निर्माण भएको हो।

'अब खानेपानी पाइने आशा जागेको छ', हात्तीलेटको सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हरि रानाले भने, 'अब खानेपानीका लागि संकट झेल्नु पर्दैन।'

योजनाको ओभरहेड, कार्यालय भवन, चौतर्फी पर्खाल र बोरिङ जडानलगायतका काम सम्पन्न भएपछि अहिले धमाधम पाइप ओछ्याउने र धारा जडानको काम थालिएको अध्यक्ष रानाले बताए। पाइप ओछ्याउने र धारा जडानसहितका काममा मधेस सरकार र बर्दिबास नगरपालिकाको साथ संस्थाले पाएको छ।

योजनाको पाँच सय घरमा धारा पुर्याउने लक्ष छ। यसअनुसार अघि बढेको काममा अब आउने असार दोस्रो साताभित्रै तीन सय ५० घरका धारामा पानी झर्ने संस्थाले जनाएको छ। योजनाअन्तर्गत चार किलोमिटरभन्दा बढी पाइप ओछ्याइसकिएको रानाले जानकारी दिए अहिले विद्युत् र धारा जडानको काम धमाधम भइरहेको छ। चालु आर्थिक वर्षको अन्त्यसम्म पाँच सय घरमै धारा जडान र पानी आपूर्ति गरिने लक्ष्यका साथ काम भइरहेको अध्यक्ष रानाले बताए।

Laxmi sunrise bank
kumari

नगरक्षेत्रमा खानेपानीको संकट झेल्नुपरेका बेला हात्तीलेटको कामले अन्य ठाउँका लागि सिकाइ हुने बर्दिवास नगरप्रमुख प्रल्हदकुमार क्षेत्री बताउँछन्। 'हामी (नगरपालिका) नगरक्षेत्रका घरघरै धारा जडान गर्ने अभियानमा छौँ, ‘एक घर एक धारा’ हाम्रो अभियानको नारा हो', नगरप्रमुख क्षेत्री भन्छन्, 'सबै नगरवासीले स्वच्छ खानेपानी सहज रूपमा पाउने व्यवस्थाका लागि हामी प्रतिबद्ध भएर काममा लागेका छौँ।'

जिल्लामा पानीका स्रोतका मुहान धमाधम सुक्दैछन्। यसरी जमिनमुनिको पानीको सतह गहिरिँदै जाँदा कैयन इनार र बोरिङ एकपछि अर्को सुक्दै जाँदा पछिल्लो दशकमा हात्तीलेटवासीले खानेपानी जुटाउन निकै सास्ती व्यहोर्दै आएका छन्।

यो अभावका बीच ५० घनमिटर क्षमताको ओभरहेड ट्यांकी निर्माणले हात्तीलेटवासीमा पानीको संकट टर्ने नयाँ आशा पलाएको बर्दिबास-८ का वडाध्यक्ष शमशेरसिंह लामा बताउँछन्।

पानीका लागि ६०-७० फिट गहिरो इनारबाट पालो पर्खेर पानी तान्नुपरेको विद्यमान दुःख अन्त्य हुने जनाइएको छ। धनमाया बलम्पाकीले भनिन्, 'अब भने नयाँ धारा चलेपछि मध्यरातमै डोल, गाग्री बोकेर इनारतिर जानु पर्दैन। '

योजनाबाट दुई हजारभन्दा बढी यहाँका बासिन्दा लाभान्वित हुने सतखोली खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था हात्तीलेटले जनाएको छ। रासस

प्रकाशित: Jun 11, 2024| 20:31 मंगलबार, जेठ २९, २०८१
प्रतिक्रिया दिनुहोस्