काठमाडौं– जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्थ ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्ने चेतावनी दिएका छन्।
काठमाडौंमा शनिबार आयोजित आफू पक्षीय बागमती प्रदेशका अगुवा कार्यकर्ता भेलामा नेता महतोले त्यसका लागि तयार रहन पहाड र हिमालका पार्टी नेता, कार्यकर्तालाई पनि आह्वान गरे। उनले भने, ‘बहुल राष्ट्रिय राज्य स्थापनाका लागि लडाइँ लड्ने हो। यो देशमा एउटै मात्र काम बाँकी छ, बहुल राष्ट्रिय राज्य स्थापना गर्ने। त्यसैका लागि हाम्रो पार्टीको जन्म भएको हो। त्यसका लागि तराई र मधेस तयार छ। पहाड र हिमालका जनतापनि तयार हुनुप¥यो।’
नेता महन्थ ठाकुरले सांसद रमेश चौधरीलगायतका मधेस आन्दोलनका क्रममा बन्दी बनेका, झूटा आरोप लागेका नेता, कार्यकर्ताहरुको तत्काल रिहाइ नगरे सरकारविरुद्ध कडा आन्दोलनमा जान बाध्य हुने चेतावनी दिए। उनले लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न पनि सरकारसँग माग गरे।
अर्का नेता शरदसिंह भण्डारीले वर्तमान सरकार आफूहरुको माग सम्बोधन गर्न गम्भीर नभएको आरोप लगाए। उनले मन्त्रिपरिषदलई पूर्णता दिन नसक्ने वर्तमान सरकारले आफूहरुको माग सम्बोधन गर्ला भन्ने आशा नगरेको पनि बताए।
नेता भण्डारीले आफूहरुले राज्यसँग मधेस आन्दोलनको पीडाबाट आफ्ना पार्टीका नेताकार्यकर्ताहरुलाई उन्मुक्ति दिन माग गरिरहेको स्पष्ट पारे। उनले मधेस आन्दोलनका क्रममा लगाइएको झुटा मुद्दा फिर्ता लिने, बन्दी जीवन बिताइरहेका नेताकार्यकर्ताहरुको तत्काल रिहाई गर्न पनि सरकारसँग आग्रह गरे।