काठमाडाैं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक बिहीबार पनि बसिरहेकाे छ। राजनीतिक प्रतिवेदनमथिको छलफल लम्बिएकाले बैठक सकिन अझै केही दिन लाग्ने देखिएको छ ।
अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड”ले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि बिहीबार पनि सदस्यहरुले धारणा राख्दैछन् । पार्टी कार्यालय धुम्बाराहीमा जारी बैठकमा करिब आधा दर्जन सदस्यले धारणा राख्ने बताइएको छ। शनिबारबाट शुरु भएको ४५ सदस्यीय स्थायी समिति बैठकमा अहिलेसम्म २८ जनाले आफ्नो विचार राखिसकेको छन् ।
बुधबारको बैठकमा स्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ, रघुवीर महासेठ, भीमप्रसाद आचार्य, रघुजी पन्त, वर्षमान पुन, सुरेन्द्र पाण्डे, लेखराज भट्ट र पुष्प कँडेलले राजनीतिक प्रतिवेदनमाथि धारणा राखेका थिए । बुधबार बोल्ने केहि सदस्यहरुले सरकारको काम प्रभावकारी नभएको भन्दै मन्त्रिपरिषद् नै पुनरगठन गर्नु पर्ने बताएका थिए ।
उनीहरुले एक व्यक्ति एक पदको अवधारणा लागु गर्न दबाब समेत दिएका थिए । एउटै व्यक्ति प्रधानमन्त्री र पार्टी अध्यक्ष हुँदा दुबैतिरको प्रभावकारी बन्न नसकेको उनीहरुको भनाइ थियो । उनीहरुले घुमाउरो भाषमा ओलीले अध्यक्ष पद त्याग्नु पर्नेमा जोड दिएका थिए । मंगलबार बोल्न सदस्यहरुले पनि दुई अध्यक्ष हुँदा पार्टीको काम प्रभावकारी नबनेको भन्दै यसलाई सच्याउनु पर्ने बताएका थिए ।
अध्यक्षद्वयको प्रतिवेदनमा सरकारका उपलब्धि, पार्टीका काम, यसबीचमा सचिवालयबाट भएका निर्णय र जिल्ला तथा जनसङ्गठनको एकतालगायत विषय समावेश छन् । बैठकमा सचिवालय सदस्य वामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा पुरक प्रतिवेदन पेश गरेका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४