मंगलबार, वैशाख १, २०८३
  • गृहपृष्ठ
  • समाचार
  • ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने सडक स्तरोन्नति

ढोरपाटनको पाखुट्टेदेखि बायखोला-झिम्पा जोड्ने सडक स्तरोन्नति

 |  सोमबार, जेठ २८, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २८, २०८१

ढोरपाटन- निसीखोलामा पर्ने मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ। विसं २०७३ मा साविक तीन वटा गाउँविकास समितिबाट विनियोजित रकमबाट निर्माण गरिएको उक्त सडक स्तरोन्नति गरिएको हो।

National life

चालु आर्थिक वर्षमा सङ्घीय सरकारले विनियोजन गरेको रु ५० लाख र गण्डकी प्रदेश सरकारको रु ३० लाखले सडकको स्तरोन्नति भएको हो। लोकमार्गको वैकल्पिक सडकका रुपमा ढोरपाटन नगरपालिका- २ पाखुट्टेदेखि बायखोला-झिम्पा हुँदै निसी जोडिएको छ। करिब २५ किलोमिटर रहेको यस सडकले निसीखोला गाउँपालिका २, ४ र ५ लाई जोडेको छ।

वैकल्पिक निर्माणका लागि आठ वर्ष अगाडि निसी, बोहोरागाउँ र देवीस्थान गाउँ विकास समितिले रु दुई/दुई लाख, अर्थ मन्त्रालयबाट ४० लाख, डोलीडारबाट रु सात लाख, जिल्ला विकास समितिबाट रु आठ लाखका लागतमा सडकको ट्रयाक खोलेको निसीखोला गाउँपालिकाका पूर्वअध्यक्ष तारानाथ पौडेलले जानकारी दिए।

उनले भने, ‘यो सडकले यस क्षेत्रका नागरिकको जीवनस्तरनै परिवतन गरिदिएको छ।’ यसभन्दा अगाडि निसीखोलाका कमै मात्र ग्रामीण क्षेत्रमा सडक पुगेका थिए। वैकल्पिक सडक निसीखोलावासीको ‘लाइफ लाइन’का रुपमा रहेको उनी बताउँछन्।

पूर्व अध्यक्ष पौडेलले भने, ‘ट्र्याक खुलेको धेरै वर्षपछि सडकको स्तरोन्नति हुन थालेको छ, म गाउँपालिकाको अध्यक्ष हुने बेलादेखि नै पालिकाबाट बजेट विनियोजन गरेर सडक चौडा गर्ने, नाली निर्माण र ठाउँ-ठाउँमा कल्भर्ट बनाउने काम भएको थियो, कम बजेटका कारण त्यस बेला स्तरोन्नतिले पूर्णता पाएको थिएन, अहिले प्रदेश र केन्द्र सरकारको सानो बजेटले काम भएको छ, यो सडक पूर्णरुपमा स्तरोन्नति भयो भने निसीखोलाका नागरिकलाई यातायात र सामान ढुवानीमा सहज हुनेछ।’

kumari

सडक डिभिजन कार्यालय बागलुङका सूचना अधिकारी अमर अधिकारीले निर्माण कम्पनीले ९० प्रतिशत काम सकेको बताए।

खापुट्टेस्थित मध्यपहाडी लोकमार्गको पुलदेखि माथिल्लो क्षेत्रमा काम गरिरहेको उनको भनाइ छ। स्तरोन्नतिको जिम्मा पाएको सहस्रा कन्स्ट्रसन प्रालिले सडक फराकिलो बनाउने, ग्रेडिङ मिलाउने लगाएको काम गरेको उनले बताए। रु ५९ लाख १२ हजार तीन सय २६ का सम्झौता गरेको निर्माण कम्पनीले असार मसान्तसम्म काम सक्नुपर्ने अधिकारी बताउँछन्।

प्रकाशित: Jun 10, 2024| 10:55 सोमबार, जेठ २८, २०८१
प्रतिक्रिया दिनुहोस्