काठमाडौं- नेपाली कांग्रेसको प्रस्तावित विधान संशोधनलाई टुंगो लगाउन बुधबार बेलुका बोलाइएको बैठक पनि स्थगित भएको छ।
असन्तुष्ट पक्षका नेताहरुले मंगलबारको सहमति उल्ट्सयाउन खोजेको भन्दै बैठक बहिष्कार गरेपछि १० मिनेटमै बैठक स्थगित भएको छ। सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा सभापति शेरबहादुर देउवाले बैठक सुरु गरेपनि असन्तुष्ट पक्षका प्रकाशमान सिंह, कृष्ण सिटौला, अर्जुननरसिंह केसी, शेखर कोइराला, गुरुराज घिमिरेलगातका नेताहरु बैठकबाट बाहिरिएका थिए।
तर, वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला भने बैठकमा सहभागी भएका थिए। धेरै सदस्यहरु बैठकमा सहभागी नभएपछि बैठक १० मिनेटमै केन्द्रीय समिति बैठक स्थगित भएको हो।
असन्तुष्ट पक्षले मंगलबारको सहमति कार्यान्वयन हुनुपर्ने अडान लिएको छ भने संस्थापन पक्षले मंगबारको सहमतिलार्इ उल्ट्याउने प्रयास गरेको छ। मंगलबार बेलुका कांग्रेस शीर्ष नेताहरुबीच पार्टी पदाधिकारीको संख्या र चयन पद्धतिका विषयमा सहमति भएको थियो।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरूबीच मंगलबार साँझ भएको सहमतिअनुसार पदाधिकारी संख्या ८ राख्ने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुनुपर्ने प्रावधान राखिएको थियो। सहमतिमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुवै सहमहामन्त्री र एक कोषाध्यक्ष गरि ८ सदस्यीय पदाधिकारी हुने छन्।
यो पनि,
तर, बुधबार दिउँसोको केन्द्रीय समिति बैठकमा मंगलबारको सहमति समावेशी र समानुपातिक नभएको भन्दै चर्को विरोध गरेका थिए। यसरी विरोध गर्नेमा देउवापक्षका केन्द्रीय सदस्य थिए। विधान संशोधनमा फेरि किचलो सुरु भएपछि दिनभर सहमतिको प्रयास भएको थियो। यही क्रममा सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा गुटगत छलफलसमेत भएको थियो।
पार्टी नेता अर्जुननरसिंह केसीले मंगलबारको सहमति कार्यान्वयन गर्नुको विकल्प नभएको बताए। अर्का केन्द्रीय सदस्य मिन विश्वकर्माले मंगलबारको सहमति समावेशी र समानुपाति नभएकोले यसलाई परिमार्जन गर्नुपर्ने बताएका थिए।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४