सोमबार, असार २, २०८२

पानी परेपछि महोत्तरीका किसान उत्साहित

 |  शुक्रबार, जेठ २५, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ २५, २०८१

vianetvianet

महोत्तरी- पानी नपर्दा बाली लगाउन नपाएर निराश भएका यहाँका किसान पानी पर्न थालेपछि खुसी भएका छन्। जेठ चौँथो साता सुरु भएसँगै खेतबारीमा प्रशस्त चिस्यान हुनेगरी पानी परेपछि बाली लगाउन पाउने आशमा यहाँका किसान खुसी भएका हुन्। 

गत सोमबारयतादेखि दैनिकजसो परिरहेको पानीले खेतबारीमा प्रशस्त चिस्यान भएपछि बर्खे मकै छर्ने, कोदो र धानको ब्याड राख्ने तयारीमा यहाँका किसान व्यस्त देखिन्छन्। वैशाख मसान्तभित्रै बर्खे मकै, र कोदो र धानको ब्याड राख्नुपर्नेमा सिँचाइ सुविधा नहुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता थियो।

लगातारको चर्को घामले जमिन सुक्खा भएर फुट्न थालेकामा पछिल्लो वर्षाले ढिलै भए पनि बर्खेबाली लगाउन र धानको धुले ब्याड राख्न चिस्यान भएको बर्दिबास–६ का किसान विन्देश्वर यादवले बताए। 

‘बर्खे मकै छर्न र कोदोको ब्याड राख्न ढिलो भइसकेको छ। सिँचाइ अभाव हुँदा आकाशे पानीको भरमा बस्नुपर्ने बाध्यता छ’, उनले भने, ‘अहिले मौसमले साथ दिँदा मकै, कोदो केही ढिलो भए पनि लगाउन पाउने भएका छौँ।’ बर्खे धानलाई अब ब्याड राख्दा ढिलो हुने भन्दै यस वर्ष हिउँदे धानको ब्याड राख्न लागिएको उनको भनाइ छ।

‘चिस्यान नहुँदा धानको ब्याड राख्न सकिएको थिएन, पछिल्लो वर्षाले धुले ब्याड राख्न चिस्यान बनाएको छ। अब खेतीपातीका काम गर्न अनुकुलता होला भन्ने आश जाग्यो’, बलराम कार्कीले भने, ‘समय घर्की सकेकाले यसपालि धानको खरुअत रोप (कलम रोप, पहिलेको बीउ रोप गाँजिएपछि त्यही उखालेर रोप्ने) भने नभ्याइने भइयो।’

खरुअन साउने सङ्क्रान्तिमा रोपाइँ हुने भन्दै अहिलेको ब्याडबाट नभ्याइने किसान बताउँछन्। पछिल्लो वर्षाले यसअघिको घामले ओइल्याउँदै, सुक्दै गएका लहरे तरकारीलाई नयाँ पालुवा पलाउन मद्दत गरेको किसानको भनाइ छ। 

पर्याप्त चिस्यान भएपछि तरकारीका बोट हरियाली देखिन थालेका भङ्गाहा–४ का किसान शिवलाल ठाकुरले बताउनुभयो। वर्षाले वातावरण शीतल बनाएपछि काममा निस्कन अनुकुल बनेको उनको भनाइ छ।

जिल्लामा ७० हजार हेक्टर खेतीयोग्य जग्गामध्ये १० प्रतिशतमा मात्र कुलो, नहरसँगै सिँचाइको सुविधा पुगेको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ। जिल्लाका अधिकांश जग्गा आकाशे पानीको भरमा खेती गर्नुपर्ने बाध्यता छ। पछिल्ला केही वर्षयता स्यालो ट्युवेल, इनारबाट वैकल्पिक सिँचाइ गर्न सकिने भएकाले खेतीपाती गर्न सहज भएको रामदयाल बाँतरले बताए।

वातावरण शीतल बन्दै गएपछि काममा जान सजिलो हुँदै गएको दैनिक ज्यालादारी/श्रम गरेर जीविकोपार्जन गरिरहेका श्रमिक बताउँछन्।

प्रकाशित: Jun 07, 2024| 14:19 शुक्रबार, जेठ २५, २०८१
प्रतिक्रिया दिनुहोस्