सोमबार, भदौ ३०, २०८२

सरकारी स्कुलको यो हविगत: चुहिने छानामुनि पढ्छन् विद्यार्थी

 |  बिहीबार, जेठ २४, २०८१

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ २४, २०८१

vianetvianet

बागलुङ– उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो। घामपानी र हावाहुरी नछेक्ने टहरो। हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका। 

Kumaribank

निसीखोला गाउँपालिका–६ निसेलढोरस्थित कुँडेढोर प्राथमिक विद्यालयका विद्यार्थीहरू यस्तै जीर्ण भवनमा पढ्न बाध्य छन्। २०६४ मा स्थापना भएको विद्यालयको हालसम्म भरपर्दो भवन बनेको छैन। ५२ जना विद्यार्थी अध्ययनरत विद्यालयमा शैक्षिक सामग्रीदेखि आधारभूत पूर्वाधारको अभाव छ।

तीन वटा विद्यालय भवनमध्ये दुई वटा भवन कच्ची छन्। हावाहुरी र पानी पर्दा कक्षाकोठामा बस्नै मिल्दैन। यो विद्यालय जिल्लाको सबैभन्दा विकटमा पर्छ। बर्खा लागेपछि घुम्ती बसाइमार्फत २५ जना विद्यार्थी थपिन्छन्। पढाउने क्रममै छानोको फलेक कुहिएर झर्ने गरेको र बर्खामा पानी चुहिने गरेको विद्यालयका निमित्त प्रधानाध्यापक रुद्र विकले जानकारी दिए।

“विकटमा राज्यको नजर कम पर्दोरहेछ, बालविकास र कक्षा ४ सम्मका विद्यार्थीलाई कक्षाकोठा ठिकै छ तर, कक्षा ५ का विद्यार्थीलाई कक्षाकोठाको अभाव छ”, विकले भने, “गाउँपालिकामा भवन निर्माणका लागि बजेट माग गरिरहेका छौँ, यसपटक बजेट प्राप्त होला।”

कक्षाकोठा उपयुक्त नहुँदा पठनपाठनमा असहज हुने गरेको  कक्षा ५ मा अध्ययनरत छात्रा सृष्टी मगरले बताइन्। “कक्षामा पानी पर्दा चुहिन्छ, हिउँ पर्दा पग्लेर कक्षा कोठा भरिन्छ”, उनले भनिन्। पाँच कक्षासम्म मात्रै पढाइ हुने यहाँका बालबालिका कक्षा छ देखि माथी पढ्न गाउँभन्दा बाहिर जानुपर्ने बाध्यता छ।

Metro Mart

निसेलढोरमा अस्थायी र स्थायी गरी दुई थरी बस्ती छन्। निसीखोला गाउँपालिकाको विभिन्न स्थानबाट धेरैजसो गर्मीको समयमा यहाँ खेतीपातीका आउँछन् र हिउँदमा बेंसी झर्छन्। ५० घरधुरी भने स्थायी रुपमा निसेलढोरमै बस्छन्। 

निसीखोला-५ निसीको ज्ञानेन्द्र माध्यामिक विद्यालयलाई २०६४ सालअघिसम्म घुम्ती विद्यालयका रूपमा निसेलढोरमा सञ्चालन गरिएको थियो। विसं २०६४ सालमा सोही विद्यालयको पूर्वाधारमा कुँडेढोर प्राथमिक विद्यालय स्थापना गरिएको हो। निसीखोला-५ निसीबाट सोही वडाको निसेलढोर आउन पाँच घण्टा पैदल हिँड्नुपर्छ।

प्रकाशित: Jun 06, 2024| 08:00 बिहीबार, जेठ २४, २०८१
प्रतिक्रिया दिनुहोस्