काठमाडौं- सहकारी छानबिन संसदीय समितिले औपचारिक रूपमा आफ्नो काम सुरू गरेको छ।
बुधबार संसद् भवन नयाँ बानेश्वरमा पहिलो बैठक बसेर समितिले काम थालेको हो। पहिलो बैठकले समितिको आन्तरिक कार्यविधिको मस्यौदा तयार गर्न सचिवालयलाई जिम्मा दिइएको संयोजक सूर्य थापाले जानकारी दिए।
सभामुख देवराज घिमिरेको उपस्थितिमा बसेको बैठकमा समितिको कामलाई अघि बढाउने विषयमा छलफल भएको थियो। तीन महिनाको अवधिभित्रै समितिले गर्नुपर्ने कामलाई व्यवस्थित गर्दै अघि बढ्ने उनले बताए। थापाले दुई दिनभित्र कार्यविधि पारित गर्ने भन्दै समितिको कार्याविधि, कार्यक्षेत्र लगाएतका विषयमा कुनै विवाद नरहेको बताए।
गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो। समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्यसम्पन्न गरि प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ।