आइतबार, असार १, २०८२

सशस्त्र प्रहरीले बनायो डेडिकेटेड मनसुन प्रतिकार्य टोली

 |  मंगलबार, जेठ २२, २०८१
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

vianetvianet

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले २४सैँ घण्टा तैनाथ रहने गरी विपद् व्यवस्थापन तालिम प्राप्त ‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोली गठन गरेको छ।
 
 मनसुनको समयमा बाढी, पहिरो, डुबान एवं विपद्मा परेकाको तत्कालै उद्धारका लागि बाहिनी, शिक्षालय तथा गणमा सिनियर अफिसरको कमाण्डमा एक प्लाटुन र गुल्महरुमा सिनियर अफिसरको कमाण्डमा माइनस प्लाटुन रहने जनाइएको छ। अन्य युनिटहरुमा एक सेक्सनको नफ्रिमा उपलब्ध स्रोतसाधनसहित मनसुन प्रतिकार्य टोली गठन गरिएको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
 
प्रदेशस्थित सशस्त्र प्रहरी बल नेपाल नं १ बराह बाहिनी मुख्यालय सुनसरी, नं २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी, नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की, नं ५ विन्ध्यावासिनी बाहिनी मुख्यालय रुपन्देही, नं. ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत, नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले सात/सात प्लाटुन, नं ३ गढिमाई बाहिनी मुख्यालय मकवानपुरले ५ र नं ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँले तीन प्लाटुन जनशक्ति चौबिसै घण्टा खटाउने गरी तयारी अवस्थामा राखेका छन्। सबै बाहिनीका गरी ५० वटा टोली विपद् प्रतिकार्य र विपद् जोखिम न्यूनीकरण सचेतनाका लागि फिल्डमा खटाइएका छन्।
 
‘डेडिकेटेड’ मनसुन प्रतिकार्य टोलीले प्रदेश, जिल्ला तथा स्थानीय तहहरुमा रहेका आपतकालीन कार्य सञ्चालन केन्द्र, विपद् व्यवस्थापन समिति एवं अन्य विपद् व्यवस्थापनसँग सम्बद्ध सम्पूर्ण सरोकारवाला निकायसँग समन्वय र सहकार्यमा विपद् व्यवस्थापन प्रतिकार्य गर्नेछ।
 
सो टोलीले आफ्नो जिम्मेवारी रहेको इलाकामा पर्ने जोखिमयुक्त स्थान तथा वस्तीलगायत महत्वपूर्ण संरचनाजस्तै पुल, कल्भर्ट राजमार्ग, लोकमार्ग आदिको पहिचान गरी विपद्को समयमा तुरुन्त उद्धार तथा परिचालन हुन सक्ने व्यवस्था मिलाउने छ। बाहिनी मुख्यालय, शिक्षालय, गण र गुल्महरुमा सिनियर अधिकृतको कमाण्डमा र बिओपी तथा बेशहरुमा जुनियर अधिकृतको कमाण्डमा विपद् व्यवस्थापन सेल गठन गरी सम्पर्क अधिकृतको व्यवस्था मिलाईएको छ।
 
सशस्त्र प्रहरी बल नेपालका कार्यालयमा रहेका हेभि इक्युपमेन्टहरु, डिजास्टर रिलिफ सिस्टम कन्टेनर र मास क्याज्युल्टी भेहिकलसमेत तयारी अवस्थामा राखिएका छन्। बाढी, पहिरो, डुबानका घटनालाई लक्षित गरी सबै बाहिनी मुख्यालयले मातहतलाई मनसुनजन्य विपद् प्रतिकार्य पूर्वअभ्याससमेत सञ्चालन गरेका थिए। यसका साथै जोखिमयुक्त ठाउँमा विपद् सचेतना कार्यक्रमसमेत सञ्चालन गरिएको छ।

प्रकाशित: Jun 04, 2024| 21:32 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्