काठमाडौं- काठमाडौंको चक्रपथमा मोनो रेल सञ्चालनको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न चीनको चाइना रेल वे २५ औं ब्युरो ग्रुप कम्पनीसँग बुधबार सम्झौता गरिएको छ ।
काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र उक्त कम्पनी बीच बुधबार राजधानीमा आयोजित कार्यक्रममा सम्झौता भएको हो । सम्झौतापत्रमा महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्य र रेल वे कम्पनीका ओभरसिज बिजनेस म्यानेजमेन्ट विभागका प्रमुख झयु ग्वाङ्बिङ्ले हस्ताक्षर गरे ।
साढे २७ किलोमिटर चक्रपथमध्ये ललितपुर महानगरपालिकामा ७ दशमलव ६ किलोमिटर सडक खण्ड पर्छ । विस्तृत परियोजना प्रतिवेदनमा माटो परीक्षणसहित वातावरणीय प्रभाव मूल्यांकन गर्ने, मनोरेलको डिजाइन, प्राविधिक एवं निर्माण क्षमता, लागत अनुमान, ट्राफिक व्यवस्थापनको अनुमान, योजना सञ्चालनका चरण र लाभ विश्लेषण हुनेछ ।
आर्थिक, प्राविधिक तथा सहरी यातायात व्यवस्थापनाको दिगोपनाजस्ता पक्षमा गरिएको सम्भाव्यता सम्बन्धित प्रतिवेदन गएको भदौ २८ गते महानगरलाई उपलब्ध भइसकेको छ । सम्भाव्यता अध्ययनका लागि २०७५ वैशाख २० गते आशयपत्र बुझाएको कम्पनीसँग महानगरले जेठ ११ गते सम्झौता गरेको थियो ।
सम्भाव्यता अध्ययनले चक्रपथमा तीन चरणमा निर्माण कार्य गर्दा उपयुक्त हुने देखाएको छ । कोटेश्वरदेखि कलंकीसम्म पहिलो चरण, कलंकीदेखि महाराजगन्जसम्म दोस्रो चरण र महाराजगन्जदेखि कोटेश्वरसम्म तेस्रो चरणमा काम गर्न सकिने उक्त अध्ययनमा उल्लेख छ ।
उक्त अध्ययनले देखाएको लागत अनुमान करिब एक खब १६ अर्ब रुपैयाँ हो । सम्भाव्यता अध्ययनका लागि ६ महिना समय दिएकोमा उक्त कम्पनीले तीन महिनामा नै प्रतिवेदन बुझाएको थियो । त्यो प्रतिवेदनमाथि केही महिना अध्ययन गरेर महानगरले यो सम्झौता गरेको हो ।
सम्झौतापत्र हस्ताक्षर कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले ट्राफिक जाम र प्रदूषणको समस्या समाधानका लागि लागि मोनोरेल राम्रो विकल्प भएको बताए ।
उनले भने, ‘घर भत्काएर सडक चौडा बनाउनुको यो उत्तम विकल्प हो ।’ ललितपुर महानगरपालिकामा प्रमख चिरीबाबु महर्जनले विस्तृत परियोजना प्रतिवेदनले लगानीदेखि मोनो रेलका बारेमा धेरै पक्ष स्पष्ट पार्ने बताए ।
स्थानीय तहनिर्वाचनका बेला सबै राजनीतिक दलले घोषणा पत्रमा काठमाडौंमा मोनोरेल ल्याउने उल्लेख गरेको स्मरण गर्दै दु्रत गतिमा काम गर्न अनुरोध गरे । उनले भने, ‘मनोरेलको सपना छिट्टै पूरा हुन्छ, हामी यसमा आशावादी छौं । ’
कार्यक्रममा काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले मनोरेल पर्यटकलाई आकर्षित महत्त्वपूर्ण माध्यम हुने बताइन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४