बुधबार, पुस ९, २०८२

जो हिँडेरै काठमाडौंदेखि सगरमाथाको चुचुरोसम्म पुगे

 |  मंगलबार, जेठ २२, २०८१

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ २२, २०८१

काठमाडौं- आरोही राजेश लामाले काठमाडौँदेखि सगरमाथाको चुचुरोसम्म पैदल यात्रा गरेका छन्। उनले यात्रा सुरु गरेको ५७औँ दिनमा सगरमाथा आरोहण गरेका छन्।

National life

गत अप्रिल १ तारिखका दिन काठमाडौँदेखि पैदलयात्रा सुरु गरेका उनले ४३२.६ किलोमिटर दुरीको यात्रासँगै सगरमाथाको सफलतापूर्वक आरोहण गरेका हुन्। आज पत्रकार सम्मेलनमार्फत आरोहणका अनुभव सुनाउँदै लामाले दृढ सङ्कल्प र साहसिक मनोभावका कारण यात्रा सम्भव भएको बताए।

इच्छा शक्ति, धैर्यता र अठोट भए जीवनमा महत्वपूर्ण उपलब्धि हासिल गर्नसक्छ भन्ने उदाहरण काठमाडौँदेखि सगरमाथा शिखर सम्मको यात्रा भएको उनले उल्लेख गरे। आगामी दिनमा नेपालको साहसिक गतिविधिमा सक्रिय हुने उनको भनाइ छ ।
 
ललितपुर निवासी लामा १५ दिनमा लुक्ला र २४ दिनमा सगरमाथा आधार शिविर पुगेका थिए। मे २० तारिखका दिन उनले सगरमाथा आरोहण गरे । पर्यटन क्षेत्रमा दशकभन्दा बढी अनुभव भएका लामा पर्वतारोहण व्यावसायिक पथ प्रदर्शक हुन् । ‘द नर्थफेस’ नेपालले लामालाई सगरमाथा आरोहणमा आवश्यक सहयोग गरेको थियो ।

कार्यक्रममा वरिष्ठ पर्यटन व्यवसायी एवं नेपाल पर्वतारोहण सङ्घका पूर्वअध्यक्ष आङछिरिङ शेर्पाले लामाको सगरमाथा यात्रा नेपालको पर्वतीय पर्यटनका लागि नयाँ आयाम भएको उल्लेख गरे। अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक दावा याङजुम शेर्पाले लामाको साहसिक कार्य पर्वतारोहणका लागि प्रेरणा भएको धारणा राखे । ‘द नर्थफेस’ नेपालकी प्रबन्ध निर्देशक पेमा शान्ति शेर्पाले आरोहीको हौसलामा साथ सहयोग गर्न पाउँदा खुसी लागेको बताइन्।

प्रकाशित: Jun 04, 2024| 19:18 मंगलबार, जेठ २२, २०८१
प्रतिक्रिया दिनुहोस्