जनकपुरधाम-प्रहरीले धनुषा र सिरहा गरी दुईजनालाई हतियारसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको हंसपुर नगरपालिका–७ बस्ने बचन भनिने ३१ वर्षीय बेचन मण्डल र सिरहाको सखुवानन्कारकट्टी–१ बस्ने २७ वर्षीय रविन्द्रकुमार मण्डल रहेको प्रहरीले जनाएको छ ।
बेचनलाई प्रहरीले मदिरा सेवन गरिरहेको अवस्थामा मदिरा पसलबाट पक्राउ गरेको हो । हंसपुर नगरपालिका–५ सुगानिकासस्थित मदिरा पसलमा मदिरा खाइरहेको अवस्थामा चेकजाँचको क्रममा बेचनको साथबाट ९ एमएमको पेस्तोल, प्रयोग भएको म्याग्जिन र म्याग्जिनमा लोड भएको ६ राउण्ड गोली फेला परेको थियो ।
यसैगरी चोरी मुद्दाका फरार अभियुक्त समेत रहेका रविन्द्रलाई विशेष सुराकीको आधारमा सखुवानन्कारपट्टी गाउँपालिका–१ लतियाईस्थित मौवाही मिर्जापुर भित्री सडक खण्डबाट पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
रविन्द्रको साथबाट प्रहरीले खाली अवस्थामा रहेको कटुवा पेस्तोल एक थान बरामद गरेको प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डीएसपी दानबहादुर थापाले जानकारी दिएका छन् ।
पक्राउ परेका दुबैजनलाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४