काठमाडौं- भारतमा लोकसभा निर्वाचनअन्तर्गत सात चरणमा सम्पन्न मतदानको मतगणना आज हुँदैछ। विद्युतीय मतदान भएकाले आजै गणना सकिएर नतिजा सार्वजनिक हुनेछ।
निर्वाचनपछिका अधिकांश सर्वेक्षणले प्रधानमन्त्री नरेन्द्र मोदीको ह्याट्रिक जित हुने प्रक्षेपण गरेका छन्। अधिकांश ‘एक्जिट पोल’ले मोदीको भाजपा नेतृत्वको एनडिए विजयउन्मुख रहेको देखाएको छ।
एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदी ऐतिहासिक तेस्रो कार्यकालका लागि प्रधानमन्त्री हुने र एनडिए गठबन्धनले भारी बहुमत ल्याउने आकलन गरेका छन्। प्रधानमन्त्री मोदीले आफ्नो सरकारलाई पुनः निर्वाचित गर्न भारतीय जनताले कीर्तिमानी संख्यामा मतदान गरेको विषयमा आफू विश्वस्त रहेको बताउँदै आएका छन्।
६ साता लामो निर्वाचनमा ६४ करोड २० लाख भारतीय मतदाताले मतदान गरेका छन्। कुल मतदातामध्ये लगभग आधा अर्थात् ३१ करोड २० लाख महिला मतदाताको सहभागिता छ। ९६ करोड ८० हजार योग्य मतदाताको तथ्यांकको आधारमा योग्य मतदाताको ६६.३ प्रतिशत मतदान भएको छ।