काठमाडौं- राजधानीमा पकेटमारको बिगबिगी बढेपछि प्रहरीले विशेष अप्रेशन सञ्चालन गर्यो। १५ मंसिरबाट सञ्चालन गरेको अप्रेशनमा ७७ जनालाई बुधबार सार्वजनिक गरेको छ।
काठमाडौंमा सञ्चालन हुने सार्वजनिक यातायात पकेटमारका लागि विशेष 'स्पट' भएको सूचनाका आधारमा प्रहरीले २५० जना सादा पोसाकका प्रहरी परिचालन गरेको थियो। जसमा महानरीय प्रहरी परिसरबाट ५० जना, अपराध महाशाखाबाट एक सय जना र महिला सेलबाट एक सय जनाको टोलीलाई यातायात व्यवसायीको सहकार्यमा 'स्टाफ कार्ड' बनाइयो र पकेटमारको विशेष निगरानी गरियो।
यही क्रममा राजधानीका विभिन्न स्थान र सवारी साधनबाट ४ जना युवतीसहित ७३ जनालाई नियन्त्रणमा लिन सफल भयो। जसमा चक्रपथ एरियामा १८ जनाको पकेटमारको समूहका नाइके पूर्णबहादुर विश्वकर्मा, चक्रपथभित्र २० जना पकेटमारका नाइके गर्दै आएका काभ्रेका जंगे गरी ७३ जना युवा पक्राउ गरेको हो। यी दुवै जना पकेटमारकै मुद्दामा दशपटक पक्राउ पर्दै छुट्दै गरेका व्यक्ति भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।
पक्राउ परेका ७७ जना १८ देखि २५ वर्ष उमेरसमूहका रहेको प्रहरीले जनाएको छ। उनीहरुले समूह बनाएर कुनै एक व्यक्तिलाई घेरा हाल्ने, उसँग भएको नगद तथा जिन्सी लुट्ने र भाग्ने गरेको प्रहरीले जनाएको छ।
उनीहरुको साथबाट पाँच लाख ९६ हजार तत्कालन बरामद गरिएको र सम्बन्धित व्यक्तिलाई फिर्ता गरिएको प्रहरीले जानकारी दिएको छ। त्यसैगरी १६ लाख ७० हजार लुटिएको प्रमाणित भएको प्रहरीले जनाएको छ।
उनीहरु सबैलाई पकेटमारीको मुद्दा चलाइएको छ। पकेटमारी मुद्दामा एकपटकको लागि एक महिना जेल र विगो बराबरको जरिवाना गर्ने कानुनी प्रावधान छ।

