बुधबार, पुस ९, २०८२

हुरीले खानेपानी आयोजनाको सोलार पाता उडाउँदा १५ लाखको क्षति

 |  सोमबार, जेठ २१, २०८१

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २१, २०८१

बैतडी- आइतबार साँझ आएको हुरीले जिल्लाका महिला सहकारी संस्था, स्वास्थ्यकेन्द्र, विद्यालय र खानेपानी आयोजनामा क्षति पुगेको छ। हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि स्थानीयलाई खानेपानीको समस्या भएको छ।

National life

पाटन नगरपालिका-८ स्थित भगवती कृषि महिला विकास बहुउद्देशीय सहकारी संस्थाको छानो उडाएको नगरपालिकाका सामाजिक विकास संयोजक एवं वडा नं ८ का वडाध्यक्ष हरिश विष्टले जानकारी दिए। उनले भने, 'सहकारीको छानो उडाउनुका साथै भित्र रहेका दराज, कुर्ची, आवश्यक कागजातसहित भौतिक संरचनामा क्षति पुगेको छ।' उनका अनुसार सहकारीमा करिब एक लाख ५० हजार रूपैयाँभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।

मेलौली नगरपालिका-७ मा रहेको नेत्रज्योति आधारभूत विद्यालयको दुई कोठे भवन, शिवनाथ गाउँपालिका-६ को हिरापुर माविको चार कोठे भवनको छाना उडाएको नेत्रज्योति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईश्वरदत्त भट्टले जानकारी दिए। उनका अनुसार हुरीका कारण बसेडिभ्वा र कोदालीका घरमा समेत क्षति पुर्‍याएको छ। 

हुरीले लिफ्ट खानेपानीको सोलार पाता उडाएपछि पाटन नगरपालिका-१ स्थित गणेशपुरसहित अन्य चार गाउँमा खानेपानीको समस्या भएको पाटन खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले जानकारी दिए। उनका अनुसार आयोजनाको सोलारपाताका साथै पाटन-१ गेरुवापानीस्थित मुहानमा राखिएका सोलार पातासमेत उडाएको छ।

चार गाउँसहित तीन विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरलगायत स्थानमा खानेपानीको आपूर्ति बन्द भएको खानेपानी आयोजनाका व्यवस्थापक पदमराज भट्टराईले जानकारी दिए।

Laxmi sunrise bank
kumari

आयोजनामा रहेका ७५ सोलार पातामध्ये ३० वटा उडाएको भन्दै करिब १५ लाख रूपैयाँको क्षति भएको अनुमान गरिएको उनको भनाइ छ। उक्त खानेपानी आयोजनाबाट एक सय १९ घरमा पानी आपूर्ति हुँदै आएको छ। -रासस

प्रकाशित: Jun 03, 2024| 14:45 सोमबार, जेठ २१, २०८१
प्रतिक्रिया दिनुहोस्