भैरहवा- भर्खरै सम्पन्न भएको सातौं लुम्बिनी महोत्सव प्रदेश नं ५ कै नमुना महोत्सवका रुपमा रहेको छ । प्रदेश नं ५ को अस्थायी राजधानी रूपन्देही जिल्लाको सदरमुकाम भैरहवामा सम्पन्न महोत्सवले प्रदेशस्तरीय पर्यटन प्रवद्र्धनमा टेवा दिएको प्रदेश नं ५ का पर्यटनमन्त्री लीला गिरीले बताए ।
महोत्सव समापन गर्दै उद्योग, वणिज्य, वन तथा वातावरण मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेका मन्त्री गिरीले भने, ‘यो सातौं लुम्बिनी महोत्सव प्रदेशकै नमुना महोत्सव भएको छ । पर्यटन, उद्योग, वणिज्य र व्यापारलाई मात्रै होइन, कृषिको व्यवसायीकरणमा पनि भूमिका खेलेको छ । ’
महोत्सव मूल आयोजक समितीका संयोजक कुलप्रसाद न्यौपानेले महोत्सवले भैरहवा र आसपासको क्षेत्रलाई पर्यटकीय, औद्योगिक एवं व्यापारिक केन्द्रका रुपमा स्थापित गर्ने र लुम्बिनीको ऐतिहासिक एवं पर्यटकीय महत्त्वबारे व्यापक जनचेतना फैलाएर लुम्बिनी र प्रदेश नं. ५ को पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यमा एक इँट्टा थप्न संघ सफल भएको विश्वास व्यक्त गरे ।
प्रदेश सांसद सन्तोष कुमार पाण्डेले अन्तर्राष्ट्रिय जगत्ले चिनेको लुम्बिनीको प्रवेशद्वार सिद्धार्थनगरको विकासका लागि प्रदेश सरकार र स्थानीय सरकारसँग सहकार्य गरेर अगाडि बढ्ने जनाए ।अर्का प्रदेश सांसद फकरुद्धिन खानले बौद्ध धर्मालम्बीहरुको प्रमुख गन्तव्यका रुपमा लुम्बिनीलाई विकास गर्ने कार्यमा महोत्सवले भूमिका खेलको बताए ।
भैरहवामा मंसिर २० गतेदेखि सञ्चालीत सातौं लुम्बिनी राष्ट्रिय महोत्सव २०७५ कृषि तथा राष्ट्रिय औद्योगिक व्यापार मेला भने उत्पादक, उपभोक्ता र विक्रेताको सम्मेलन भएको दाबी गरिएको छ ।

महोत्सवमा अल्लोको उत्पादनदेखि बहुराष्ट्रिय कम्पनीका उत्पादन, च्याउ, सुन्तला, स्याउ किन्न पाएकोमा टिकुलीगढका रामलाल जैसी मख्ख देखिन्थे । नातिनातिनासहित आएका ६२ वर्षीय जैसीले भने, ‘म २ चोटि आएँ, धेरै राम्रो लाग्यो । धेरैपछि कुराउनी र खीर खाइयो । यी नानीहरुले पनि खाए । विगतको भन्दा मेला राम्रो लाग्यो ।’
मेलामा कुस्ती हेर्न मर्चवारबाट आएका साधुराम यादव झनै मख्ख थिए । उनी भन्दै थिए, ‘मज्जाले कुस्ती हेरियो, रमाइलो भयो ।’ दिनभर विभिन्न लोक तथा आधुनिक कलाकारको प्रस्तुति र साँझपख डिजेको प्रस्तुतीले भैरहवामा बढ्दै गएको जाडोसमेत मत्थर पारेको महसुस हुन्थ्यो । नाम चलेका कलाकारले दिनभर मनोरञ्जन दिइरहँदा साँझ ६ बजेपछि डिजे तामासहितका कलाकारको प्रस्तुतिमा युवा पुस्ता झुमेका थिए ।
महोत्सवमा १० दिनसम्म राष्ट्रिय रुपमा ख्यातिप्राप्त कलाकारहरुले जसरी छमछमी नचाए त्यसैगरी भ्वाइस अफ भैरहवा र नृत्य प्रतियोगिताले नयाँ प्रतिभालाई स्थापित गरायो ।महोत्सव परिसरमा रानिमहल र मायादेवी मन्दिर जस्ता ऐतिहासीक सम्पदाको आकर्षक अस्थायी संरचना सहित कुल २ सय ७५ स्टल रहेका थिए ।
देवदह भुलहिका च्याउ, छपियाको माछा, जमराको जुससहित कृषिका २५ स्टल, दंगाली अल्लोका उत्पादनसहित २५ हस्तकलाका स्टल महोत्सवमा दर्शकका रोजाइमा रहेको आयोजक सिद्धार्थ उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा स्टल व्यवस्थापन समितिका संयोजक ठाकुरकुमार श्रेष्ठले बताए ।


प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४