मंगलबार, साउन १२, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्रदेश २ : यसरी पेचिलो बनाइँदैछ राजधानी र नामकरणकाे मुद्दा

प्रदेश २ : यसरी पेचिलो बनाइँदैछ राजधानी र नामकरणकाे मुद्दा

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
जनकपुरधाम- प्रदेश २ सरकारले करारमा कर्मचारी भर्नासहित कतिपय महत्त्वपूर्ण कानुनहरु ल्याइसके पनि प्रदेशको नामकरण र स्थायी राजधानीसम्बन्धी प्रस्ताव ल्याउन सकेको छैन ।

प्रदेश सरकार कार्यान्वयनमा आएको महिना पूरा भइसकेको छ । यस अवधिमा विभिन्न तह तप्काबाट प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव ल्याउन दबाब दिइए पनि प्रदेश सरकार प्रदेशसभामा विधेयक ल्याउन अलमलमा देखिएको छ ।

प्रदेशको राजधानीसम्बन्धी प्रस्तावमा ज्यादै विवाद नरहे पनि नामकरणमा गाँठो अडकिएको सदनमा प्रतिनिधित्व गर्ने विभिन्न दलका सांसदहरुको भनाइ रहेको छ ।

सरकारमा प्रतिनिधित्व गर्ने दलहरु प्रेदश नामकरणको सबालमा 'मधेस' को पक्षमा देखिएका छन् भने प्रतिपक्षी दल नेकपा र नेपाली कांग्रेस 'मिथिला' छोड्ने मुडमा देखिएका छैनन् । 'मधेस' र 'मिथिला' को गाँठोमा अल्झिएको नामकरणसम्बन्धी विवाद सुल्झाउन प्रदेश सरकारले आयोग गठन गर्‍यो । तर सरकारले गठन गरेको संवाद तथा सुझाव आयोगले पनि नामकरणको सवालमा कुनै निक्र्योल निकाल्न सकेको छैन ।

११ कात्तिकमा प्रदेश २ को मन्त्रिपरिषद् बैठकले नाम र राजधानीबारे अवधारणा तयार गर्न नीति आयोगका उपाध्यक्ष हरिवंश झाको संयोजकत्वमा तीन सदस्यीय संवाद तथा सुझाव आयोग गठन गर्‍यो । मोहनलाल चौधरी र रामप्रवेश बैठा सदस्य रहेका संवाद तथा सुझाव आयोगलाई डेढ महिनाभित्र नामकरण र राजधानीसम्बन्धी सुझाव दिन भनिएको थियो । तर आयोगलाई तोकिएको समयसीमा २६ मंसिरमा सकिएको छ ।

आयोगलाई तोकिएको डेढ महिना समय सकिएको र दुई महिना थप गर्ने तयारी भइरहेको अध्यक्ष झाले बताए । डेढ महिनाका अवधिमा प्रदेश २ को आठ जिल्ला पुगेर राय संकलन गर्ने म्यान्डेट पाएपनि पर्सा जिल्लामा मात्रै सुझाव संकलन गरिएको नेपाल समयलाई झाले जानकारी दिए । 

'हामीले पाएको डेढ महिनाको समयावधि सकिएको छ । यस अवधिमा पर्सामा मात्रै कार्यक्रम हुन सक्यो,' झाले भने, 'दुई महिना समय थप गर्न भनेका छौं । अब बस्ने मन्त्रिपरिषद् बैठकबाट निर्णय हुनेछ ।'

आयोगको कार्यविधिमा प्राध्यापक, व्यवसायी, जिल्लास्थित राजनीतिक दल, प्रदेशसभा सदस्यलगायतबाट सुझाव संकलन गर्न भनिएको छ । यसैगरी सामाजिक सञ्जालबाट आएको रायलाई समेत प्रतिवेदनमा समावेश गर्ने तयारी आयोगको छ ।

यता आयोगको प्रतिवेदनको पखाइमा रहेका विपक्षी दलका सांसदहरु अबपनि ढिलाइ भए प्रदेशसभामा आफैं प्रस्ताव लाने तयारीमा देखिएका छन् । प्रदेश सरकारले नामकरण र राजधानीजस्ता महत्त्वपूर्ण प्रस्ताव ल्याउन ढिलाइ गरिरहेको नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले बताए । यी दुई प्रस्ताव ल्याउन पटकपटक आग्रह गरे पनि सरकारले ढिलाइ गरेको भन्दै यादवले आफूहरू अब वैकल्पिक बाटोतर्फ लाग्ने उल्लेख गरे ।

'सरकारले राजधानी र नामकरणको प्रस्ताव ल्याउन ढिलाइ गरिरहेको छ,' यादवले भने, 'अझै ढिलाइ भए प्रदेशसभामा हामी आफ्नै प्रस्ताव दर्ता गराउनेछौं ।'

प्रदेशको नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पारित गराउन सरकारलाई दुई तिहाइ बहुमत चाहिने संवैधानिक व्यवस्था छ । प्रदेश २ सरकार बहुमतमा रहे पनि दुई तिहाइ पुर्‍याउन दुई विपक्षी दलमध्ये एकको सहयोग आवश्यक छ । तर दुवै विपक्षी दल नेकपा र नेपाली कांग्रेस मिथिलाबिनाको नामकरण मान्ने पक्षमा देखिएका छैनन् । यसैगरी प्रदेशको स्थायी राजधानी तोक्ने प्रस्तावको पक्षमा नेकपा र कांग्रेका अधिकांश सांसद एकमत देखिएका छन् ।

एक सय ७ सांसद रहेको प्रदेश २ को प्रदेशसभामा संघीय समाजवादी फोरमको २५ र राजपाका २४ जना सांसद छन् । फोरम नेतृत्वको प्रदेश २ सरकारमा राजपा सत्तासाझेदार दलका रुपमा छ । यसैगरी विपक्षी दल नेकपाका ३२, नेपाली कांग्रेसका १९ र दुई स्वतन्त्र सांसद छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।