जनकपुरधाम- विगत दुई दिनदेखि अचानक बढेको चिसोका कारण जनकपुरसहित मध्यतराईको जनजीवन प्रभावित भएको छ । जनकपुरसहित यस क्षेत्रमा तापक्रम घट्दै गएपछि चिसो बढेको हो ।
मंसिर अन्त्यसम्म चिसोको खासै प्रभाव नरहे पनि १ पुसदेखि मध्यतराईमा चिसो बढ्न थालेको छ । अत्यधिक चिसोका कारण मुख्य रुपले बालबालिका, वृद्धवृद्धा, विपन्न परिवारमा धेरै समस्या देखिएको छ ।
यसैगरी अत्यधिक चिसोका कारण बजार क्षेत्रमा भीडभाड पातलिन थालिएको छ । बजार क्षेत्रमा सर्वसाधारणको चहलपहलमा कमी आएपछि व्यापारिक कारोबारसमेत प्रभावित भएको व्यवसायी बताउँछन् ।
मध्यतराईमा पछिल्लो दुई दिनदेखि हुस्सु र कुहिरोको प्रभाव बढ्दै गएको छ भने घाम लागेको छैन । चिसो बढेपछि बालबालिका तथा वृद्धवृद्धामा निमोनिया र रुघाखोकी लाग्न सक्ने भएकाले न्यानो लुगा प्रयोग गर्न चिकित्सकले सल्लाह दिएका छन् ।
गत वर्ष जनकपुरको न्यूनतम तापक्रम ५ डिग्री सेल्सियससम्म पुगेको थियो । चिसोबाट जोगिन सर्वसाधारण न्यानो लुगाका साथै घुरको सहारा लिन थालेका छन् ।
चिसो बढेपछि आगो बाल्न ठाउँठाउँमा दाउरको व्यवस्था गर्न सर्वसाधारणले स्थानीय तहलाई आग्रह गरेको छ । नगरपालिका तथा गाविस कार्यालयहरुले चिसो बढेपछि विगतका वर्षहरुमा सर्वसाधारणका लागि दाउरको व्यवस्था गर्ने गरेको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४