काठमाडौं- लामो रस्साकस्सी र विवादपछि नेपाली कांग्रेसले पार्टी पदाधिकारीको संख्या र चयन पद्धतिका विषयमा सहमति जुटाएको छ ।
पार्टी सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइरालासहितका नेताहरूबीच मंगलबार साझ भएको छलफलबाट सहमती कामयम भएको हो ।
सहमती अनुसार अब पदाधिकारी संख्या ८ राख्ने र कोषाध्यक्षबाहेक सबै पदाधिकारी महाधिवेशनबाट निर्वाचित हुन पर्नेछ । यो सहमति संगै अब कांग्रेसमा एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, दुवै सहमहामन्त्री र एक कोषाध्यक्ष गरि ८ सदस्यीय पदाधिकारी हुने छन् ।
कोषाध्यक्ष सभापतिको प्रस्तावमा केन्द्रीय कार्यसमितिको निर्वाचित सदस्य संख्याले अनुमोदन गर्ने व्यवस्था राखिएको छ । यसअघि उपसभापति, एक महामन्त्री, सहमहामन्त्री सभापतिबाट मनोनयन हुने र कोषाध्यक्ष महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था थियो ।
यस्तै नयाँ सहमतिअनुसार केन्द्रीय कार्यसमितिमा निर्वाचित कुल संख्याको २० प्रतिशत सदस्य सभापतिबाट मनोनीत हुने व्यवस्था राखिएको छ । केन्द्रीय कार्यसमिति भने १ सय ६१ सदस्यीय हुने गरि सहमति जुटेको उपसभापति विमलेन्द्र निधिले जानकारी दिए ।
संस्थापन पक्षले उपसभापति, महामन्त्री, कोषाध्यक्षमा १/१ मनोनयन हुनुपर्ने र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सबै पदाधिकारी निर्वाचित गर्नुपर्ने अडान राख्दै आएका थिए ।
दुवै पक्षले अडान नछाड्दा महासमिति बैठकको चार दिन बित्दासमेत विधान मस्यौदाले प्रवेश पाएको थिएन । मस्यौदा ल्याउन ढिलाइ भएको भन्दै मंगलबार जिल्ला सभापतिले बैठक अवरुद्ध गरेपछि नेताहरू दबाबमा परेका थिए ।
विधानमा सहमति जुट्न नसक्दा जारी महासमिति बैठक प्रभावित हुने भएपछि सभापति देउवा आफ्नो अडानबाट पछि हटेर सहमतिका लागि तयार भएको उपसभापति निधिले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४