काठमाडौं- नेपाल आयल निगले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । लिटरमा १३ रुपैया ७१ पैसासम्म नाफा हुँदा पनि निगमले जम्मा दुई रुपैयाका दरले पेट्रोल, डिजेल र मट्टितेलको मुल्य घटाएको हो ।
निगमकाअनुसार बुधबारबाट अर्थात मंगलबार राती १२ बजेदेखि नयाँ मूल्य लागू भएको छ । नयाँ मूल्यअनुसार काठमाडौंमा प्रतिलिटर पेट्रोलको मूल्य ११०, डिजेल र मट्टितेलको प्रतिलिटर मूल्य ९७ रुपैयाँ भएको छ। यसअघि प्रतिलिटर पेट्रोल ११२, डिजेल ९९ र माट्टीतेल ९९ रुपैयाँ थियो।
हवाई ईन्धन र खाना पकाउने एलपिजीको नयाँ खुद्रा मूल्य हाल प्राप्त नहुने भएकोले ती पदार्थहरुको मूल्य यथावत राखिएको छ।
समायोजन पश्चात् भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फ

सीमा मूल्यमा प्रति लिटर पेट्रोल १० रुपैयाँ ९९ पैसा र डिजेल १३ रुपैयाँ २६ पैसा नेपालतर्फ सस्तो हुने निगमका प्रवत्ता विरेन्द्र गोइतले जनाएका छन्।
उनकाअनुसार चालु आवको विगतका केही महिनाहरुको अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य उच्चतम विन्दुमा पुगी निगमलाई अत्याधिक घाटा भई पछिल्लो पन्ध्र दिनको नाफा समेत मिलाउदाँ अझै करिब ३ अर्व २६ करोड रुपैयाँ घाटाको अवस्था रहेको छ।
विविध अन्तर्राष्ट्रिय घटना क्रमहरुको कारणले गर्दा अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घट्ने र बढ्ने प्रवृति जारी नै देखिएको हुदाँ सोही बमोजिम आगामी दिनमा पनि मूल्य समायोजन हुर्दै जाने निगमको भनाइ छ।
१७ डिसेम्बर २०१८ मा प्राप्त भएको नयाँ मूल्यअनुसार साविकको मूल्यमा प्रतिलिटर २ घटाइ समायोजन गरेपश्चात् पेट्रोलमा प्रतिलिटर १३ रुपैयाँ ७१ पैसा, डिजेलमा प्रतिलिटर ९ रुपैयाँ ८५ पैसा नाफा हुने प्रवत्ता गोइतले जानकारी दिएको छ।
तर प्रतिलिटर एलपि ग्याँसमा प्रतिसिलिण्डरमा २८४ रुपैयाँ ८३ हुने र समग्रमा मट्टितेल र एटिएफको नाफा समेत मिलाउदाँ निगमलाई आगामी १५ दिनमा करीब ८८ करोड २२ लाख बचत हुने देखिन्छ।