शनिबार, साउन १२, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई अलोकतान्त्रिक भन्नु आमाको अघि उभिएर मावलीको बयान गर्नुजस्तै: शर्मा

कांग्रेसलाई अलोकतान्त्रिक भन्नु आमाको अघि उभिएर मावलीको बयान गर्नुजस्तै: शर्मा

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले लोकतन्त्र र लोकतान्त्रिक प्रक्रियाबारे कांग्रेसको निष्ठा र लोकतान्त्रिक संस्कृतिमाथि कसैले प्रश्न नगर्न चेतावनी दिएका छन्।

triton college

पार्टीले आइतबार भृकुटीमण्डपमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै शर्माले भने, 'कांग्रेसलाई लोकतान्त्रिक दल हो वा होइन भन्नु आमाको अघि उभिएर मावलीको बयान गरे जस्तै हो। कांग्रेसलाई लोकतन्त्रवादी र अलोकतान्त्रिक भनी प्रश्न गर्नेसँग हामी सहमत हुँदैनौं।'

अन्यायमा परेका निमुखा तथा श्रमजीवी नागरिकको मुद्दालाई पार्टीले गहन ढंगले उठाउँदै आएको बताउँदै उनले कांग्रेसमाथि लगाइएको अलोकतान्त्रिकको आरोप आफूहरुलाई सह्य नहुने प्रतिक्रिया दिए। महामन्त्री शर्माले भने, 'सरकार प्रतिपक्षलाई हेर्ने अहिलेको व्यवहारबाट सच्चिनुपर्छ, सभामुख स्वतन्त्र र निष्पक्ष हुनुपर्छ, सहकारी प्रकरणमा संलग्नमाथि निष्पक्ष संसदीय छानबिन हुनुपर्छ।'

महामन्त्री शर्माले गृहमन्त्री रवि लामिछानेलाई जोगाउने बहानामा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सहकारी अपचलनमा संलग्न पार्टीका नेता तथा कार्यकतालाई जोगाइरहेको आरोप लगाए। उनले एमाले अध्यक्ष ओलीले सहकारी ठगी प्रकरणमा संसदीय समिति बनाउन हुँदैन भनेर दृढतापूर्वक उभिएको बताए । उपप्रधान एवं गृहमन्त्री लामिछाने केवल देखिएका पात्र भए पनि ओलीको चासो आफ्ना मान्छे जोगाउने रहेको उनको भनाइ छ।

‘उहाँ (ओली) गृहमन्त्रीलाई जोगाउने बहानामा, मैले आरोप लगायो नभन्नु होला, देशभरीका एमालेहरुले पनि सुनिरहनु भएको होला, तपाईंको पार्टीका अध्यक्ष, तपाईंकै एमालेका कैयौं साथीहरु सहकारीमा संलग्न हुनुहुन्छ। रवि लामिछाने त देखिएका पात्र हुन्। नदेखिएका धेरै पात्रहरु जो सहकारी अपचलनमा संलग्न हुनुहुन्छ, ती सबलाई जोगाउन चाहनुहुन्छ कमरेड केपी ओली,’ उनले भने, ‘त्यो जोगाउन चाहिराखेर एमालेलाई नै बदनाम गराउने कर्म गरिरहनु भएको छ। एमालेका साथीहरुले विस्तारै बुझुनुहोला। दोष, आरोप, गाली रवि लामिछानेको भागमा थुपारेर उहाँ रक्षाचाहिँ एमालेका पार्टी पंक्तिलाई गर्न चाहनुहुन्छ, जो सहकारी अपचलनको सन्दर्भमा संलग्न छन्।’

Metro Mart
vianet

महामन्त्री शर्माले सबै प्रकरणमा संसदीय समिति आवश्यक नपर्ने बताए। उपप्रधान एवं गृहमन्त्री लामिछाने प्रमाण नष्ट गर्न सक्ने ठाउँमा रहेकाले संसदीय समिति आवश्यक परेको उनले बताए।

नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र काठमाडौं जिल्ला सभापति सबुज बानियाँ लगायतले सहकारीको बचत अपचलनमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पार्टीले उठाउँदै आएको संसदीय छानबिनको माग गरे।
प्रमुख प्रतिपक्षी दल कांग्रेसले सहकारीमा लाखौंको संख्यामा रहेका बचतकर्ताको अर्बौं रकम फिर्ता गराई न्याय दिलाउन दबाब दिने उद्देश्यले आज राजधानीमा विरोध प्रदर्शन गरेको हो। नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाका विभिन्न वडाबाट आएको जुलुस प्रदर्शनीमार्गमा पुगेर आमसभामा परिणत भएको थियो।

विरोध सभामा कांग्रेसका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद,  कार्यकर्ता तथा भातृ संस्थाका पदाधिकारी सहभागी थिए।

प्रकाशित: May 26, 2024| 17:39 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्