शनिबार, साउन १२, २०८१

प्रतिपक्षीलाई पेलेर सदन चलाउँदै सभामुख

 |  आइतबार, जेठ १३, २०८१

नेपाल समय

नेपाल समय

आइतबार, जेठ १३, २०८१

काठमाडौं- प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसलगायत प्रतिपक्षी सांसदहरुले सहकारी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै विरोध र नाराबाजी गरिरहेका छन्। सामान्यतया एक जना मात्र सांसद उठे पनि संसद्‍को नियमित प्रक्रिया अगाडि बढाउन पाइँदैन। तर सभामुख देवराज घिमिरेले पेलेरै सदन चलाइरहेका छन्।

triton college

बैठकको सुरुवातमै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले बोल्न समय पाएका थिए। उनले सहकारी प्रकरणमा छानबिन समिति आवश्यक रहेको बताए। उनले बोलेपछि सभामुख घिमिरेले कार्यसूचीमा फेरबदल गर्दै अर्थमन्त्री वर्षमान पुनलाई बोल्न समय दिए।

लगत्तै प्रतिपक्षी सांसदले उठेर विरोध जनाए र वेल घेरेर नाराबाजी गर्न थाले। नाराबाजीकै बीच अर्थमन्त्री पुनले आर्थिक सर्वेक्षण प्रस्तुत गरे। प्रतिपक्षीको अवरोधकै बीच अर्थमन्त्री पुन फुत्किएर रोष्टममा पुगेका थिए। उनलाई मर्यादा पालकले स्कर्टिङ गर्दै रोस्टममा पुर्‍याएका थिए।

आर्थिक सर्वेक्षण पेश गरेपछि नीति तथा कार्यक्रममा संशोधन हालेका चित्रबहादुर केसीलाई बोल्न समय दिए। केसीले सहकारी ठगीमा छानबिन समिति गठन नगरेर सत्ता पक्षले पेलेर जाने मनसाय गरेकाले नीति तथा कार्यक्रममा समर्थन नरहेको जनाए। केसीले भने, 'सहकारीमा ठगेर यत्रो बर्बाद पार्नेहरुलाई सत्तापक्षले जोगाउन जुन षडयन्त्र गरेको छ, यो लोकतन्त्रमाथिको आक्रमण हो। गणतन्त्रमाथिको आक्रमण हो। त्यसैले यो नीति तथा कार्यक्रमलाई हाम्रो पार्टीले समर्थन गर्दैन।'

लगत्तै प्रेम सुवालले बोल्न समय पाए। उनले नीति तथा कार्यक्रममा संशोधन गर्नुपर्ने बुँदाको सूची सुनाए। त्यसपछि प्रधानमन्त्रीले नीति तथा कार्यक्रममा छलफल गर्न प्रस्ताव गरे। छलफलमा भाग लिँदै एमाले सांसद विष्णु पौडेल बोलिरहेका छन्। प्रतिपक्षी सांसदहरुको नाराबाजी जारी छ।

Metro Mart
vianet

प्रकाशित: May 26, 2024| 12:40 आइतबार, जेठ १३, २०८१
प्रतिक्रिया दिनुहोस्