बिहीबार, पुस १०, २०८२

अनुदानमा बिरुवा पाएपछि केराखेती गर्दै जैमिनीका किसान

 |  शनिबार, जेठ १२, २०८१

नेपाल समय

नेपाल समय

शनिबार, जेठ १२, २०८१

बागलुङ- जिल्लाको जैमिनी नगरपालिकाले चालु आर्थिक वर्षदेखि किसानलाई केराका बिरुवामा अनुदान उपलब्ध गराउन थालेपछि यसतर्फ उनीहरुको आकर्षण बढेको छ। 

National life

नगरपालिकाले केराखेत गर्ने किसानका लागि प्रतिबिरुवा २० रूपैयाँ अनुदान उपलब्ध गराउन थालेपछि स्थानीयले धान फल्ने खेतमा केराखेती गर्न थालेका हुन्।

बागलुङ तथा कुश्मा बजारमा कुश्मीशेराका केराको माग बढी हुनाका साथै उत्पादन पनि बढी हुने भएकाले किसानलाई यसतर्फ आकर्षित गर्न अनुदान उपलब्ध गराइएको जैमिनी-१ कुश्मीशेराका वडाध्यक्ष विष्णु आचार्यले बताए। यहाँका एक सय किसानलाई अन्य कृषि पेसासहित केराखेतीमा पनि जोडिएको उनले जानकारी दिए।

जैमिनी-१ कुश्मी गाउँका ७२ वर्षीय देवनारायण शर्मालाई हिजोआज केराका बिरुवा खेतमा पुर्‍याउने चटारो छ। घर पारिको खेतमा केराका बिरुवा लगाउन दैनिक चारजना खेताला परिचालन गरेको उनले बताए।

शर्माका अनुसार आठ रोपनी जमिनमा यतिबेला सयौँ केराका बोट छन्। उनले २५ रोपनी जमिन रहेको भन्दै बाँकी खेतमा पनि केरा लगाउने योजना बनाएको बताए। यस वर्ष मात्रै दुई हजार तीन सय ५० केराका बिरुवा लगाएको शर्माले जानकारी दिए। उनका अनुसार अघिल्ला वर्षहरु लगाइएका बोटले वर्षेनि आम्दानी दिइरहेका छन्। 

Laxmi sunrise bank
kumari

'केही वर्ष अघिसम्म कयौँ दिन लगाएर रोपाइँ गरिने खेत जनशक्तिको अभावमा बाँझै हुन थालेको थियो। अहिले केराका बगैँचा बनेका छन्', उनले भने, 'छोराछोरी घरमा छैनन्, खेताला लगाउँदा घाटा नहुने भएकाले केराखेती गर्न लागेको हुँ।' खेत र पाखाभरि केराको बगान बनाउने योजना रहेको उनको भनाइ छ। 

शर्मा मात्रै होइन, यहाँका अधिकांश किसानले धान फल्ने खेतमा केरा लगाउन थालेका छन्। कुश्मीगाउँका धर्मराज शर्मा, वडारका खेम पौडेल, टारका पूर्णप्रसाद शर्मालगायतले धान रोपाइँ नगरेर केराखेती थालेका हुन्।

'धान रोप्दा उत्पादनले खेताला नथेग्ने अवस्था भयो। बीउ, मल उस्तै महँगो', पूर्णप्रसाद शर्माले भने, 'वर्षमा एक महिना जति हेरचाह गरे वर्षभरि उत्पादन दिन्छ। खेती गर्न सहज र आम्दानी पनि मनग्ये हुन्छ।' उनका अनुसार केराखेती विस्तारका लागि वडा कार्यालयले प्रोत्साहित पनि गरिरहेको छ। प्राविधिक समस्या भए वडाले सहजीकरण गर्ने उनको भनाइ छ।

केराखेतीबाट यहाँका अधिकांश किसानले वर्षमा ५० हजार रूपैयाँदेखि चार लाख रूपैयाँसम्म आम्दानी गरिरहेका कृषि प्राविधिक रवीन्द्र शर्माले बताए। उनका अनुसार समुन्द्री सतहबाट छ सय मिटर उचाइमा रहेकाले जैमिनीघाट र कुश्मीसेरा केराखेतीका लागि उपयुक्त स्थान हो।

‘रामरेखा लोकल’, ‘झापाली मालुवा’ र ‘जी-९’ जातका केरा यहाँ सिफारिस गरिएको शर्माले जानकारी दिए। स्थानीय जातका केरा छिटो नबिग्रने भएको सिफारिस गरिएको उनको भनाइ छ।

जिल्लास्थित कृषि ज्ञान केन्द्रले पनि यस क्षेत्रलाई केराको ‘पकेट जोन’ मानेको छ। वडा कालीगण्डकी करिडोर र बागलुङ कुश्मीसेरा खण्डमा जोडिएपछि बजारीकरणमा सहज भएको जैमिनी-१ का वडाध्यक्ष आचार्यले बताए।

यहाँको केरा बजारमा प्रतिदर्जन एक सय २० देखि एक सय ५० रूपैयाँ सम्ममा बिक्री हुने गरेको स्थानीय बताउँछन्।

नगरपालिकाले केरा पकेट विस्तार कार्यक्रमअन्तर्गत कृषि निर्देशनालयको सहकार्यमा ‘नाफा परियोजना’ सञ्चालन गरेको कृषि प्राविधिक शर्माले जानकारी दिए । 'एक करोड बजेटमा हामीले प्रवर्द्धनात्मक कार्यक्रम गर्दैछौँ', उनले भने, 'सिँचाइका लागि पाइप खरिद गरेर किसानलाई दिने काम भइरहेको छ।'

कृषि प्राविधिक शर्माका अनुदान र प्रवर्द्धनात्मक कार्यक्रम आएपछि बाँझो जमिनमा किसानले केराखेती बढाइरहेका छन्। आगामी वर्षमा नगरपालिका तथा वडा कार्यालयसँगको सहकार्यमा किसानलाई प्रोत्साहन हुने कार्याक्रम ल्याइने उनको भनाइ छ।    -रासस

प्रकाशित: May 25, 2024| 16:31 शनिबार, जेठ १२, २०८१
प्रतिक्रिया दिनुहोस्