बिहीबार, पुस १०, २०८२

तीन महिनामा मरे तीन पाटेबाघ

 |  शुक्रबार, जेठ ११, २०८१

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ ११, २०८१

चितवन- चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रसँग नजिक रहेका नवलपरासी (बर्दघाट–सुस्तापूर्व) का राष्ट्रिय तथा सामुदायिक वनमा दुलर्भ पाटेबाघको गतिविधि बढेसँगै मृत्यु हुनेक्रम बढेको छ।

National life

जिल्लामा गएको फागुनदेखि यही जेठ ९ गतेसम्म तीन पाटेबाघ मृत फेला परेका छन्। निकुञ्ज र मध्यवर्ती सामुदायिक वनभन्दा बाहिर रहेका जनावरको निकुञ्जले संरक्षणमा ध्यान नदिने र डिभिजन वन कार्यालयले आफ्नो इलाकामा रहेका वन्यजन्तुको गणना नगर्ने गरेका कारण यो क्षेत्र अहिले पाटेबाघका लागि असुरक्षित बन्दै गएको छ। यसअघि दुई भाले पाटेबाघ मृत फेला परेका थिए भने अहिले फेरि पोथी पाटेबाघ मृत फेला परेको हो। 

विनयी त्रिवेणी गाउँपालिका–२ दुम्किबासको विनयी खोला बगरमा पाटेबाघ देखेपछि स्थानीयले शव डिजिभन वन कार्यालय दुम्किबासलाई खबर गरेको थियो। खोला किनारमा चार र पाँच दिनदेखि स्थानीयले पाटेबाघ देखे पनि मानवीय क्षति हुने ढङ्गले आक्रमण नगरेपछि कसैले चासो दिएका थिएनन्। पछिल्लो समय बाघको गतिविधि शङ्कास्पद लागेपछि स्थानीयले वन कार्यालयलाई खबर गरेको जनाएका छन्।

प्रहरीसहित घटनास्थलमा पुगेको डिभिजन वन कार्यालयका कर्मचारीले मृत बाघ फेला पारेको सब डिभिजन वन कार्यालय दुम्किबासका वन अधिकृत कुलचन्द्र दवाडीले बताए। अर्को बाघको आक्रमणबाट घाइते भएर जंगल बाहिर निस्केको उक्त बाघलाई बेलैमा उद्धार गरेर उपचार गरेको भए बचाउन सकिने सम्भावना रहेको उल्लेख गर्दै दवाडीले उद्धारमा ढिलाइ भएको बताए। यसअघि यस क्षेत्रमा बँदेललाई थाप्न राखेको पासोमा परेर एउटा भाले पाटेबाघ मरेपछि गाडेर राखेको अवस्थामा भेटिँदा पनि यस क्षेत्रमा बाघको संरक्षण र उद्धारमा ध्यान दिइएको छैन।

पछिल्लो पटक बुधबार साँझ फेला परेको करिब १० वर्षको पोथी पाटेबाघ सिकारीको आक्रमणबाट नभई भाले बाघ वा अन्य कुनै जङ्गली जनावरको आक्रमणबाट घाइते भई बिरामी परेर मरेको चितवन राष्ट्रिय निकुञ्जका पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिए। बुधबार मृत भेटिएको पाटेबाघलाई शव परीक्षणपछि बिहीबार डिभिजन वन कार्यालय कावासोतीको क्षेत्रभित्र खाडल खनी पुरिएको छ। निकुञ्ज र मध्यवर्ती क्षेत्रभित्र बाघका लागि पर्याप्त आहार भए पनि नयाँ बयस्क बाघ र बुढा भएका बाघ बस्ती नजिकका जङ्गलमा नयाँ बासस्थान खोजेर आउने गर्दछन्।

Laxmi sunrise bank
kumari

नवलपुरका राष्ट्रिय तथा सामुदायिक वनमा १० देखि १२ पाटेबाघ रहेको अनुमान गरिएको छ। नवलपुरमा अहिलेसम्म मृत भेटिएका तीन पाटेबाघमध्ये एउटालाई खाडल खनेर गाडिएको अवस्थामा फेला पारेकाले नवलपुरका वन क्षेत्रमा तस्करको निशानामा बाघ रहेको प्रष्ट हुन्छ। मृत भेटिएका तीनमध्ये अन्य दुईको मृत्यु शङ्कास्पद रहेको पशु चिकित्सक डा श्रेष्ठले बताए।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले अघिल्ला दुई पाटेबाघ मरेको घटनामा अझै अनुसन्धान जारी रहेको बताउनुभयो। उनले बँदेल मार्न थापेको पासोमा परेर बाघ मरेको भन्ने खुले पनि कसले मारेको भन्ने अझै एकिन भएको छैन।

प्रकाशित: May 24, 2024| 18:31 शुक्रबार, जेठ ११, २०८१
प्रतिक्रिया दिनुहोस्